प्रधानमन्त्रीको राजनीतिक तुलोमा प्रश्नचिह्न
‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ’ भन्ने प्रधानमन्त्री केपी ओलीले अब सरकारको अनुहार हेर्नेछन् र नेकपाको राजनीतिक तुलो फेरि जाँच्नेछन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ र राज्यसञ्चालनमा यसको प्रभाव कस्तो हुनसक्छ भन्ने आम नागरिकले थाहा पाउनुपर्छ । प्रम केपी शर्मा ओलीको स्वास्थ्यअवस्था र जिम्मेवारीले उब्जाएका दुई प्रश्न
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अहिले चर्चाको विषय छ । यो लेख यही विषयमा केन्द्रित छ ।
वृद्ध र शारीरिक स्वास्थ्य कमजोर रहेका व्यक्तिहरूले शासन सम्हालेको अनुभवको धनी नेपाल मात्र होइन । भारतमा अटल विहारी बाजपेयी ८० वर्षको उमेरमा सन् २००४ मा प्रधानमन्त्रीको पदबाट बिदा भएका थिए । जिम्बाब्बेका रबर्ट मुगाबे र मलेसियाका महाथिर मोहम्मदले अति वृद्ध हुँदासम्म कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । नाइजेरियाका मुहमदु बुहारी सार्वजनिक रूपमा नखुलाइएका अनेकन जटिल रोगहरूको सामना गर्दै विगत ५ वर्षदेखि राष्ट्रपतिको पदमा छन् ।
नेपालले विगत केही वर्षहरूमा रोग र वृद्ध अवस्थाबाट ग्रसित व्यक्तिहरू प्रधानमन्त्रीका रूपमा पाएको छ । गिरिजाप्रसाद कोइराला जीवनको अन्तिम घडीसम्म विभिन्न शारीरिक समस्यासँग लड्दै सत्ता र राजनीतिको केन्द्रमा रहे । यो प्रवृत्ति सुशील कोइरालामा पनि सर्यो । स्वास्थ्यको प्रश्नलाई उनीहरूले राजनीतिक जिम्मेवारीको सन्दर्भमा महत्त्वपूर्ण ठानेनन् । अहिले केपी शर्मा ओली जटिल स्वास्थ्य अवस्था र शारीरिक कमजोरीका बाबजुद प्रधानमन्त्रीको जिम्मेवारीमा छन् र यसलाई निरन्तरता दिने संकेत दिइरहेका छन् ।
मिर्गौला रोगबाट ग्रसित हुनेको संख्या नेपालमा ठूलो छ । हजारौँको सङ्ख्यामा मानिसहरू मिर्गौला प्रत्यारोपणपछि सामान्य जीवनयापन गरिरहेका छन् । यस अर्थमा केपी शर्मा ओलीले सामना गरिरहेको स्वास्थ्यको चुनौति अनौठो र अस्वाभाविक भन्न नमिल्ला । यद्दपि, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था मिर्गौला प्रत्यारोपणको सामान्य अवस्थामात्र होइन । देशको सबैभन्दा ठूलो राजनीतिक दलको अध्यक्ष र इतिहासको सबैभन्दा शक्तिशाली सरकारको प्रमुख भइरहँदा उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण भएको छ र यससँग सम्बन्धित जटिल स्वास्थ्य अवस्थाको उनले सामना गर्नु परिरहेको छ ।
यस सन्दर्भमा प्रधानमन्त्रीको स्वास्थ्य र उनको जिम्मेवारीका विषयमा खुला छलफल आवश्यक छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा गम्भीर चुनौति देखिएको एक दशकभन्दा बढी भइसकेको छ । यसबीचमा देशभित्र र विदेशका विभिन्न अस्पतालमा उनको स्वास्थ्य उपचार भएको छ । केही वर्षअघि उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएपछि आकस्मिक रूपमा विशेष विमानद्वारा देशबाहिर लगेर उपचार गर्नुपरेको थियो । उनको पहिलो र दोस्रो मिर्गौला प्रत्यारोपण भइसक्दा यसबीचमा सम्पन्न विभिन्न उपचारका लागि देश र विदेशका प्रतिष्ठित र सुविधासम्पन्न अस्पताल र तिनका विशेषज्ञ स्वास्थ्यकर्मी संलग्न छन् ।
केपी ओली नेपालका ठूला नेताहरूमध्ये एक हुन् । अहिले पनि उनी अत्याधिक मतबाट निर्वाचित प्रधानमन्त्री हुन् । विगतको निर्वाचनमा उनकै राजनीतिक अजेन्डा र कार्यक्रमले जनमत पाएको हो । केपी ओलीको सु-स्वास्थ्यको कामना गर्नेहरूको सङ्ख्या ठूलो छ । त्यसैले, उनको स्वास्थ्य र यसमा लाग्ने खर्च राज्यको प्राथमिकतामा पर्नुलाई स्वाभाविक मान्न सकिन्छ ।
यसो भए तापनि देशको अत्यन्त महत्त्वपूर्ण सार्वजनिक जिम्मेवारी सम्हालेका व्यक्तिको स्वास्थ्यको विषय उपचार खर्चको मात्र कुरा होइन । कमजोर स्वास्थ्यको सामना गरिरहेका देशका कार्यकारी प्रमुखको स्वास्थ्य उपचार र राजनीतिमा उनको भूमिकाका बारेमा प्रशस्त प्रश्नहरू स्वभाविकरूपमा जोडिन्छन् । तिनको चर्चा हुनुपर्छ ।
यसमध्येको पहिलो प्रश्न हो – के देशका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य र यससँग जोडिएका तथ्यहरू पारदर्शी छन् ? केपी शर्मा ओली राज्यको सम्पत्ति र नागरिकको जिउज्यानको सुरक्षा गर्ने जिम्मेवारीमा छन् । उनको स्वास्थ्य अवस्था कस्तो छ र यसको प्रभाव राज्यसञ्चालनमा कस्तो हुनसक्छ भन्ने आम नागरिकले थाहा पाउन आवश्यक छ ।
तर, प्रधानमन्त्री स्वयं र उनको सहयोगी समूह उनको स्वास्थ्यका बारेमा सकेसम्म सूचना लुकाउन र उनको शारीरिक क्षमतालाई अतिरञ्जित ढङ्गले बढाइचढाईं गर्न उद्दत देखिन्छ ।
प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा सकेसम्म विवरण लुकाउने र कतिपय सन्दर्भमा गलत सूचना प्रवाह गर्ने काम उनको सचिवालयले गरेको छ । स्वास्थ्यमा जटिलता आएर अस्पताल भर्ना हुँदा ‘नियमित चेकजाँच’ भनेर सूचना प्रवाह गरिएका उदाहरण छन् । नियमित डायलासिस र यसक्रममा उत्पन्न विभिन्न कठिनाइको सामना गरिरहेका शारीरिक रूपमा कमजोर प्रमलाई बलियो र स्वस्थ देखाउने अभिप्रायले खिचिएका तस्बिर/भिडियोहरू सार्वजनिक भएका छन् ।
प्रधानमन्त्रीको ट्वीट
Our collective wisdom and efforts will help us devise a sound and robust strategy for the SAARC region as we fight the COVID-19 pandemic. #video_conference pic.twitter.com/e2pQaocAJy
— K P Sharma Oli (@kpsharmaoli) March 15, 2020
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको ट्वीट
आज सम्माननीय प्रधानमन्त्रीज्यूसँग संक्षिप्त भेटपछि । pic.twitter.com/WKTSWM5Ubz
— Bishnu Rimal (@BishnuRimal) March 14, 2020
प्रधानमन्त्रीका प्रेस सल्लाहकारको ट्विट
सम्माननीय प्रधानमन्त्रीज्यूसँग आजकाे भेट र छलफल । pic.twitter.com/7K9bBYDqty
— Surya Thapa (@ThapajiSurya) March 14, 2020
प्रधानमन्त्री आफैंले पनि विभिन्न सन्दर्भमा आफ्ना लागि शल्यक्रिया र अंग प्रत्यारोपण ठूलो कुरा नभएको बताउने गरेका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि आराम गर्नुपर्ने आवश्यकतालाई वास्ता नगरी विभिन्न बैठक आयोजना गरेर आफू सरकार प्रमुखको रूपमा कार्यरत रहन चाहेको स्पष्ट संकेत उनले दिएका छन् ।
प्रधानमन्त्रीको यही चाहनालाई सघाउने उनका शुभेच्छुक र समर्थकको एउटा समूहले उनको स्वास्थ्यअवस्थाबारे ‘सकारात्मक’ सूचना प्रवाह गर्ने जिम्मेवारी लिएको छ । जटिल रोगको सामना गरिरहेका अस्वस्थ प्रधानमन्त्रीलाई ‘स्वस्थ मानिसहरूभन्दा बलिया, १६ घण्टा काम गर्नसक्ने, अस्वस्थताका कारण कुनै कमजोरी नभएका बलिया नेता’का रूपमा चित्रण गरिएका टिकाटिप्पणी सामाजिक सञ्जालमा प्रशस्त पढ्न पाइन्छ । कतिपय यस्ता टिप्पणीकारहरूले केपी ओलीलाई दैवी शक्तिले सुसज्जित, असाधारण मानिस भनेर पनि व्याख्या गरेका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई अतिरञ्जित ढङ्गले प्रस्तुत गर्ने प्रवृत्ति जानेर वा नजानेर मूलधारे सञ्चारमाध्यममा पनि देखिने गरेको छ । पत्रपत्रिका वा टेलिभिजनहरूले जटिल स्वास्थ्य अवस्थतामा पनि प्रधानमन्त्री ओली ठमठम हिँडेको, मुस्कुराएको, स्वास्थ्यकर्मीसँग ठट्टा गरेको जस्ता प्रसङ्गको चर्चा गरेर प्रधानमन्त्री ओली सामान्य मानिस नभएको भन्ने चर्चालाई मलजल गरिरहेका छन् ।
प्रधानमन्त्रीका समर्थक र शुभेच्छुकको यही अति प्रचारवाजीका कारण प्रधानमन्त्रीको स्वास्थ्य र उनको शारीरिक क्षमताका बारेमा आम नागरिक जानकार छैनन् । देशका कार्यकारी प्रमुखको स्वास्थ्य अवस्था संवेदनशील विषय हुँदाहुँदै आम नागरिकलाई यसबारेमा सूचनाको ‘राशनिङ्’ गरिएको छ ।
यो सन्दर्भसँग जोडिएको दोस्रो प्रश्न हो - के जटिल स्वास्थ्य अवस्थाको सामना गरिरहेका केपी ओली सरकारको नेतृत्त्व गर्न नेपाल कम्युनिस्ट पार्टीका एकमात्र निर्विकल्प नेता हुन् ?
दुई वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरिसक्दा प्रधानमन्त्री केपी ओलीले नेतृत्त्व गरेको सरकार प्रशस्त शंका र प्रश्नले घेरिएको छ । आम जनताको ठूलो अपेक्षाका बाबजुद सरकारको कार्यसम्पादन औसतभन्दा तल छ । अर्थतन्त्रले गति लिन सकेको छैन । संघीयता कार्यान्वयनका मूल जिम्मेवारीमा प्रगति देखिएका छैनन् । सामर्थ्यको यथेष्ट मूल्यांकनबिना विगतमा गरिएका प्रतिवद्धता पूरा नहुँदा आम मानिसमा सरकारप्रतिको विश्वसनीयता घटेको छ । सुशासनको अवस्था कमजोर छ । सरकारको कार्यशैलीलाई लिएर उनको पार्टीमा असन्तुष्टि र विवाद चुलिएको मात्र नभइ, लगभग विस्फोटको अवस्थामा पुगेको छ ।
प्रधानमन्त्री ओली आफैंले गरेका कतिपय निर्णय र उनका अत्यन्त निकट सहयोगीहरूको भूमिका विवादास्पद देखिएका छन् । आफ्ना सहयोगी मुछिएका भ्रष्टाचार र अनियमितताका काण्डहरूमा ओलीले उनीहरूको खुला बचाउ गरेका छन् । यसबाट ओलीको सुशासन र पारदर्शिताप्रतिको प्रतिबद्धतामा प्रशस्त शंका उत्पन्न भएको छ ।
हालसालै दोस्रो मिर्गौला प्रत्यारोपण गर्न अस्पताल जानुअघि प्रधानमन्त्री ओलीले ठूलो भ्रष्टाचार काण्डमा सप्रमाण मुछिएका आफ्ना सहयोगी गोकुल बाँस्कोटाको बचाउ गर्दै उनले गल्ती नगरेको दाबी गरेबाट पनि प्रस्ट हुन्छ - ओली सुशासन र पारदर्शीताप्रति संवेदनशील छैनन् ।
यो पनि पढ्नुस
‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ’ भन्ने प्रधानमन्त्री केपी ओलीले अब सरकारको अनुहार हेर्नेछन् र नेकपाको राजनीतिक तुलो फेरि जाँच्नेछन् ।
यस सन्दर्भमा स्वभाविक प्रश्न उठ्छ -सरकारको प्रगति सन्तोषजनक नभएको र प्रधानमन्त्री ओली आफैं विभिन्न विवादमा मुछिएको परस्थितिमा उनलाई निर्विकल्प ठान्नुको औचित्य के हो ? प्रधानमन्त्री केपी ओलीमा यस्तो के असाधारण क्षमता देखिएको छ जसले अत्यन्त जटिल स्वास्थ्यअवस्थासँग जुधिरहँदा पनि उनलाई निर्विकल्प प्रधानमन्त्री बनिरहनुपर्ने बाध्यता छ ?
यसको सहज जवाफ नेकपाका उच्चतहका अन्य नेतासँग नहोला -किनकि उनीहरू स्वयं नै केपी ओलीलाई हटाएर आफू त्यो जिम्मेवारी लिने भरमग्दुर प्रयत्नमा छन् । यद्दपि, केपी ओली सरकार चलाउन सक्षम छन् र सरकार उनले नै चलाउनुपर्छ भन्ने बुझाइ कसले र किन स्थापित गर्न खोजिरहेको छ भन्ने अनुमान गर्न भने गाह्रो छैन ।
केपी ओलीलाई कुर्सीमा राखेर स्वार्थ पूरा गर्ने समूह संगठित र शक्तिशाली रहेको अब लगभग प्रस्ट भइसकेको छ । विगत केही समययता सतहमा आएका अनियमितता र भ्रष्टाचारका काण्डहरूमा देखिएको प्रवृत्तिले के देखाउँछ भने केपी ओलीको संरक्षण प्राप्त एउटा स्वार्थ समूहले उनलाई सरकारको नेतृत्त्वमा राखिरहनका लागि आवश्यक राजनीतिक वातावरण बनाउने प्रयास निरन्तर गरिरहेको छ । यो स्वार्थ समूहको जालो सम्भवतः जटिल छ र राज्यसत्तामा यसको प्रभाव ठूलो छ ।
सरकारप्रमुखका रूपमा ओली नै रहनुपर्छ भन्ने मान्यता जोडतोडले प्रचारित हुनुमा स्वार्थसमूहलाई मात्र जिम्मेवार ठान्न भने मिल्दैन । आफ्नो स्वास्थ्य र राज्यप्रतिको जिम्मेवारीमा प्रधानमन्त्री स्वयंको बुझाइ त्रुटिपूर्ण छ । नेपालको सामन्ती राज्यसत्ताको चरित्रमा सरकारको औचित्य सरकार हुनुसँग मात्र सीमित छ - उसको कामसँग छैन । केपी ओलीका अभिव्यक्तिहरूबाट पनि के बुझ्न सकिन्छ भने उनमा आफू प्रधानमन्त्री हुनु नै देशका लागि यथेष्ट उपलब्धि हो भन्ने मानसिकता छ । यसै मानसिकताका कारण जस्तोसुकै कमजोर स्वास्थ्य अवस्था भए पनि आफू कुर्सीमा बसिदिए देश चलिरहन्छ भन्ने बुझाइ उनमा छ ।
एउटा प्रश्न बारम्बार दोहोरिने गर्छ (र, यो लेख लेखिरहँदा मैले आफैंलाई पनि केही पटक सोधेको छु) -के जटिल स्वास्थ्यअवस्थासँग जुधिरहेको मानिसको शारीरिक क्षमतामाथि प्रश्न उठाउन र नकारात्मक टिप्पणी गर्न सुहाउँछ ?
स्वास्थ्य लाभ गरिरहेको बिरामी वा अशक्त व्यक्तिको कार्यक्षमतामाथिको टिप्पणी अवश्य पनि शोभनीय होइन । यद्दपि, दुःखका साथ भन्नुपर्छ यस्ता टिकाटिप्पणी गर्नुपर्ने आम मानिसको बाध्यताको कारण अरू कोही नभएर प्रधानमन्त्री ओली स्वयं र उनका कृयाकलाप हुन् । आफू शारीरिक रूपमा दुर्बल भएको अवस्थामा आधारभूत मान्यता र संस्कारको पर्वाह नगरी जिम्मेवारी अरूमा सार्न मन नगर्नु तथा लामो र अनिश्चित स्वास्थ्यउपचारको प्रक्रियामा जाँदा कार्यकारी जिम्मेवारीसमेत नतोक्नुले प्रधानमन्त्री ओलीले सरकार प्रमुखको जिम्मेवारीसँग जोडिएको संवेदनशीलतालाई नबुझेको प्रस्ट हुन्छ । उनको यो असंवेदनशीलतामाथि प्रश्न र टिकाटिप्पणी हुनु स्वभाविक हो ।
रोग वा अस्वस्थता जीवनका स्वभाविक यथार्थ हुन् । रोग लाग्दैमा कसैले ग्लानी अनुभव गर्न वा यसबाट लज्जित हुन आवश्यक छैन । रोगको अवस्थामा मानिसको ध्यान सकेसम्म राम्रो र भरपर्दो उपचार र शरीरलाई आवश्यक आराममा जान्छ र जानुपर्छ । चमत्कारमा विश्वास नगर्ने हो भने प्रकृतिका नियम हरेक शरीरमा बराबर लागु हुन्छन् ।
त्यसमाथि, प्रधानमन्त्री ओली नेपालका धेरै कम ‘भाग्यशाली’ मानिसमध्ये एक हुन् जसले स्वदेशमा र विदेशमा पनि उच्चस्तरीय स्वास्थ्य सेवा पाएका छन् र भविष्यमा पनि पाउने छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर प्रशस्त मानिसले इमानदार चासो र चिन्ता व्यक्त गरेका छन् र उनको हालसम्मको सफल स्वास्थ्य उपचारप्रति खुशी व्यक्त गरेका छन् ।
कमजोर स्वास्थ्य अवस्थासँग जुधिरहेका र प्रशस्त मानिसको सद्भाव र शुभेच्छा पाएका प्रधानमन्त्री ओलीले यसबेला आराम गर्ने निर्णय लिए स्वभाविक हुन्थ्यो । यद्दपि, उनी आफ्नो अशक्तता लुकाउन, थकित र कमजोर भएका बेला उभिएर हिँड्न, अरूले लतार्दा लतारिन, आराम गर्न परिरहेको बेला औपचारिक बैठक र सभामा बोल्न उद्यत छन् । यो अतिशय दुःख र हैरानी केका लागि गरिरहनुपरेको हो उनले प्रस्ट पारेका छैनन् ।
समाज र राजनीतिमा चासो राख्नेहरूले यो सोच्नुपर्ने विषय भएको छ । के राजनीतिक पार्टीका नेताहरूले राजनीति गर्ने आफ्नो व्यक्तिगत महत्त्वाकांक्षाको प्रवर्द्धन गर्नमात्र हो ? के सरकार व्यक्तिविशेषको सत्तामोहको परिपूरण गर्न निर्माण भएको संस्था हो ? के राजनीतिमा व्यक्तिहरू अपरिवर्तनीय र निर्विकल्प हुन्छन् ?
आज कमजोर स्वास्थ्यअवस्थासँग जुधिरहेका प्रधानमन्त्री केपी ओलीले आराम गर्न नचाहनु उनको मात्र व्यक्तिगत समस्या नभएर नेपाली राजनीति र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविसँग जोडिएको प्रश्न बनेको छ । आफ्नो स्वास्थ्यअवस्थालाई लुकाएर महिनौँ विदेशमा उपचार गराएर बस्ने तर कुर्सी नछोड्ने नाइजेरियाका मोहमदु बुहारी, जीवनको अन्तिम घडीसम्म राजनीतिको केन्द्रमा रहन चाहने गिरीजा कोइराला वा जटिल स्वास्थ्यका बाबजुद आफूलाई निर्विकल्प ठान्ने केपी ओलीले स्थापना गरेको वा गर्न चाहेको राजनीतिको व्याख्या समाज वा राष्ट्रका लागि हितकर छैन । यसमा सबैले छलफल गरौँ ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...