थिएटर स्कुल जानुजस्तै
"थिएटर मेरा लागि फेरि स्कुल जानुजस्तै हो । हरेक पटक नयाँ कुरा सिक्न पाइन्छ । नत्र त आफू रित्तिएझैँ छटपटी हुन्छ । आत्मिक सन्तुष्टिका लागि पनि नाटक खेल्छु ।"
भारतको पुनामा पढ्दै ताका आरोहण गुरुकुलको चर्चा सुनेकाले बुबासँग बाघभैरव नाटक हेर्न पुगे, कार्म । नाटक हेर्दै गए, राम्रो-नराम्रो छुट्याउन सकेनन् । यत्तिचाहिँ निश्चिन्त भए, मेरो जिन्दगी यही हो । त्यतिबेला अलमलमा थिए, उनी । आर्मी बन्न चाहन्थे तर सशस्त्र द्वन्द्व चलिरहेकाले अभिभावकबाट स्वीकृति मिलेन । अरु क्षेत्रमा रुचि थिएन । पढाइमा औसत मात्र । के-कसो गर्ने निर्णय लिन सकिरहेका थिएनन् तर बाघभैरवले अगाडि बढ्नुपर्ने गोरेटो देखाइदियो ।
उनका बुबा र गुरुकुलका सुनील पोखरेलबीच चिनजान थियो । त्यसैले गुरुकुलमै बसेर नाटक सिक्ने बन्दोबस्त मिलाइदिन बिन्ती बिसाए । अचम्म के भने, नाटक हेरेको रात गुरुकुलमै बिताए, दुई-चार साथी बनाए, भोलिपल्ट अडिसन भयो, छानिए । भन्छन्, "त्यति छिट्टै गुरुकुलको होस्टलमा बस्नु पाउनु जीवनकै ठूलो उपलब्धि हो भन्ने लाग्छ ।"
गुरुकुलले कार्मलाई अभिनय मात्र सिकाएन, जीवन बाँच्ने र सोच्ने शैली पनि सिकायो । त्यही 'ब्याकअप' का कारण हुनुपर्छ, नेपाली रंगमञ्च मात्र होइन, सिनेमामै कार्म प्रभावशाली अभिनेताका रुपमा स्थापित भएका छन् । सानो संसारदेखि कबड्डी कबड्डी कबड्डीसम्म आइपुग्दा फिल्मको संख्या २५ पुगेको छ । हरेक फिल्ममा भिन्न भूमिकामा देखा पर्न खोज्छन् । अनि हेर्ने जोकोहीले उनको चरित्रलाई अनुभूत गर्न सक्छन् ।
कबड्डी कबड्डी कबड्डीको घामड प्रेमीको भूमिकाले उनलाई थप लोकपि्रय बनाएको छ । भन्छन्, "नाटकमा मेरो कामबाट धेरै हदसम्म सन्तुष्ट छु । तर फिल्ममा जति गर्नुपर्ने हो, सकिरहेको छैन ।" यसको कारणचाहिँ यस्तो रहेछ, स्टेजमा चढेपछि कलाकार पूर्ण स्वतन्त्र हुन्छन्, कहीँ-कतैबाट कसैको रोकतोक हुन्न । तर फिल्म टिमवर्क हो, सेटमा निर्देशकको खटन हुन्छन्, पोस्ट प्रोडक्सनमा सम्पादकको । हलसम्म आइपुग्दा चरित्रको प्रभावकारिता र अभिनयको कौशल खस्कँदै जान्छ ।
फिल्म फ्लप होस् वा हिट, उनलाई कहिल्यै कामको अभाव भएन । भन्छन्, "एउटा एक्टरले पूरै फिल्म राम्रो बनाउन सक्दैन, आफ्नो भूमिकाचाहिँ बलियो बनाउन सक्छ । मेरो प्रयास त्यसमै रहन्छ ।"
गुरुकुलमै थिए, एक दिन पत्रिकामा 'कलाकार चाहियो' बेहोराको विज्ञापन देखे । फिल्म रहेछ, सानो संसार । अडिसन दिन पुगे । अरु त परको कुरा, फिल्मका निर्देशक आलोक नेम्वाङलाई पनि चिन्दैनथे । तर तीन चरणको अडिसनपछि मुख्य भूमिकामा कार्म नै छानिए । गुरुकुलको तीन वर्षे बसाइले कलाप्रति उनको दृष्टिकोण गहिरो र फराकिलो बनाएको थियो । त्यो अपेक्षा नेपाली फिल्मबाट पूरा हुँदैनथ्यो । कथावाचनदेखि अभिनयशैलीसम्म खोटैखोट देख्थे । उनी भन्छन्, "हामीलाई फिल्म कलाको खराब माध्यम हो भन्ने थियो । तर फिल्ममा काम गरेर कायापलट गर्नुपर्छ भन्ने जोश थियो । सानो संसारमा मैले त्यही उत्साहले काम गरेँ ।" काम गर्न थालेपछि बल्ल तफ्वबोध हुन थाल्यो, फिल्म अब्बल हुन टिम नै अब्बल हुनुपर्छ, अभिनेताले मात्रै माखो मार्न सक्दैन । यद्यपि परिवर्तनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरेको उनी बताउँछन् । कार्म तिब्बती शब्द हो, जसको अर्थ हुन्छ- तारा । नामजस्तै उनी सकेसम्म उज्यालो छरिरहन खोज्छन् ।
सानो संसारपछि एक दिन एक रात, फस्ट लभ र मृगतृष्णा खेले । 'डि्रम प्रोजेक्ट' गुडबाई काठमाडौँ अझसम्म रिलिज नहुँदा आफूलाई अभागी ठान्छन् । बाँच्नका लागि अर्को विकल्प थिएन । त्यसैले चरित्र मन नपर्दा-नपर्दै खेल्नुपर्यो । फिल्म फ्लप होस् वा हिट, उनलाई कहिल्यै कामको अभाव भएन । भन्छन्, "एउटा एक्टरले पूरै फिल्म राम्रो बनाउन सक्दैन, आफ्नो भूमिकाचाहिँ बलियो बनाउन सक्छ । मेरो प्रयास त्यसमै रहन्छ ।"
फिल्ममा व्यस्त भए पनि मूलघर अर्थात् रंगमञ्चबाट टाढा भएनन् । यसबीच कोर्टमार्सल, वेटिङ फर गोदो, मेटामोर्फोसिस, गड अफ कार्नेजसहित एक दर्जन नाटक खेले । भन्छन्, "थिएटर मेरा लागि फेरि स्कुल जानुजस्तै हो । हरेक पटक नयाँ कुरा सिक्न पाइन्छ । नत्र त आफू रित्तिएझैँ छटपटी हुन्छ । आत्मिक सन्तुष्टिका लागि पनि नाटक खेल्छु ।"
फिल्म र नाटकबाट फुर्सद मिल्नासाथ पाटनस्थित मःम किङमा भेटिन्छन्, कार्म । यो उनको पारिवारिक व्यापार हो । नजिकै उनीहरुकै होटल हिरण्य छ । त्यहाँका पाहुनालाई एयरपोर्ट लिन र छाड्न जाने मात्र होइन, रेस्टुराँमा अर्डर लिन, सर्भ गर्न र भाडा माझ्न भ्याई-नभ्याई हुन्छ । कतिपय साथीभाइ र होटलका पाहुना भन्ने गर्छन्, 'हिरो भएर पनि यस्तो काम गर्ने ?' उनी मुस्कुराउँछन् र सोध्छन्, 'हिरोले गर्न नहुने भन्ने छ र ?'
रेस्टुराँमा उनी अरुभन्दा वेटरको काम गर्न रुचाउँदा रहेछन् । अभिनेताका रुपमा स्वार्थ लुकेको छ, त्यसमा । नयाँ मान्छेसँग प्रत्यक्ष अन्तरक्रिया गर्दा चरित्र निर्माणमा सघाउ जो पुग्छ । बाइकिङमा उनको उस्तै दिलचस्पी छ, तिहारलगत्तै ५५ दिने बाइक यात्रामा निस्कँदै छन् । काठमाडौँबाट कोलकाता, चेन्नाई, गोवा, अहमदावाद हुँदै जम्मुसम्म फन्को मार्ने तय भएको छ ।
फिल्मी अभिनयमा १२ वर्ष बित्यो तर उनलाई घरिघरि लाग्दो रहेछ, मैले जति गर्न सक्छु र गर्नुपर्ने हो, त्यति गर्नै सकिरहेको छैन । त्यो उत्कट अभिलाषा नेपालमा पूरा हुने सम्भावना न्यून छ । त्यसैले अब नेपाली फिल्मको सीमितताबाट बाहिर निस्कँदै छन् । विदेशी प्रोजेक्टमा अडिसन दिने गृहकार्यमा जुटेका छन् । नेपाली, नेवारी, हिन्दी र अंगे्रजीमा पोख्त छँदै थिए, अहिले फ्रेन्च भाषा सिक्दै छन् । भन्छन्, "अब जहाँ गएर पनि आफ्नो अभिनयको परीक्षा दिन तयार छु । कति सफलता हात लाग्छ, थाहा छैन तर मेरो प्रयास शतप्रतिशत रहनेछ ।"
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...