बन्दाबन्दी, लकडाउन र घरबन्दी
भाषालाई माया गरौँ तर यस्तो अतिशयोक्ति पनि नगरौँ, त्यसलाई प्रयोग गर्नुपहिले नै कसैले लघुताबोध गरोस् । ऊ भाषासँग मस्त प्रेममा परोस् । जबर्जस्तीको सम्बन्धमा बस्नु परेजस्तो अमानुषिक भाषिक अनुभूति कसैलाई नहोस् ।
हामीले प्रयोग गर्ने भाषा र त्यसले निर्माण गर्ने भाष्यहरूले सार्वजनिक वृत्तमा कुनै समुदाय, व्यक्ति, वर्ग र क्षेत्रलाई अपहेलित, घृणा, र बहिस्कृत गर्दा हाम्रो सामाजिक एकता कमजोर हुन्छ ।
‘कोरोना’ शब्द अहिले सबैको मुख झुन्डिएको छ । यसको कुनै निश्चित राष्ट्रियता छैन न कुनै लैंगिक, जातीय, भौगोलिक, सामाजिक-आर्थिक र राजनीतिक सिमाना । यो सबैले बुझ्ने साझा भाषा भएको छ । यो कुनै एक वर्ग र समुदायको व्यक्तिको मातृभाषा रहेन । यो अहिले आममानवजातिको रैथाने भाषा भएको छ । औपचारिक नाम कोभिड-२०१९ भए पनि ‘कोरोना’ भनेर चिनिने यो महामारीको असर बहुआयामिक छ । यो लेखमा महामारीसँग जोडिएका भाषा र भाष्यहरूको समाजभाषाशास्त्रीय छलफल गरिएको छ ।
कोरोनाभाइरसदेखि कोभिड-२०१९ सम्म
भाषाले नाम दिन्छ र नामले सामाजिक-राजनीतिक अर्थ बोक्छ । नाम छान्दा सकभर राम्रो अर्थ बोक्ने शब्दहरू छानिन्छन् । चीनको वुहान प्रान्तमा देखिएको कोरोनाभाइरसलाई कसैले सार्स भने, कसैले निमोनिया आदि । कसैले चमेराबाट सरेको त कसैले मानव-निर्मित जैविक हतियारसम्म भने। तर कोरोनाले आफ्नो शक्ति बढाई रह्यो । चीनको अरु राज्यहरूमा फैलियो र मानिसहरूको ज्यान लिन थाल्यो । जब यो भाइरस युरोप र अमेरिका पुग्यो यसले महामारीको रुप लियो । सबै देशहरूमा यसको त्रास फैलियो । अन्तत: फेब्रुअरी ११ मा विश्व स्वास्थ्य संगठनले यो भाइरसलाई ‘कोभिड-२०१९’ (COVID-2019) भन्ने औपचारिक नाम दियो ।
यो नाम कोरोना भाइरस डिजिजको छोटकरी रुप हो । कुनै जाति, क्षेत्र, र व्यक्ति तथा जनावारको नामसँग यो माहामारी नजोडियोस् र उनीहरूलाई ‘लान्छना’ नलगाइयोस् भनेर यस्तो नाम दिइएको हो । उच्चारण गर्न सजिलो पनि हुने र रोगसँग सिधै सम्बन्ध भएको निष्कर्ष निकालेर विश्व स्वास्थ्य संगठनले यो नाम जुराएको हो । यो नाम भन्दा अगाडि यो भाइरसलाई ‘चाइनिज भाइरस’, ‘वुहान भाइरस’ तथा ‘वुहान कोरोनाभाइरस’ ले चिनिन्थ्यो ।
महामारीको नामाकरणमा सचेत नहुँदा सामाजिक र राजनीतिक समस्या आउछ। पहिलो विश्वयुद्द पछि १९१८ को महामारीलाई ‘स्पेनिस फ्लु’ भनियो जसले स्पेन र स्पेनिसहरूलाई रोगको पोकाको रुपमा ‘लान्छाना’ लगाइयो र हेयभावले हेरियो। उनीहरूले विभिन्न किसिमका हिंसाहरूको सिकार हुनु पर्यो । त्यस्तै २००९ को ‘स्वाईन फ्लु’ नाम सुँगुरसँग जोडिएकोले धरै सुँगुरहरू निर्मम रुपले मारिए र कृषकहरूले फ्लुको नाममाथि आपत्ति जनाए । पछि यसको औपचारिक नाम ‘एच१एन१’ फ्लु राखियो । कोरोनाभाइरसको सन्दर्भमा पनि अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘चाइनिज भाइरस’ भनिरहँदा चाइनिज र एसियनमूलका नागरिकहरू माथि विभिन्न देशहरूमा आक्रमण गरियो । उनीहरूलाई लान्छना लगाउने र रोगको खानीको रुपमा हेर्न थालियो ।
यो पनि पढ्नुस
भाषालाई माया गरौँ तर यस्तो अतिशयोक्ति पनि नगरौँ, त्यसलाई प्रयोग गर्नुपहिले नै कसैले लघुताबोध गरोस् । ऊ भाषासँग मस्त प्रेममा परोस् । जबर्जस्तीको सम्बन्धमा बस्नु परेजस्तो अमानुषिक भाषिक अनुभूति कसैलाई नहोस् ।
फ्रान्सको एउटा राष्ट्रिय पत्रिकाले एकजना मास्क लाएको चाइनिज महिलाको फोटो राखेर ‘येल्लो अलर्ट’ (केही खतरा हुन लागेकोले सुरुमै सचेत हुनु) भन्ने शीर्षक राखे पछि एसियनमूलका नागरिकहरूले पत्रिकाको विरोध गरे । यस्तो शब्दहरूले सार्वजनिक वृत्तमा आफूप्रति नकारात्मक धारणा बन्ने र त्यही धारणाको आधारमा हेयको दृष्टिले हेरिने तथा पूर्वाग्रह राखिने भएको भन्दै ‘म भाइरस होइन’ भन्ने पर्चा बोकेर एसियनमूलका नागरिकहरूले सडकमै विरोध गरे ।
समाजभाषाशास्त्रीय पक्षबाट यस्ता शब्दहरूले कुनै एक जाति र समुदायलाई ‘बहिस्कृत’ र ‘पराइकरण’ गर्ने काम गर्दछ । यस्ता शब्दहरूले ‘रंगभेद’ र ‘मानव घृणा’ लाई प्रोत्साहन गर्दछ ।
नेपालमा पनि सार्वजनिक वृत्तमा प्रयोग गरिएका भाषाहरूले भाइरस संक्रमितहरूलाई ‘पराइकरण’ गरेका थुप्रै उदाहरणहरू छन् । सामाजिक सञ्जाल, पत्रपत्रिका र अन्य समाचार माध्यमहरूमा प्रयोग गरिने भाषाहरूले संक्रमित र ‘विदेश बाट आएका नागरिक’ हरूलाई ‘पराइकरण’ गर्ने काम गरिरहेका छन् । जस्तै जतिबेला वुहानबाट विद्यार्थीहरू नेपाल ल्याएर राख्ने ठाउको खोजी हुँदै थियो त्यतिबेला सामाजिक सञ्जालमा प्रयोग भएका भाषाहरूले उनीहरूलाई ‘रोगको पोको’, ‘सखाप पार्ने मान्छे’, र ‘रोग सार्ने मान्छे’ को संज्ञा दिदै विभिन्न ठाउमा विरोध भयो ।
बागलुङकी १९ वर्षीया युवती संक्रमित भएको समाचारपछि सामाजिक सञ्जालहरूमा गालीगलौज थालियो । उनी बेल्जियमबाट फर्केको हुनाले ‘शिक्षित तर मुर्ख’, ‘बेहोसी’, र ‘अटेरी’ जस्ता संज्ञा दिइयो । परिवारको भनाइ उद्धृत गर्दै ‘बेइज्जत हुने’, ‘छोरीको विवाह नहुने’, र ‘भविष्य बिग्रिने’ भएकोले अस्पताल नगएर घरमै बसेको समाचारहरू आए । यस्ता भाषाले छोरीहरूलाई हेर्ने हाम्रो आम सामाजिक चिन्तन बोकेको छ । यस्ता भाष्यहरूले छोरीहरूको भविष्य ‘विवाह’ सँग जोडिएको हुनाले यसलाई स्वास्थ्य भन्दा पनि ठूलो ठानिने हाम्रो रुढिवादी चिन्तनलाई सहयोग गर्छन् ।
महामारी बढ्दै गर्दा युरोप तथा अन्य विकसित मुलुकहरूमा रहेका नेपालीहरूलाई विभिन्न किसिमले ‘नकारात्मक पहिचान’ दिन थालिएको छ । उनीहरूलाई पनि उद्दार गरिनु पर्छ भन्ने छलफल भइरहँदा ‘नेपाल सरकारलाई गाली गर्ने’, ‘अवसरवादी’ तथा ‘पलायनवादी’ जस्ता शब्दहरूले ‘धब्बाकृत’ गरिएको छ । ‘सुख खोज्न विदेश जाने’, ‘करोडौँको सम्पति देखाउने’, ‘आपत् पर्दा मात्र देश सम्झिने’ भन्दै उनीहरूलाई उद्दार गर्नु भनेको भाइरसको ‘महामारी नेपाल ल्याउनु हो’ भन्ने भाष्यहरूले ‘मानव घृणा’ लाई प्रशय दिने काम गर्छन् ।
महामारीको बेलामा प्रयोग गरिने यस्ता भाष्यहरूले ‘रंगभेद’, ‘जातिभेद’, र ‘पूर्वाग्रह’ बढाउन सहयोग गर्छन् । केही दिन अघिमात्रै विश्व स्वास्थ्य संगठनका निर्देशकलाई ‘कालो’ र ‘निग्रो’ भन्दै गाली गरेर ‘मार्ने धम्की’ आएको तथ्य सार्वजानिक गर्दै उनले सम्पूर्ण देशहरूलाई यो महामारीलाई राजनीतिकरण नगर्न र मानवजातिलाई घृणा फैलाउने भाषाहरू प्रयोग नगर्न अनुरोध गरेका थिए ।
यो पनि पढ्नुस
कोरोना महामारीबारे अध्ययन, अनुसन्धान र विमर्श शून्य
भाषिक विविधता, अनुवाद र सामाजिक दुरी
महामारीको बेला सही सूचना आमजनतामाझ पुग्नुपर्छ । के गर्ने, के नगर्ने र कसरी आफू तथा आफ्नो समुदायलाई सुरक्षित राख्न सकिन्छ भन्ने सवालमा सबै सचेत हुनुपर्छ । जनस्वास्थ्यसँग सम्बन्धित सूचनाहरू प्रभावकारीरुपमा प्रसारण गर्न भाषाको महत्त्वपूर्ण भूमिका हुन्छ । अहिले धेरै सूचनाहरू अंग्रेजी र नेपालीमा भएकाले विभिन्न मातृभाषा बोल्ने समुदायले सही सूचना पाउन सकेका छैनन् । केही भाषिक समुदायहरूले मातृभाषाहरूमा सचेतना जगाउने सामग्रीहरू बनाएका छन् तर तिनीहरूको प्रसारण प्रभावकारी हुन सकेको छैन ।
यो महामारीसँग सम्बन्धित शब्दहरू अंग्रेजीमा भएकाले तिनीहरूको नेपालीकरण र अनुवाद बुझ्न सबैलाई सजिलो छैन । अनलाइनखबरमा प्रकाशित भीम रावलको लेखले भाषिक कारणले महामारीको बारेमा आम जनताले सही सूचना नपाएको कुरा छर्लङ्ग पार्छ । उक्त लेखमा एक मतदाताले फोनमा गरेको कुराकानी उधृत गर्दै ‘लकडाउन’ लाई ‘लडकाउन’, ‘क्वारेन्टाइन’ लाई ‘कानटिनटिन’, ‘आइसोलेसन’ लाई ‘आइपोछन’, ‘डिस्ट्यान्सिङ’ लाई ‘डिस्हान्छन्’ र ‘स्वाब’ लाई ‘स्वाप्प’ भनेर बुझेको र यस्ता शब्दहरूले आमजनता अलमलमा परेको अवस्था देखाइएको छ । यस्ता शब्दहरूको नेपाली र अन्य मातृभाषाहरूमा ठ्याक्कै अनुवाद त नहोला तर सामान्यीकरण गर्न सकिन्छ । तर हुबहु अंग्रेजी शब्दहरू प्रयोग गरिँदा लेखपढ गर्न नजानेका र अंग्रेजी भाषाको ज्ञान नभएका जनता सही सूचना पाउने अधिकारबाट वञ्चित भएका छन् ।
रावलको तर्क छ ‘जनतालाई बुझाउन र बाटो देखाउन जनताले बुझ्ने भाषा नै बोल्नुपर्छ’। तर अहिले भाषाको महत्वलाई सरकारी स्तरबाट ध्यान पुर्याइएको छैन । स्थानीय मातृभाषाहरूको प्रयोग नगर्दा जनता सुसूचित नहुने कुरा त छँदै छ, यसले भाषाहरू बीचको असमानतालाई झन् बढाउछ। भाषिक असमानताले सूचना र स्वास्थ्यमा असमान पहुँच बढाउछ । अन्तत: ठूला मानिएका भाषाहरूको जस्तै नेपाली र अंग्रेजी महामारी झन् बढ्छ ।
माहामारीको बेलामा औपचारिक रुपमै अंग्रेजी शब्दहरूको प्रयोग भएका छन् । जस्तै ‘लकडाउन’, ‘भाइरस’, ‘स्यानिटाइजर’, ‘क्वारेन्टाइन’, ‘स्वाब’, ‘पजिटिभ/नेगेटिभ’, ‘ट्रेसिङ’, ‘टेस्ट’, र ‘र्यापिड टेस्ट’ आदि । सार्वजनिक वृत्तमा अरु पनि थुप्रै यस्ता नयाँ शब्दहरू सुनिन्छन् । यी शब्दहरूको भावनुवाद गर्न नसक्दा सर्वसाधारणहरूलाई बुझ्न गाह्रो भएको छ । अहिलेसम्म ‘लकडाउन’ लाई ‘बन्दाबन्दी’ (अनौपचारिक रुपमा) बाहेक अरु शब्दहरूलाई नेपालीमा प्रयोग गरीएको देखिएको छैन । यसले गर्दा ‘होम आइसोलेसन’ लाई ‘गृह-पृथकीकरण’ र ‘लकडाउन’ लाइ ‘कर्फ्यु’ पनि भनियो । अहिले प्रचलनमा रहेको ‘सोसल डिस्ट्यान्सिङ’ लाई ‘सामाजिक दुरी’ अनुवाद गरी औपचारिक रुपमै प्रयोगमा ल्याइएको छ । कुनै व्यक्तिसँग निश्चित दुरी कायम र भीडभाड कम गर्नु पर्छ भनेर यो शब्दको प्रयोग भयो । तर महामारीको बेला आवश्यक ‘मानवीयता’, ‘सामाजिक सद्भाव’ र ‘सहकार्य’लाई कमजोर बनाउने हुनाले यो शब्दको सट्टा ‘भौतिक दुरी’ वा ‘व्यक्तिगत दुरी’ प्रयोग गर्न उपयुक्त हुन्छ । भौतिक दुरी बढाउने पर्ने भएपनि सामाजिक रुपमा जोडिएर मात्र महामारीसँग लड्न सकिन्छ ।
महामारीसँग लड्न हाम्रो सामाजिक र मानसिक स्थिति बलियो हुन जरुरी छ । हामीले प्रयोग गर्ने भाषा र त्यसले निर्माण गर्ने भाष्यहरूले सार्वजनिक वृत्तमा कुनै समुदाय, व्यक्ति, वर्ग र क्षेत्रलाई अपहेलित, घृणा, र बहिस्कृत गर्दा हाम्रो सामाजिक एकता कमजोर हुन्छ । तसर्थ सामाजिक सञ्जाल, मिडिया र अन्य क्षेत्रमा प्रयोग हुने भाषाले कसैलाई चोट पुर्याउला कि भनेर सचेत हुन जरुरी छ ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...