जब केदारको मन भाँडियो...
नेपाली रंगमञ्च व्यावसायिकताउन्मुख छ, दर्शक बाक्लिँदै छन्, नवीन प्रयोगको प्रयत्न भइरहेको छ, नाटकको आयतन फराकिलो बनाइँदै छ, यी सुखद कर्मका एक उज्याला अभियन्ता हुन्, केदार ।
किम्फको १७ औँ संस्करणमा नेपाल पानोरामातर्फ उत्कृष्ट फिक्सन फिल्म घोषित भयो, जुनुको जुत्ता । १३ मिनेट लामो यस फिल्मको केन्द्रमा उल्टो जुत्ता लगाउने चार वर्षकी नानी छिन् । निर्देशक हुन्, केदार श्रेष्ठ । डेब्यु फिल्मबाटै यति प्रतिष्ठित अवार्ड चुमे, विदेशी फेस्टिभलमा पनि सहभागी हुँदै छन् । जबकि केदार फिल्ममेकर नभई रंगकर्मी हुन् । उनलाई पनि यस्तै लाग्छ, “म रगंकर्मी नै हुँ, जुन कथा मञ्चमा देखाउन सकिँदैन, त्यसका लागि फिल्म वा कलाको अन्य माध्यम रोज्छु ।” अघिल्लो वर्ष उनको कास्टिङ निर्देशन र अभिनय रहेको फिल्म कथा ७२ किम्फमा छानिएको थियो ।
नेपाली रंगमञ्च व्यावसायिकताउन्मुख छ, दर्शक बाक्लिँदै छन्, नवीन प्रयोगको प्रयत्न भइरहेको छ, नाटकको आयतन फराकिलो बनाइँदै छ, यी सुखद कर्मका एक उज्याला अभियन्ता हुन्, केदार । एक दशकको सक्रिय रंगकारिताले के दियो ? हिसाब गरेका छैनन् । उनलाई आफ्नो योजना र दायित्व व्यवहारमा उतार्ने चटारो छ । कतिसम्म भने आफ्नै बलबुँतामा खोलेको नाटक घर भत्कँदा पनि विचलित भएनन्, अनवरत लागिरहे, कहिले नाटक खेले, कहिले लेखे, निर्देशन गरे, कार्यशाला चलाए तर कहिले रोकिएनन् । भन्छन्, “यो म आफैँले रोजेको कर्म हो, अनेक कठिनाइ सामना गर्नुपर्छ भन्ने थाहै थियो । त्यसैले संकट पर्दा अत्तालिन्नँ, बरु अझ सामथ्र्य जुटाउन खोज्छु ।” यो सब किन गरिरहेका छन् भने रंगकर्ममा जति आत्मसन्तुष्टि अन्त कतै पाउँदैनन् ।
धादिङ, ज्वालामुखीमा हुर्किए, केदार । गाउँमा आक्कलझुक्कल हुने नाटक खेले । खासमा स्कुल पढ्दा उनको मोह नाटक होइन, बालसाहित्यमा थियो । बालकथा, कविता खुब लेख्थे । पुरानो बालपत्रिका बालकोसेलीको सह - सम्पादक भए, स्कुलमा बालकोसेली अध्ययन समूह खोले । कथा सुन्ने, सुनाउने र लेख्ने साथीहरु भेला गर्थे । उच्च शिक्षाका लागि राजधानी छिरेपछि पनि उनको बालसाहित्य लेखन रोकिएन ।
पत्रकारिता पढ्दै थिए, केही समय अनलाइन र अखबारमा रिर्पोटिङ गरे तर आरोहण गुरुकुलमा नाटक हेरेपछि केदारको मन भाँडियो । उनलाई लागेछ, खासमा मैले गर्नुपर्ने त नाटक पो रहेछ । पहिलो नाटक डल्स हाउस नै तीन पटक हेरे । कारण यस्तो रहेछ, “पहिलो पटक त लाइट हेरेरै दंग परेँ, दोस्रो पटक कथा बुझेँ । तेस्रो पटकमा बल्ल पूरा नाटक बुझेँ । यसले मभित्र उत्साहको सञ्चार गर्यो ।” तर रहर गर्नासाथ नाटक खेल्ने मौका कहाँ पाउनु ? केही समयपछि शैली थिएटरमा जोडिए अनि अभिनय गर्ने अवसर पाए । नाटक थियो, मानुष । भूमिका थियो, जम्माजम्मी ५ मिनेटको । भन्छन्, “तर मलाई त्यही नै सबथोक थियो । दिलोज्यान दिएर अभिनय गरेँ ।”
०६८ मा भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) ले काठमाडौँमा एक महिने नाट्य कार्यशाला चलायो । चर्चित रंगकर्मी एमके रैना मुख्य प्रशिक्षक थिए । यो कार्यशालाले चाहिँ उनमा थिएटर नै गर्नुपर्छ/गर्न सक्छु भन्ने आत्मविश्वास दिलायो । त्यसअगाडि अलमलमा थिए । त्यसकै प्रतिफल हो, थिएटर सेन्टर फर चिल्ड्रेन । शैली थिएटरले गर्ने राष्ट्रिय बालनाटकको महोत्सवको लगातार चार वर्ष संयोजक भएको अनुभव थियो, उनीसँग । त्यसमाथि उनी परे, बालसाहित्यका पारखी तर नेपाली रंगमञ्चमा बालनाटक नगन्य हुन्थे, स्कुलले पनि खास महत्त्व दिएका थिएनन् । यही अभाव पूर्तिको प्रयास थियो, त्यो संस्था । यसबाटै सुन्धारास्थित काठमाडौँ मलमा नाटकघर खोले, ०७१ मा । शैली थिएटरबाट अलग्गिए ।
तिनताका व्यापारिक कम्प्लेक्समा धमाधम मल्टिप्लेक्स हल खुलिरहेका थिए तर नाटक घर कतै थिएन । भन्छन्, “काठमाडौँ मलमा चाहिँ कुनै हल थिएन । त्यसैले हामीले छत भाडामा लिएर नाटक घर सुरु गर्यौँ ।” त्यसमाथि आफ्नै नाटक घर हुँदा भनेजस्तो नाटक गर्न नपाएको पीडा पनि छँदै थियो । यही कारण हुनुपर्छ, बैंकबाट ऋण लिएरै नाटक घर खोले । कार्यशाला गरे, नाटक गरे, साहित्यिक गतिविधि रोजै हुन्थे । बालनाटक प्राथमिकतामा थियो । बिस्तारै दर्शकको भीड बढ्न थाल्यो । सञ्चालन खर्च जुट्दै थियो तर तीन वर्षपछि नाटक घर बन्द गर्नुपर्ने स्थिति आइलाग्यो । जबकि सम्झौता थियो, सात वर्षको ।
काठमाडौँ मलमा नयाँ व्यवस्थापन आएपछि भाडा दोब्बर बनाइयो । केही समयपछि त्यहाँ हल खोल्ने भन्दै उनीहरुलाई हट्न दबाब दिइयो । व्यवस्थापनलाई मनाउने प्रयास गरे तर केही जोर चलेन, ०७४ मा त बन्द नै गर्नुपर्यो । केदार भावुक हुन्छन्, “त्यतिबेला हामीलाई २२ लाख घाटा लाग्यो तर नाटक घर मात्र भत्किएको थियो, संस्था भत्किएको थिएन ।”
नाटक घर नभएपछि समस्या उही, चाहेजस्तो काम गर्ने ठाउँ नै नहुने । अन्त नाटक देखाउँदा भाडा महँगो त हुन्छ नै, स्क्रिप्ट मागेर हैरान । अनेक सास्ती झेल्दै मन्डला थिएटरमा उपियाँको निबन्ध मञ्चन गरे, केही कार्यशाला चलाए । १७ महिना यत्तिकै बित्यो । त्यसपछि केदारको टिमले फेरि नाटक घर खोल्यो, कीर्तिपुरको छुगाउँमा । १८ पुसबाट उनकै निर्देशनमा जामुनको रुख: अ सेमलेस भल्गारिटी मञ्चन हुँदै छ । जबकि नाटक घर खोलेको १० महिना बित्यो ।
उनका अनुसार कीर्तिपुर नाटकका लागि नयाँ ठाउँ हो । त्यसैले यसबीचमा उनीहरुले महोत्सव, कार्यशाला, साहित्यिक गतिविधि, स्थानीयसँग अन्तरक्रिया गरेर नाट्य माहोल सिर्जना गर्दा ढिला भयो । अबचाहिँ दर्शकको अभाव हुन्न भन्ने आशा रहेछ । भन्छन्, “नाटक व्यापारिक हुन सक्दैन, टनाटन पैसा कमाइन्न तर व्यावसायिक बनाउन सकिन्छ । जीवनयापन गर्न धौ–धौ हुन्न । हामी त्यतैतिर अग्रसर छौँ ।”
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...