क्यामरा-बाज
यो समय नेपाली सिनेमाको छायाकारमध्ये पुरुषोत्तम सबभन्दा अगाडि देखिन्छन्, संख्या र गुणात्मक दुवै कोणबाट । ५३ फिचर फिल्म खिचिसके, ५ रिलिज हुन बाँकी छन् ।
होस्टेलनजिकै विमानस्थल थियो । छुट्टी हुनासाथ विमानस्थल छिरिहाल्थे, पुरुषोत्तम प्रधान, ४२ । अहिलेजस्तो बन्देज थिएन, बिगि्रएका हवाईजहाज बनाएको, उडाएको छेवैबाट हेर्न पाइन्थ्यो । आकाशमा उड्ने हवाईजहाज तिलस्मी लाग्थे । कसैले ठूलो भएपछि के बन्छौँ भनेर सोध्दा झट्ट जवाफ दिइहाल्थे, एरोनटिकल इन्जिनियर । जहाज बनाउने सपना थियो । तर हर सपना कहाँ पूरा हुन्छन् र ! जिन्दगीले कता डोर्याउँछ, के थाहा !
निरन्तर संर्घषले सफलताचाहिँ चखाउँछ नै । एरोनटिकल इञ्जिनियर बन्न नपाए पनि छायाकारका रुपमा जहाजझैँ उचाइ चुमेका छन् । यो समय नेपाली सिनेमाको छायाकारमध्ये पुरुषोत्तम सबभन्दा अगाडि देखिन्छन्, संख्या र गुणात्मक दुवै कोणबाट । ५३ फिचर फिल्म खिचिसके, ५ रिलिज हुन बाँकी छन् । लप्पन-छप्पन २ को तयारीमा छन् ।
अनुभवी निर्देशक हुन् वा नयाँ, पहिलो रोजाइमा पुरुषोत्तम नै पर्छन् । दूरदराजका कारुणिक दृश्य कैद गर्नु परोस् वा युरोपका मनमोहक दृश्य, उनी पोख्त मानिन्छन् । मायाज बारका दुई गीत लगातार ४८ घन्टा खटिएर खिचेका थिए, कलाकारले मेकअप गर्ने समयमा विश्राम लिँदै । दैनिक १३ घन्टा खिच्छन् । भन्छन्, "हामीले अहिलेसम्म कथामा खिचिरहेका छौँ, स्क्रिप्टको उतारचढाव उतार्नै सकेका छैनौँ । अब मेरो प्रयास त्यतै हुन्छ ।"
छायाकारका रुपमा यतिविघ्न प्रतिष्ठा आर्जन गर्न पुरुषोत्तमले कति पसिना बगाए, कति हन्डर खाए, लेखाजोखा छैन । काठमाडौँमै जन्मिए पनि परिवारको आर्थिक स्थिति नाजुक थियो । त्यसमाथि उनी पाँच वर्ष नपुग्दै पिताको निधन भयो । सबै जिम्मेवारी आमाको काँधमा भए पनि शान्ति निकुञ्ज स्कुलमा भर्ना गरिदिइन् । तर उनी थिए, बदमासको बादशाह । स्कुलबाट भागेर माछा मार्न र पौडी खेल्न खोला पुग्थे । अरुसँग झगडा परिरहन्थ्यो । पढाइमा शून्य । त्यसपछि आमाले कलैयास्थित ठूलीआमाको घर पठाइदिइन्, त्यहाँ पनि टिक्न सकेनन् । फर्केर गान्धी आदर्श माविमा भर्ना भए । भन्छन्, "गान्धी स्कुलमा पढ्न थालेपछि म गान्धीझैँ ज्ञानी हुन थालेँ । आमाको दुःख बुझ्न थालेँ ।"
"स्क्रिप्ट कमजोर छ भने क्यामरा बाट कसरी सशक्त बनाउन सकिन्छ भन्नतिर लाग्नुपर्छ । कतिपयलाई हस्तक्षेप लागे पनि त्यो होइन । स्क्रिप्ट बलियो छ भने चाहिँ त्यसलाई अझ मूर्त बनाउनतिर मात्र ध्यान हुन्छ ।"
पुरुषोत्तमकी ठूलीआमाका छोरा अनुचन्द्र थसिनेकु सिने साउन्ड रेकर्डिङमा रेकर्डिस्ट थिए । अनुचन्द्रले उनलाई रञ्जना, अशोक र ज्योति हलमा फिल्म हेर्न लैजान्थे । एसएलसी परीक्षापछिको खाली समय अनुचन्द्रसँगको सामीप्य अझ बाक्लियो । त्यही बेला सिने साउन्डको ब्यानरमा अवला फिल्म बन्ने भयो, डे्रस केयर टेकरको पद बाँकी थियो । अनुचन्द्रले फुर्सदिला पुरुषोत्तमलाई त्यो काममा लगाए । उनले पनि नाइँनास्ती गरेनन्, पकेट खर्च आउँथ्यो । तर फिल्म नसकिँदै कहिले फुत्किउँझैँ भएछ । भन्छन्, "बजेट थोरै रहेछ, त्यसैले स्पट ब्वाई, प्रोडक्सन एसिस्टेन्ट र लाइट सहयोगी सबै काम गर्नुपर्यो । त्यसमाथि जस नपाउने । हत्तुहैरान भएँ ।" बल्लतल्ल अवलाको छायाँकन सकियो । एसएलसीको रिजल्ट आएको थिएन ।
अवलासँग पुरुषोत्तम खुसी नभए पनि उनको खटाइ र इमानदारीबाट निर्माता प्रभावित थिए । त्यसैले नयाँ फिल्म छोरीबुहारीका लागि उनलाई बोलाइयो । एक महिनामा ६ हजार पाउने भएपछि आफूलाई रोक्न सकेनन् । बिस्तारै फिल्मप्रति प्रेम पलाउन थाल्यो । तर के बन्ने टुंगो थिएन । उनी दोधारमा रहेको थाहा पाएरै हुनुपर्छ, रेकर्डिस्ट माधव थपलियाले भनेछन्, 'लाइट बोक्दै गयौ भने एक दिन क्यामराम्यान हुन्छौ, बुम समात्यौ भने रेकर्डिस्ट अनि क्लाप हान्दै गयौ भने निर्देशक । रोजाइ तिम्रै ।' उनी भन्छन्, "त्यतिबेला म छायाकार मुरारी ठाकुरको व्यक्तित्व र काम गराइबाट प्रभावित थिएँ । फुर्सद हुँदा क्यामरा फोकस सिक्न थालेँ ।"
०५५ सालतिर धमाधम फिल्म बन्न थाले । क्यामरा प्राविधिक अभाव भयो । त्यही मौकामा गौतम श्रेष्ठ, मञ्जुकुमार श्रेष्ठ, गौरीशंकर धुजु, चन्द्रप्रकाश घिमिरेजस्ता नामुदसँग छायाँकारको सहायक हुन पाए । उनको खिचाइशिल्प खारिँदै गएको समय दरबार हत्याकाण्ड भयो । फिल्म निर्माण घट्यो । त्यसपछि टेलिभिजनतिर लागे । तीन वर्ष इमेज च्यानलको जागिरे भए, टेलिसिरियल, म्युजिक भिडियो र विज्ञापन खिचे । उनलाई नजिकबाट नियालिरहेकी प्रज्ञा घिमिरेले सपुत फिल्म खिच्न अफर गरिन् । यसलगत्तै मेरो एउटा साथी छमा अनुबन्ध भए ।
डिजिटल प्रविधिको यस फिल्म छायाँकनका दृष्टिले उम्दा मानिन्छ । ठिक्क बजेट भए पनि डिजिटलमा राम्रो गर्न सकिन्छ भन्ने प्रमाणित गरे, पुरुषोत्तमले । उनले खिचेको ब्याच नम्बर १६ लाई प्राविधिक कोणबाट छलाङ नै मानिन्छ । नेपालको पहिलो थ्रीडी फिल्म भिजिलान्ते उनैले खिचेका हुन् । छ एकान छबाट रेड क्यामरा चलाउन थालेपछि व्यस्तता चुलियो । भन्छन्, "म सेट पुगेपछि मात्र होइन, स्क्रिप्टबाटै निर्देशकसँग छलफल गर्छु । फिल्मको खिचाइबारे कल्पिन्छु ।" लाइट, लोकेसन, खिच्ने अवधिमा थोरै तलमाथि हुँदा बजेट बढ्छ । निर्मातालाई बजेटको बोझ नथपी स्तरीय शैलीमा खिच्ने प्रयास गर्छन् ।
नेपालमा फिल्म स्टुडियो छैन, सेट बनाइन्न, भनेजस्ता लाइट उपलब्ध हुँदैनन् । यसको मारमा पर्ने गर्छ, छायाँकन । यही समस्याले पटकथाको ग्राफलाई सिनेमाटोग्राफीबाट उतार्न नसकेको दुखेसो पोख्छन्, प्रधान । उनमाथि छायाँकनका क्रममा निर्देशकलाई हस्तक्षेप गर्ने र आफ्नो चाहनाअनुरुप खिच्ने आरोप पनि लाग्छ । उनको प्रस्टीकरण छ, "स्क्रिप्ट कमजोर छ भने क्यामरा बाट कसरी सशक्त बनाउन सकिन्छ भन्नतिर लाग्नुपर्छ । कतिपयलाई हस्तक्षेप लागे पनि त्यो होइन । स्क्रिप्ट बलियो छ भने चाहिँ त्यसलाई अझ मूर्त बनाउनतिर मात्र ध्यान हुन्छ ।" उनी हिजो केही नक्कलमा खिचेको पनि स्वीकार्छन् । अबचाहिँ फिल्मको मुड, इमोसन, गहिराइ बुझेको आभास हुन थालेको छ । त्यही भएर त उनले योजना बनाएका छन्, अब दस वर्ष फिल्म नै खिच्ने, त्यसपछि निर्देशन गर्ने ।
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...