‘...तपाईंलाई कविताको पाप लाग्छ’
कविताको कलात्मक प्रस्तुतिका लागि लेख्नु र कन्ठ गर्नु पहिलो खुड्किलो हो ।
आफ्ना विद्यार्थीसँगै कवि माधव घिमिरेसामु कविता सुनाउने मौका जुर्यो, नवराज पराजुलीलाई । उनी कविता सुनाउँदै थिए, घिमिरेका आँखा टिल्पिलाए । त्यसपछि नवराजको हात सुम्सुमाउँदै भनेछन्, ‘तपाईं कवितामा आउनु भएन भने तपाईंलाई कविताको पाप लाग्छ ।’
तीनताका नवराज आफैँचाहिँ बडो सकसमा थिए । २८ वर्ष पुगिसक्दा पनि कहाँ, कता, के गर्ने भन्ने पहिल्याउन सकेका थिएनन् । घिमिरेसँगको त्यो पल सम्झँदा नवराजको मुहारमा चमक छाउँछ, “मैले कविता पर्फर्मेन्स गर्दा राष्ट्रकविलाई समेत छुन्छ भने अरुलाई किन नछोला भन्ने आत्मविश्वास पलायो । त्यसपछि मैले उहाँले भनेजस्तै कविता समाएँ ।”
त्यो भेट उनका लागि साँच्चै स्वर्णिम बनिदियो । यो चार वर्षमा उनले संसारका १८ देशमा झन्डै २५ कविता–कन्सर्ट गरे । देशभित्र यो संख्या ६० नाघिसकेको छ, त्यो पनि आकर्षक पारिश्रमिक लिएर । ‘सेलिब्रिटी’ बनिसकेका नवराजले कवितालाई व्यावसायिक बनाए । भन्छन्, “सिर्जनाको सम्मानका लागि पनि सित्तैमा सुनाउँदिनँ ।”
दाम र नाम त भइहाल्यो, त्यसबाहेक पनि कविताले उनका अनेक चाह पूरा गरिदिएको छ ।
नवराजको सपना थियो, संसार घुम्ने । अंग्रेजीमा स्नातकोत्तर गरिरहँदा एउटा साथीले सुझायो, ‘परराष्ट्रमा जागिर खायो भने कम्तीमा ६ देश घुम्न पाइने रहेछ । तिम्रो अंग्रेजी राम्रो छ, लोकसेवाको तयारी गर ।’ नवराजलाई लागेछ, आधा दर्जन देश जाँदा फरक मान्छेलाई भेट्न पाइन्छ, फरक संस्कृति र कला बुझ्न पाइन्छ । उनी लोभिए । यो सुनौलो अवसर नगुमाउन घुँडा धसेर पढ्न थाले । तर लोकसेवाका निरस प्रश्नले उनमा बेचैनी पैदा गर्यो । जति पढे पनि त्यसमा ‘जीवन’ भेटेनन्, ‘कला’ अनुभूत भएन । परिणाम थियो, लोकसेवा परित्याग ।
त्यसपछि नाटक सिक्न खोजे । गुरुकुल बन्द भइसकेको थियो । अन्त पैसा तिर्नुपथ्र्यो तर उनीसँग थिएन । यही छटपटीबीच उनको जीवनमा प्रवेश भएका थिए, कवि घिमिरे । तर उनी आम कविझैँ कविता लेख्न र छपाउन मात्र सीमित हुन चाहेनन् । उनले कविको परिकल्पना गरे, जसले लेख्न सकोस् अनि गायकझैँ ‘पर्फर्म’ गर्न सकोस् । अर्कैले लेखेको र कम्पोज गरेको गायकले गाउन सक्छ, मान्छेको मन जित्छ भने आफैँले लेखेको कविता संगीतसहित आफैँले पर्फम गर्दा अझ सशक्त हुन्छ भन्नेमा दृढ भए । “तर कविता कन्ठ गरेर सुनाउनु र पर्फर्म गर्नु नितान्त अलग हो । कविताको कलात्मक प्रस्तुतिका लागि लेख्नु र कन्ठ गर्नु पहिलो खुड्किलो हो,” नवराज भन्छन्, “म शब्द र पर्फर्मेन्सलाई समान प्रेम गर्छु ।” सायद यही गुणले हुनुपर्छ, नवराज कविको भीडमा ‘विशेष’ छन् । र, आफूलाई ‘कवि’ होइन, ‘आर्टिस्ट’ भन्न रुचाउँछन् ।
नवराजले लेखेको पहिलो कविता हो, ‘सगरमाथाको गहिराइ’ । यसले उनलाई उचाइ दिलायो । सगरमाथाको गहिराइ र सतीदेवीको गान्डिव सुनाएपछि अल नेपाल स्ल्याम पोयट्री कम्पिटीसन, २०१४ मा प्रथम भए । त्यही उपलब्धिपछि उनलाई झापाको कला–साहित्य उत्सवबाट निम्तो आयो । ‘सगरमाथाको गहिराइ’ सुनेपछि मनु मञ्जिलले स्टेजमै उक्लिएर अँगालेर भनेछन्, ‘कवितामा योभन्दा सुन्दर अरु के हुन सक्छ ?’ मञ्जिल उनै कवि थिए, जसको कविता गुरुकुलमा लगातार एक घन्टा सुनेपछि नवराजलाई महसुस भएको थियो, मेरो ‘जोन’ पनि कविता नै हो ।
उनका प्रिय लेखकहरुबाट पनि प्रशंसा पाए । रवीन्द्र मिश्रले ‘सगरमाथाको गहिराइ’ का केही पंक्ति फेसबुकमा सेयर गरेपछि त एक सातामै फेसबुकमा उनको साथीको संख्या ३ सयबाट ४ हजार पुग्यो । सर्वनाममा यही कविता सुनेपछि नै हो, प्रकाशक अजित बरालले कवितासंग्रह प्रकाशनका लागि प्रस्ताव गरेको । अढाई वर्षअगाडि पुस्तक प्रकाशित भयो । नाम थियो, सगरमाथाको गहिराइ ।
यता पुस्तक प्रकाशन भयो, उता विभिन्न स्टेजमा नवराजले ‘पर्फर्म’ गरेको कविताको भिडियोले फेसबुक र युट्युबमा लाखौँ भ्युज बटुल्न थाले । देशभित्र मात्र होइन, बाहिरबाट समेत कन्सर्टको अफर आउन थाले । ‘कविता कोलाज’ मा पहिलो पटक कन्सर्ट गर्दै उनले पारिश्रमिक लिए । यही कार्यक्रमका लागि बाँसुरीवादक सम्यक महर्जनसँग सात दिन कीर्तिपुरको जंगलमा रिहर्सल गरेका थिए । अस्ट्रेलिया हुँदै लन्डन, फिनल्यान्ड, स्कटल्यान्ड, स्वीडेन, दक्षिण कोरिया, दुबईजस्ता मुलुकमा कविता ‘पर्फर्म’ गरिसके । अमेरिका, क्यानडा र कतारमा कन्सर्ट तय भइसकेको छ । शुक्रबार चार घन्टा एक निजी स्कुलमा थिएटर पढाउनुबाहेक बाँकी समय कलाकर्ममै बिताउँछन् । फिल्म, गीत लेख्दै छन्, नयाँ कवितासंग्रह तयार पार्दै छन् । नाम र सन्तुष्टिबाहेक कविताले के दियो ? उनी भन्छन्, “झापामा जग्गा जोडेको छु ।”
नवराजमाथि एउटा आरोप छ, उनका कविता ‘पपुलिस्ट’ हुन्छन् । शब्द होइन, उनको प्रस्तुति शैली सशक्त हुन्छ । त्यसैले सुन्न मात्र लायक हुन्छ, पढ्न होइन । तर उनी कविता र कविको परम्परागत घेरामा अल्झिदैनन् । उनको बुझाइमा, चाहे सुनेर पुगोस् वा पढेर, कविता मान्छे–मान्छेसम्म पुग्नुपर्छ किनभने यो अनन्त हुन्छ । “आम मान्छे जति सुन्दर ढंगले कविता पढ्न सक्छ, त्योभन्दा सुन्दर शैलीमा म कविता पर्फर्म गर्न सक्छु भन्ने विश्वास छ,” उनको प्रश्न छ, “त्यसमाथि कविता सुनाउँदा घाटाचाहिँ के भयो ? माध्यम जुन भए पनि मान्छेले अनुभूत गर्नु हो ।” र, उनले लेखेका पनि छन्–
मलाई कसैले देखेन भन्ने दु:ख छैन मलाई
हावाले बाँचेको मान्छेले पनि हावालाई देख्दैन ।
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...