नदीपुर थिएटर
अपराध र राजनीतिको जालोले समाजलाई कसरी अमानवीकरणतिर लग्दै छ भन्ने नियति नाटकमा प्रतिविम्बित हुन्छ ।
साढे तीन दशकमा अनुप बरालले काठमाडौँका सबैजसो थिएटरमा नाटक देखाइसकेका छन् । तर उनलाई लामो समयसम्म मण्डला थिएटरमा त्यो संयोग जुरेन । गाइँगुइँ चल्न थाल्यो, ‘मण्डला टिम र अनुपबीच सुमधुर सम्बन्ध छैन । त्यसैले मण्डलामा नाटक गर्दैनन् ।’
अन्ततः यो अफवाह चिरेका छन्, प्रतिष्ठित रंगकर्मी अनुप र मण्डलाले । मण्डलामा आफू निर्देशित महाभोज मञ्चन भइरहँदा अनुपले सुनाए, “मण्डला र मेरोबीच रिसराग छैन भनेर प्रमाणित गर्न पनि नाटक गर्नैपर्ने थियो । दुई–तीन वर्षको तयारीपछि बल्ल मञ्चन गर्न सकियो ।”
दर्जनौँ नाटक बनाइसकेका अनुपका लागि अलग र विशेष छ, महाभोज । भन्छन्, “यो हाम्रै समाजको पूरापूर प्रतिविम्ब हो तर केही फरक शैलीमा पस्कन खोजेका छौँ । नाटकसँग दर्शकको भावनात्मक सम्बन्ध गाँसिएर हामीले प्रवाह गर्न खोजेको सन्देश नछुटोस् ।”
मन्नु भण्डारीको उपन्यासमा आधारित नाटकमा सन् सत्तरी दशकको भारत र अहिलेको नेपालको अवस्था करिब उस्तै छ । प्रदेशको बाँडफाँट, सत्ताद्वारा मिडियाको उपयोग, बलात्कार र हत्या, मान्छेका निराशा, छटपटी, आक्रोश आदि–इत्यादि । अपराध र राजनीतिको जालोले समाजलाई कसरी अमानवीकरणतिर लग्दै छ भन्ने नियति नाटकमा प्रतिविम्बित हुन्छ ।
मन्नुको लेखनीलाई हुबहु अनुवाद नगरी वरपरकै सान्दर्भिक घटना समेटिएको छ । कलात्मक मूल्यका लागि आजको कथालाई पुरानो समयको अनुभूत हुने गरी डिजाइन गरिएको छ । अनुप भन्छन्, “उपन्यासमा लेखिएका शब्द जीवित बनाएर मञ्चमा उतार्ने प्रयास हो हाम्रो ।”
विषयवस्तु मात्र होइन, नाटकमा अभिनय गर्ने कलाकारले पनि महाभोजको भाउ बढाएका छन् । २८ जनाको जम्बो टोलीमा रमेश बुढाथोकीजस्ता दिग्गजदेखि दयाहाङ राई, राजन खतिवडा, सिर्जना सुब्बा, सोमनाथ खनाल हुँदै नयाँ पुस्ताका प्रभावशाली कलाकार मिलन कार्की, प्रमिला खनालसम्म अटाएका छन् । अर्थात्, तीन पुस्ता एकैसाथ ।
निर्देशनसँगै अभिनय र प्रशिक्षकमा प्रभावशाली पहिचान बनाएका अनुपको यात्रा सुरुआत भयो, पोखराबाट । स्कुले उमेरमै सामाजिक नाटक खेल्थे उनी । त्यही क्रममा सरुभक्तसँग भेट भयो । सरुभक्तसँग सान्निध्यले नाट्यकारिताप्रतिको प्रेम घनीभूत त भयो नै, अझ सिक्नुपर्ने हुटहुटी बढायो । त्यसैले त भारतको प्रतिष्ठित नेसनल स्कुल अफ ड्रामा (एनएसडी) पुगे । ०५४ मा पढाइ सकेर नेपाल आए । अनुप विगत दिनतिर फर्किए, “नेपाल त आइयो तर यहाँ खास अवसर थिएनन् । रंगमञ्च शैशवावस्थामै थियो ।”
तुलनात्मक रुपमा काठमाडौँमा ज्यादा अवसर भए पनि अनुप गृहनगर पोखरा नै फर्किएर सुचारु गरे, प्रतिविम्ब थिएटर ल्याब्रोटरी । उद्देश्य एउटै, नयाँ पुस्तासँग ज्ञान आदानप्रदान गरेर रंगमञ्च समृद्ध बनाउने । दुई ब्याच मज्जाले चल्यो । तर पढ्ने सबै काठमाडौँ जान थालेपछि पोखरामा नाटक गर्न कलाकारकै अभाव भयो । उनी सम्झन्छन्, “त्यसपछि मसँग पनि काठमाडौँ आउनुको विकल्प भएन । तर यहाँ आएर पनि के गर्ने, टुंगो थिएन । बाँच्नै धौ–धौ हुन थाल्यो ।”
राष्ट्रिय नाचघरमा एक–दुई कक्षा लिन पाए तर न गोजी भरिन्थ्यो, न त मन । त्यसैले यहाँ पनि अड्न सकेनन्, सपनाको सहर मुम्बई पुगे । जय हनुमानलगायतका टिभी सिरियलमा ‘एक्स्ट्राज’ बने, अडिसन दिन गल्लीगल्ली चहारे । बल्लतल्ल शाहरुख खानको अशोकामा राम्रै रोल मिल्ने भयो । तर त्यही बेला आमा बिरामी भएर नेपाल आउनुपर्यो । फर्कंदा अरु कलाकार छानिसकेछन् । अनुप भन्छन्, “त्यसपछि मुम्बईमा पनि बस्न मन लागेन । यहाँ आएर एक्टर्स स्टुडियो खोलेँ ।”
त्यो सन् २००६ को कुरा हो । त्यसयता २४ औँ ब्याच निस्किसक्यो । कलाकार उत्पादनमा एक्टर्स स्टुडियो खानी नै मानिन्छ । दयाहाङ राई, दिया मास्के, विमल सुवेदी, खगेन्द्र लामिछाने, उषा रजकलगायत अनुपकै चेला हुन् । एक्टर्स स्टुडियो फस्टाएसँगै अनुपले निर्देशनलाई तीव्रता दिए । उनका जात सोध्नु जोगीको, खुमा, काफ्काः एक अध्याय, मलामी, ओ स्टार दुनियाँलगायतका नाटक रंगमञ्चकै सर्वकालीन उत्कृष्ट मानिन्छन् । राजेश हमालले अभिनय गरेको कोर्ट मार्सलले १६ लाख आम्दानी गरेर मानक नै खडा गर्यो ।
अनुप बराल निर्देशित नाटक महाभोजको एक दृष्य, तस्बिर: बिजय ताम्राकार
अनुप अभिनयमा पनि उत्तिकै खारिएका छन् । एनएसडीबाट फर्किएपछि अशंबन्डा फिल्म खेले । तर उनको सोच र त्यो फिल्ममा काम गर्ने शैली मेल खाएन । १० वर्षे विश्रामपछि दासढुंगामा अभिनय गरे । एक दिन एक रात, पल, बधशाला, तान्डव, डमरुको डन्डिबियोलगायत फिल्ममा अभिनय कौशल पस्किएका छन् ।
फिल्मी अभिनयबाट अनुप सन्तुष्ट हुनै सकेनन् । फिल्मको विषय र प्रस्तुतीकरण मात्र होइन, अभिनयशैली पनि चित्त बुझ्दैनथ्यो । सोही कारण निर्देशनमा होमिए । भन्छन्, “अभिनेताको रुपमा काम गर्न नपाएको असन्तुष्टि पूरा गर्न निर्देशनमा लागेको हुँ ताकि नयाँ पुस्ताले मैलेजस्तै भोग्नु नपरोस् ।” फिट्किरीबाट डेब्यु गरेका उनको दोस्रो फिल्म दोख प्रदर्शनका लागि तयार छ । दुई विदेशी फेस्टिभलमा पठाएका छन्, त्यसको परिणामको प्रतीक्षा छ । माओवादी द्वन्द्वकालको पृष्ठभूमिमा दुई गाउँबीचको दुस्मनी र उनीहरुबीचको फुटबल खेल फिल्मको केन्द्रमा छ । भन्छन्, “बजारको आँखाबाट हेर्दा व्यापारिक मसला र सूत्रबद्धता छैन । यथार्थवादी र कलात्मक बनाउने प्रयास गरेको छु ।”
फेरि पोखरा फर्किएका छन्, अनुप । काठमाडौँ काम पर्दा मात्र आउँछन् । त्यहाँ आफ्नो ‘ड्रिम प्रोजेक्ट’ सुरु गर्दै छन्, नदीपुरस्थित आफ्नै थातथलोमा थिएटर ।
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...