कुलीनतन्त्र बदल्ने युवा चुनौती

- अच्युत वाग्ले

मुलुकको पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले कसरी र कति लामो समयसम्म आफूलाई असान्दर्भिक हुनबाट बचाउन सक्ला ? यसको आफ्नै सांगठनिक जीवन कुन हदसम्म समय सुहाउँदो ढंगले रूपान्तरित हुन सक्ला ? यस्तो सान्दर्भिकता एवं संगठनको निरन्तर प्रभावकारिता (अहिले प्रमुख प्रतिपक्ष र भावी सरकारका रूपमा) कायम राख्न यसभित्रको तथाकथित नयाँ वा युवा पुस्ताको नेतृत्व कति हस्तक्षेपकारी भूमिकामा उदाउन सक्ला ? अहिले कांग्रेस आफ्नै र यसको भूमिकाको कसीमा नेपालकै लोकतान्त्रिक भविष्य यिनै प्रश्नको सेरोफेरोमा रुमल्लिइरहेको छ ।

दलहरूको सान्दर्भिकता र प्रभावकारिता तिनको जन्मनिरपेक्ष हुन सक्दैन । राजनीतिक दलहरूको सार्थक एवं अविच्छिन्न अस्तित्वका तीन सिद्धान्त राजनीति विज्ञानमा संश्लेषित छन् । पहिलो, सिद्धान्तले दलहरूका संगठनको आकार ग्रहणलाई ऐतिहासिक घटना र दुर्घटनाको समुच्च परिणति भनेको छ । राज्यशक्तिको प्रयोगको अधिकार परम्परागत राजगद्दी, चर्च, पादरी वा पुरोहित र युद्ध–सरदारको प्रभुत्वबाट आम नागरिकका प्रतिनिधिसम्म ल्याउने एजेन्टका रूपमा नागरिक सहभागितायुक्त राजनीतिक दल जन्मेका हुन् । यसर्थ, आधुनिक स्वरूपका दलहरूको जन्म र विकास चुनावी, लोकतान्त्रिक राजनीतिको समानान्तरमा भएको तर्क सबभन्दा बलशाली छ ।

दोस्रो, संसदीय प्रतिनिधित्वको राजनीतिभन्दा बाहिर, विशेष स्वार्थ–समूहको अधिकार स्थापित गर्ने प्रक्रियामा दबाब समूह निर्माण भए । र, यस्ता समूह कालान्तरमा राजनीतिक दलमा रूपान्तरित भए । तेस्रो, दलहरूलाई ‘क्रान्तिका सन्तति’ (चिल्ड्रेन अफ रिभोलुसन) भनेको छ । मुलुकको आर्थिक, सामाजिक रूपान्तरणको आवश्यकताले आमूल परिवर्तन वा क्रान्तिका लागि एक ध्येय भएका समूह राजनीतिक संगठनका रूपमा विकसित हुन्छन् । र, तिनीहरू नै व्यवस्थित दलका रूपमा राज्य सञ्चालनको हैसियतमा आइपुग्छन् ।

बीसौँ शताब्दीको सुरुमा जर्मन दार्शनिक म्याक्स वेबरले दलहरूलाई दुई कोटिमा विभाजित गरे : अभिजात्य (अनोरोरियम्स) को पार्टी र आम मानिसको (मास) पार्टी । पार्टीहरूले सामाजिक तनावका पक्ष वा विपक्षको प्रतिनिधित्व गर्न थालेपछि सत्तरीको दशकयता ‘मास’ र ‘क्लास’ पार्टीको सीमा प्रस्ट हुँदै गयो । बृहत् राजनीतिक भाष्यले त्यस्तो विभाजन रेखालाई थप चहकिलो बनायो । लोकतान्त्रिक क्यानभासमै वामपन्थी, समाजवादी, मध्यमार्गी र दक्षिणपन्थीको कित्ताकाट अद्यापि अभ्यासमा छ । तथापि सर्वहारा वर्गको अधिनायकवादको वकालत गर्ने एकदलीय शासन सञ्चालन गरेका राजनीतिक शक्ति, मूलतः सोभियत संघको बोल्सेभिक र चीनको कम्युनिस्ट पार्टीलाई क्रान्तिका सन्ततिसम्म त भन्न सकियो । सत्तामा पुगेपछि तिनको राजनीतिक चरित्रको मृत्यु भएर अन्ध सैनिकीकरणको शैलीमा राज्य शक्तिको प्रयोग भयो । नागरिकका लागि राजनीतिको ‘स्पेस’ बाँकी रहेन । त्यसैले तिनलाई वैचारिक बहुलताका दृष्टिले राजनीतिक दलको दर्जामा राख्न सकिएन ।

नवोदित ‘क्लास’ पार्टीहरूले आर्थिक वर्ग विभाजनका अतिरिक्त सामाजिक र जातीय वर्ग–स्वार्थको प्रतिनिधित्व गर्ने प्रयत्न गरे । गरिरहेका छन् । ‘ग्रयान्ड न्यारेटिभ’ को औचित्य कतै समाप्तै भएको हो कि जस्तो देखिएको अहिलेको वैचारिक दर्शनशून्यतामा पनि यी वर्गीय स्वार्थका शक्तिको पहिचान क्षेत्रीय, जातीय र विषयगत स्वार्थ वकालतकर्ता राजनीतिक अभियन्ताका रूपमा स्थापित र कायम छ । भारतजस्ता लोकतान्त्रिक मुलुकमा क्षेत्रीय दलहरूको उभार खासगरी विगत तीन दशकमा उल्लेख्य रूपमा भएको देखिन्छ ।

बीसौँ शताब्दीको सुरुमै वेबरका चेला एवं चिन्तक रबर्ट मिचेलले राजनीतिलाई समाजशास्त्रीय दृष्टिबाट प्रस्तुत गरे । उनको पोलिटिकल पार्टीज (सन् १९११) पुस्तकले लोकतान्क्रिक दलहरू क्रमश : राजनीतिक कुलीनतन्त्र (अलिगार्की) मा परिणत हुने दृष्टान्त दिएको छ । र, त्यसबाट समग्र लोकतन्त्रमा पर्ने प्रभावबारे विस्तृत व्याख्या गरेको छ । एक शताब्दीपछि पनि त्यो पुस्तकका निष्कर्षको जीवन्त सान्दर्भिकता वास्तवमै आश्चर्यलाग्दो छ । दलहरूको कुलीनीकरण पारिवारिक नियन्त्रणको परिभाषामा माक्रै सीमित छैन, राज्य शत्तिको प्रयोग समाजका पढेलेखेका र टाठाबाठाको मिलेमतोमा उनीहरूकै हितका लागि मात्र प्रयोग गर्ने वास्तविकतालाई मिचेलको ‘ अलिगार्की’ परिभाषाले समेट्छ ।

उनी भन्छन्, ‘अलिगार्कीको परिणामस्वरूप सबै आधुनिक लोकप्रिय पार्टीभित्र विशुद्ध भ्रातृत्वको भावनाको प्रकट रूपमै अभाव छ, इमानदार र सौहार्द पारस्परिक विश्वास हामी देख्दैनौँ, त्यहाँभित्र निरन्तर सुषुप्त संघर्ष छ, नेताहरूबीचको अविश्वासको विनिमयले चिडचिडाहटपूर्ण भावनाको मात्रा निर्धारण गर्छ । र, यही चिडचिडाहटको भावना दैनन्दिन लोकतन्त्रको सारभूत चरित्र भएको छ ।’

नेताहरूको अविश्वास तिनमाथि सर्वाधिक निर्देशित छ, जो आफ्नो संगठनलाई ‘कमान्ड’ गर्ने अभिलाषा राख्छन् । हरेक कुलीन नेता ती मानिसप्रति पूर्ण रूपले सशंकित छन्, जो तिनको ओहोदा वा पदमा आउन उद्यत छन् । यस्तो अविश्वास प्रकारान्तरमा उत्तराधिकारी हुने वा स्थापित नेताहरूको प्राकृतिक मृत्यु (राजनीतिक अर्थमा समेत) लाई नपर्खीकन तिनलाई बाहिर हुत्याएर (सप्लान्ट) पद लिन तयार बसेको छ । जो लामो समयदेखि हकाधिकार जमाएर (यो भौतिक वस्तुमा मात्रै होइन, आध्यात्मिक र शारीरिक आधिपत्यको अर्थमा पनि उत्तिकै लागू हुन्छ) बसेका छन्, उनीहरू आफ्नो विगतप्रति गौरवान्वित रहन्छन् । त्यही कारण जसको संगठनको स्वामित्व दाबी तुलनात्मक रूपले पछिल्लो मितिमा आरम्भ भएको हो, उनीहरूमाथि हेय दृष्टि राख्छन् (पोलिटिकल पार्टीज, पृ १०५–१०६, सन् १९११) ।

यी सैद्धान्तिक सन्दर्भ कांग्रेसका हकमा कहाँ र कति लागू होलान् ? त्यसको थप प्रस्टीकरण सायद आवश्यक छैन । तर पनि तीन प्रस्ट परिणामलाई यहाँ एकीकृत गर्नु उचित हुनेछ । पहिलो, कांग्रेस मूलतः क्रान्तिको सन्तति नै हो । ००७ सालमा प्रजातन्त्र स्थापना र ०४६ सालको प्रजातन्त्र स्थापनाको जस यो पार्टीले आर्जन गर्न नसकेको भए यसको हैसियत धेरै पहिले नै थला परेको बूढो सिंहको जस्तो भइसक्थ्यो । समयक्रमसँगै आफूलाई व्यवस्थित  गर्न नसक्ने धेरै ‘क्रान्तिका सन्तान’ शक्तिहरूको नियति यस्तै भएको छ । भारतीय राष्ट्रिय कंग्रेस, पाकिस्तानको पिपल्स पार्टी, बाङ्लादेश नेसनालिस्ट पार्टीलगायत संसारका धेरै राजनीतिक पार्टीलाई इतिहासको गौरवले मात्र बचाउन सकेको छैन । कांग्रेस मात्रै अपवाद हुनुपर्ने सादृश्य कारण उपस्थित छैन ।

दोस्रो, कांग्रेसले आफूलाई अभिजात्य वा ‘मास’ अथवा ‘मास’ वा ‘क्लास’ कुन प्रकृतिको पार्टीको पहिचानमा उभ्याउन चाहेको हो, अझै यकिन छैन । समाजवाद वा अलि देब्रेतिर झुकेका दस्तावेजको चाङ र उदारवादउन्मुख मध्यमार्गी कार्यनीतिको दोहोरोपन उसको सैद्धान्तिक अन्योलको सनातन कारक रहिरहेको छ । वामपन्थी दलहरू चुनाव लड्न आएपछि तिनले ‘क्लास’ पार्टीको ठाउँ लिए र त्यसमा आफू पछाडि परियो भन्ने चिन्ता कांग्रेसको नयाँ सदस्यता अभियानको लोभमा अभिव्यक्त भएको छ ।

तेस्रो, जडवत् ‘अलिगार्की’ बाट रूपान्तरण कांग्रेसको अहिलेको मूलभूत समस्या हो । सो दलका महाधिवेशन प्रतिनिधिसम्मलाई एकै ठाउँ राखेर हेर्दा यो करिब तीन हजारजति निश्चिन्त सुविधाभोगीको एउटा अभेद्य क्लबजस्तै भएको छ । रोबर्ट मिचेलले भनेझैँ यसमा स्थापित सम्भावित नयाँ नेतृत्वप्रति आशंका र हेयभाव राख्छन् । यी ‘अलिगार्क’ हरूलाई अहिलेसम्म गरेको सत्ताको दोहनबाट गाडी, घर, अभिजात्य सामाजिक वृत्तको सहकार्य वा सुखसयल जे–जे प्राप्त भएको छ, त्यो कसैगरी पनि गुमाउनु भएको छैन । यो क्लबभित्रै जे खिचातानी वा तिकडम गरेर पदमा पुग्न वा रहिरहन सकिन्छ र सकेसम्म गाडीबाट नओर्ली जति लामो राजनीति गर्न सकिन्छ, त्यति नै मात्र गरेर समय बिताउने सोच अपरिवर्तनीय ढंगले उनीहरूको मनमस्तिष्कमा जमठ भएको छ ।

कांग्रेसको युगसापेक्ष रूपान्तरण कति नजिक छ ? यसका लागि तथाकथित युवा वा नयाँ पुस्ता कांग्रेसको नेतृत्वमा पुग्न सक्छ वा सक्दैन ? नेतृत्वको प्राकृतिक मृत्यु नपर्खीकनै, ‘अलिगार्की’ को किल्ला भत्काउन यो पुस्ता कति तयार हुन्छ, त्यसमै धेरै पेचिला प्रश्नको उत्तर निर्भर छ । राजनीतिमा युवा वा नयाँ पुस्ताको परिभाषा सधैँ उमेरका आधारमा मात्र गरिनु एकांगी दृष्टिकोण हुन जान्छ । यस्तो पुस्ताको परिभाषा मुलुकका आकांक्षाको प्रतिनिधित्वको आधारमा हुनु समग्र दृष्टि (होलिस्टिक भ्यु) हो । जुन राजनीतिकर्मी र दृष्टिले मुलुकका वर्तमान पुस्ताका आवश्यकता, आकांक्षा र मनोभावको वास्तविक प्रतिनिधित्व गर्छ र भविष्यको पुस्ताका लागि आशावादिता सिँचाइ गर्छ, त्यो नै राजनीतिक दलको जीवनमा नयाँ वा युवा नेतृत्वको पदार्पण हो । यो पंक्तिले दलभित्र नेतृत्वको जिम्मेवारी वैधानिक तवरमै पाउनु अर्को चुनौती हो । यो उसको ‘अलिगार्की’ लाई भेदन गर्ने क्षमतामा सम्पूर्णतः निर्भर छ ।

यतिखेर कांग्रेसको अर्को (युवा ?) पुस्ताको नेतृत्वको चर्चा गर्दा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे आदिको नाम अक्सर आउँछ । उनीहरूले कांग्रेसको नेतृत्व पाउन र त्यसबाट पार्टीलाई युगको आवश्यकताअनुसार रूपान्तरण गर्न केही मौलिक आयाममा प्रस्टता ल्याउनु अपरिहार्य छ । एक, उनीहरूले आफूलाई विद्यमान ‘अलिगार्की’ कै अंश हो वा होइन, प्रस्ट पार्न सक्नुपर्छ । यसका लागि अहिलेको सांगठनिक र वैचारिक प्रपञ्चमा प्रतिक्रियात्मक, लाभ भागबन्डाको अंशियार र नयाँ मार्ग प्रस्टताको अभावमा मात्र रुमल्लिएर पुग्दैन । राज्य, समाज र राजनीतिमा देखिएको वैचारिक र शासकीय खालीपन भर्ने सपुष्ट विचार र मार्ग दिन सक्नुपर्छ । दोस्रो, यी विचार र मार्गचित्रको स्वार्थरहित स्वामित्वका लागि प्रश्नातीत इमानदारी प्रदर्शन आवश्यक छ । तेस्रो, र सबभन्दा महत्त्वपूर्ण, युवा भनिने पुस्ताले पनि जुन उचाइको अहंकार र अध्ययन शून्यतालाई स्थापित नेतृत्वबाट सग्लै ग्रहण गरेको छ, त्यसलाई आम जनतामा दशकौँ घुलमिल हुन पर्याप्त हुने गरी विनम्रताको लयले विस्थापित गर्नुपर्छ । अन्यथा, कांग्रेसको नियति पनि समयसँगै अद्यावधिक हुन नसकेका संसारका अधिकांश ‘क्रान्तिका सन्तति’ कै जस्तो गौरवशाली इतिहास र अन्धकार भविष्यको विरोधाभासमा सीमित हुने सम्भावना अत्यधिक छ ।

साथमा यो पनि पढ्नुहोस् : आवरण« सानेपामा टक्कर

प्रकाशित: भाद्र १९, २०७६