‘खनि हो यामु’
आफ्ना हरेक गीत आफैँ लेख्ने तृष्णा भन्छिन्, “मेरा लागि युट्युब भ्युज मात्र अब्बलताको मानक होइन ।”

भिडियोमा आफ्नै तालमा गिटार बजाएर गुनगुनाउँदै थिइन्, तृष्णा गुरुङ । त्यत्तिकैमा गायक ‘११:३० बसन’ (वसन्त श्रेष्ठ) नजिकै आए । आफूलाई मन पर्ने गायक देख्दा सुरुमा नर्भस भइन् । उनले भनेछन्, ‘हामी सँगै गाउनुपर्छ है ?’ तृष्णाले सहमत हुँदै मुन्टो हल्लाइन् । दुई महिनापछि ११:३० बसनले स्टुडियोमा बोलाए । र, जन्मियो :
सोचेको कुरा होइन यो
जानेको कुरा होइन यो
रोजेको कुरा होइन यो
तिम्रो–मेरो माया बस्यो कसरी
दैव जानोस्
स्लो–रक शैलीको यस गीत युवा पुस्तामाझ लोकप्रिय भयो । पहिलो गीत हिट भएकाले तृष्णाको सांगीतिक यात्राले गति पाउनुपर्ने हो तर त्यसो भएन । बरु गुमनाम भइन् । गीत सुन्नेले पनि उनका बारे थाहै पाएनन् । सम्झिन्छन्, “टिन एजमै थिएँ, गायनमा कसरी अगाडि बढ्नुपर्छ, हेक्कै भएन । पढाइमै व्यस्त भएँ ।” हुन पनि त्यतिबेला उनलाई कहीँ–कतै देखिएन ।
भनिन्छ, समय लाग्छ तर सिर्जनशीलता कहिल्यै मर्दैन । तृष्णाको हकमा त्यही भयो । ६ वर्षको मौनतापछि तृष्णाले पहिलो सोलो गीत युट्युबमा अपलोड गरिन्, ‘खनि हो यामु ए कान्छा...’ ।
नौलो स्वर र शब्दको यस गीतले एक्कासि धेरै श्रोताको ध्यान खिच्यो । तृष्णाकै शब्दमा, छिट्टै र नसोचेको लोकप्रियता हासिल भयो । यही गीतबाट छनक मिल्यो, नेपाली संगीतकी उदीयमान नक्षत्र हुन्, तृष्णा । त्यसैले यो पाँच वर्षमा उनले आफूलाई पूरापूर प्रमाणित गरेकी छन् । नेपालभित्र र डायस्पोरामा मात्र होइन, बेलायतको प्रतिष्ठित रोयल अल्बर्ट हलमा पर्फम गरिसकेकी छन् । वजनदार शब्द, मिठास स्वर र फरक कम्पोजिसन उनका गीतको चिनारी हो ।
तृष्णालाई सम्झना भएसम्म अरुले ‘भविष्यमा के बन्छौ ?’ भनेर सोध्दा ‘सिंगर’ बाहेक अर्को उत्तर दिएकी छैनन् । जबकि उनका साथीहरु डाक्टर, पाइलट र लाहुरे भन्थे । उनीचाहिँ जहिल्यै गीत गाएको सपना देख्थिन् । भन्छिन्, “आमाले भन्नुभएको, एक–दुई वर्ष हुँदै केही सामान पायो भने बजाएर धुन निकाल्थेँ रे । अनि, बोली फुटेसँगै गाउन थालेँ ।”
उनको परिवार मात्र होइन, अन्य नातेदारमा समेत कोही व्यावसायिक गायक–गायिका छैनन् । तर तृष्णा गीत भन्नासाथ हुरुक्कै । ३ कक्षा पुग्दा गिटारको कर्ड सिकिसकेकी थिइन्, आफ्नै दाइसँग । उनका बुबा मेकानिकल इन्जिनियर थिए । घरमा हुँदा कहिलेकाहीँ बाँसुरी बजाउँथे । दाजु गिटार बजाउँथे । त्यही धुन सुन्दै हुर्किन् तृष्णा, जसले संगीतप्रतिको सान्निध्य अझ घनीभूत बनाउन भूमिका खेल्यो । तृष्णालाई परिचित गराउने ‘खनि हो...’ को कथा पनि उनै दाजुसँग जोडिएको छ ।
दाजु गिटार बजाउँदै ‘खनि हो कान्छी’ गाउँदै सुनाउँथे, यसको धुन मनमै गढेको थियो, तृष्णाको । तर बाँकी शब्द थिएनन्, दाजु तिनै शब्द दोहोर्याउँथे । गुरुङ भाषामा ‘खनि हो’ को अर्थ हुन्छ, ‘कता जान लागेको ?’ ठूलो भएपछि दाजु लाहुर लागे । तृष्णाचाहिँ गिटारमा झनै झुम्मिन थालिन् । तर त्यो गीतको रन्को उनमा अझै थियो ।
त्यही अपूरो गीतलाई पूरा गर्ने रहर पलायो । पानी परेको एक साँझ सरर लेखिन् । कम्पोज गरिन् । दाजुलाई सुनाउँदा भावुक भए । उनकै सल्लाहमा गीत रेकर्ड गरियो र सार्वजनिक भयो । तृष्णा भन्छिन्, “मेरा हरेक गीतको आफ्नै कथा हुन्छ । जसको शब्द–शब्दमा डुबेर गाउने प्रयास गर्छु ।”
एक दिन चक्रपथमा गाउँदै हिँडेका गाइने देखिन् । आमाबाट गाइनेका अनेक किस्सा सुने पनि त्यसरी प्रत्यक्ष कहिल्यै देखेकी थिइनन् । गाइनेको चालढाल, गायनशैली र गायनबाट प्रेरणा मिल्यो, उनलाई । त्यही प्रेम पोखेर लेखिन्, ‘गाइने दाजै...’, जसले उनको सफलतामा अर्को सिँढी थप्यो । जहाँ जाँदा होस्, व्यक्ति र समाजलाई सूक्ष्म रुपमा अवलोकन गर्ने र त्यसलाई गीतमा बुन्न खोज्छिन् । यही कारण हुनुपर्छ, उनका गीतमा जोकोही मोहित हुन्छ । लोक धुन मिसाएर पप शैलीमा गाउँदा गीत थप जीवन्त बन्छ । ‘रेलैमा...’, ‘माया पिरती...’, ‘साँझको बेला...’ यसका उदाहरण हुन् ।
लगातार गीत हिट भएपछि कलाकार दबाबमा पर्छन् । हरेक पटक ‘हिट’ हुने चक्करमा लाग्छन् तर यो लहडले मौलिकता र सिर्जनशीलता अलप भएको चालै पाउँदैनन् । परिणाम: पाखा पर्दै जान्छन् । यो प्रवृत्तिको सिकार भएका कलाकार देखेकी छन्, तृष्णाले । सोही कारण आफूमा कहिले ‘हिट’ को भोक नभएको बताउँछिन् । “म हरेक गीतलाई उत्कृष्ट बनाउन सक्दो मिहिनेत गर्छु । सिर्जना गर्दा बजारको दबाबबाट मुक्त हुन्छु,” आफ्ना हरेक गीत आफैँ लेख्ने तृष्णा भन्छिन्, “मेरा लागि युट्युब भ्युज मात्र अब्बलताको मानक होइन ।”
लेख्ने र गाउने क्रमैमा थाहा पाइन्, आफ्नै ब्यान्ड भयो भने कन्सर्टमा सहज हुन्छ, अझ दरिलो पर्फमेन्स गर्न सकिन्छ । त्यसैले एक वर्षअघि ब्यान्ड स्थापना गरिन्, तृष्णा एन्ड द कोल्याब । ६ सदस्यीय समूहको एक्लो भोकलिस्ट हुन्, तृष्णा । गायनबाहेक तृष्णाको अर्को कमाइको स्रोत छैन । संगीतमै मग्न छिन् तर उनका लागि संगीत पैसा कमाउने माध्यम हैन रे । तृष्णाको सिद्धान्त छ, गीत गाएर पैसा कमाउनुपर्छ तर पैसा कमाउनकै लागि गीत गाउने होइन ।
उनका लागि गीत आफ्नो भावना अभिव्यक्त गर्ने माध्यम हो, गाउँदा होस् या लेख्दा, आनन्दानुभूति हुन्छ । गीतबिनाको जीवन कल्पनै गर्न सक्दिनन् । र, हरेक गीत कोर्दा आफू गाउँमा भएको अनुभूत गर्छिन् । “सकेसम्म हरेक गीत गाउँ पुगेरै लेख्न खोज्छु । पुग्न सकिनँ भने गाउँको कल्पनामा डुब्छु,” उनी भन्छिन्, “गाउँ सम्झँदा मात्र पनि स्वर्णिम अनुभूति हुन्छ । त्यही सन्तुष्टि गीतमा पोख्ने गर्छु ।”