सुल्तान अफ स्ट्रिङ्स
गिटार मेरो प्यासन, प्रोफेसन मात्र होइन, थेरापी पनि हो ।
भर्खर १५ वर्ष पुग्दै थिए, अनिल शाही । सीपी क्षत्रीसँग गिटार सिक्थे । एक दिन सीपीलाई सोधेछन्, ‘गुरु गिटार राम्ररी बजाउन कति समय लाग्छ ?’
सीपीको जवाफ थियो, ‘दस वर्ष ।’
अनिल घर फर्किए, छटपटी र बेचैनी हुन थाल्यो । त्यति लामो समय कुर्ने हिम्मत थिएन, उनीसँग । रातभर निदाउन सकेनन् । बिहानै सीपीलाई भेटेर कौतूहल पोखेछन्, ‘दिनमा कति घन्टा अभ्यास गर्दा दस वर्ष लाग्ने हो ?’ सीपीले ‘एक घन्टा’ भनेछन् । लगत्तै अनिलले अर्को प्रश्न तेर्साए, ‘त्यसो भए दिनमा दस घन्टा अभ्यास गर्यो भने एक वर्षमा सिकिन्छ त ?’ सीपी मुस्कुराए मात्र ।
गुरुको मुस्कानले ऊर्जा प्रवाह भएछ । अनि सुरु भयो, अनिलको पागलपन । बिहानै गिटार लिएर कौसी जान्थे, खाना र खाजा खान तल ओर्लन्थे, नत्र माथि नै । गिटार बजाएको बजायै । लगातार आठ–दस घन्टा अभ्यास गर्ने । महिनौँ घरबाट निस्किएनन् ।
यत्तिमै सीमित थिएन, उनको साधना । हातमा ढक झुन्ड्याएर गिटार बजाउँथे । पानी र आइसले भरिएको बाल्टीमा हात डुबाउँथे अनि सुन्निएको हातले बजाउँथे । दुई हात सिक्रीले बाँधेरसमेत बजाए । यो कठोर अभ्यासले के दियो ? अनिल सम्झन्छन्, “मैले ९ वर्ष बचाएँ, एक वर्षमा गुरुले चाहेजस्तो बजाउन सक्ने भएँ ।”
तस्बिर : अनिल शाहीको फेसबुक
हुन पनि हात गह्रुँगो बनाएर अभ्यास गरेपछि लामो समयसम्म र स्वछन्द भएर गिटार बजाउने सामर्थ्य मिल्छ । अनिल थप्छन्, “अहिले सम्झँदा आतेस लाग्छ । गिटारप्रति यति मोहित भइसकेको थिएँ कि सिक्न पाए जस्तोसुकै पीडा सहन्थेँ ।” यही कारण हुनुपर्छ, गिटारबाट अनिलले सबथोक कमाए– नाम, दाम र त्योभन्दा धेरै आत्मसन्तुष्टि ।
अनिलकै शब्दमा गिटारबिनाको जीवन कल्पनै गर्न सक्दैनन् । उनले जे–जति जाने, सबै गिटारबाटै । नेपालका एकल गिटारवादकको सूची बनाउने हो भने सम्भवत: पहिलो नम्बरमा अटाउँछन् । कहिल्यै ब्यान्डमा आबद्ध भएनन्, एकल पहिचान बनाए । ३८ वर्ष बितिसकेको छ, उनले गिटार खेलाउन थालेको । कतिले उनलाई माया गरेर भन्ने गर्छन्, ‘सुल्तान अफ स्ट्रिङ्स’ । पूर्वीय र पश्चिमा संगीतलाई ‘फ्युजन’ गरे । गिटारलाई शास्त्रीय संगीतको समीपमा राखे । सिक्दै र नयाँ–नयाँ प्रयोगबाट उत्कृष्ट संगीत सिर्जना गर्न तल्लीन छन् । कन्सर्टमा गिटारको धुनबाट दर्शकलाई झुमाउँदा आफूलाई भाग्यमानी महसुस गर्छन् ।
बाल्यकालमै गिटारप्रति अथाह आशक्ति पैदा हुनुमा अनिलको पारिवारिक माहोलको भूमिका छ ।
अनिलका हजुरबुबा तबलावादक थिए, काकाचाहिँ गिटारिस्ट । सुरुमा उनी तबला र पर्कसनमा बजाउँथे तर १२ वर्ष पुगेपछि काकाको प्रभाव पर्न थाल्यो । टोलका अरु दाइहरु पनि गिटारमा मग्न हुन्थे । उनलाई पनि गिटार नै प्यारो लाग्न थाल्यो तर गिटार थिएन । त्यसैले घरि काकाको, घरि दाइहरुको मागेर बजाउँथे । शिवरात्रिको बेला त बजाउँदा–बजाउँदै दिनरात बित्थ्यो । काठमाडौँका विभिन्न स्थानमा हुने कार्यक्रममा उनको सहभागिता हुन थाल्यो ।
पछि शास्त्रीय संगीत पढ्न वाराणसी, भारत गए । फर्किएर केही समय काठमाडौँ विश्वविद्यालयमा संगीत सिके । तर उनको मुख्य ध्यान गिटारमै थियो, जता गए पनि गिटार छुट्दैनथ्यो । बेलायतको स्कुल अफ अफ्रिकन स्टडिजमा ‘ग्लोबल म्युजिक’ सिके । उनको अनुभव भन्छ, “नसिक्दा सबै थाहा भएजस्तो लाग्ने, सिक्दै गएपछि कहिल्यै नसकिने । संगीतको विशेषता नै यही रहेछ ।”
सन् २००० मा बेलायतस्थित नेपाली दूतावासले अनिललाई बोलायो । त्यहाँ राजा वीरेन्द्र र ऐश्वर्यको भ्रमण हुँदै थियो । राजारानीको स्वागतमा उनले विशेष प्रस्तुति दिए । त्यसबाहेक बेलायतका विभिन्न सहरमा विशिष्ट व्यक्तित्वसामु कन्सर्ट गरे । मेलिनियम डोमको पर्फमेन्स यादगार छ, उनका लागि । सन् २००६ मा ताइवानमा आयोजित ‘साउन्ड अफ ह्युमन वल्र्ड’ प्रतियोगितामा ‘बेस्ट फ्युजन गिटारिस्ट’ अवार्ड जिते, यसमा ७० देशका संगीतकर्मी प्रतिस्पर्धी थिए । त्यसअगावै उनको कम्पोजिसनको ‘प्रीतबिना यौवन...’ गीत हिट भएपछि फिल्मबाट अफरको ओइरो लागेको थियो । भीष्मप्रतीज्ञा, सिउँदो, चेलीजस्ता फिल्मका गीतमा संगीत दिए । त्यतिबेला गीत रेकर्ड गराउन मुम्बई जाने गरिन्थ्यो । उनको संगीतमा अनुराधा पौडवाल, साधना सरगम, सोनु निगम, उदीतनारायण झा आदिले गाएका छन् । भन्छन्, “मुम्बईको माहोल र कलाकारको सान्निध्यले संगीतप्रति प्रतिबद्ध हुन आत्मबल दियो ।” उनका अकोस्टिक फ्युजन, वसन्त ऋतु, फ्युजन तन्त्रलगायत सोलो एल्बम बजारमा आएका छन् ।
‘युरोप टुर’ बाट फर्किएपछि जमलस्थित राष्ट्रिय नाचघरमा पफर्मेन्स गरे । यसलाई अनिल ६ वर्षअगाडि गरेको ‘सुल्तान अफ स्ट्रिङ्स’ कन्सर्टको दोस्रो भाग भन्न रुचाउँछन् । गिटार बजाएरै २–३ घन्टा दर्शक/श्रोतालाई मन्त्रमुग्ध बनाउन माहिर छन् । त्यसैले कन्सर्टमा प्राय: व्यस्त भइरहन्छन् । गिटारिस्ट र कम्पोजरका अलावा गायक पनि हुन्, अनिल । ‘तिम्रा एक शब्द..’, ‘प्रीतबिना यौवन...’, ‘मायाको मात...’ जस्ता उनको स्वरमा सजिएका गीत रुचाएका छन् । केही समययता म्युजिक भिडियो निर्देशनमा पनि सक्रिय छन् । भूकम्पपछि गिटार इन्स्टिच्युटलाई निरन्तरता दिएका छैनन्, नयाँ भवन खोज्दै छन् । अहिले घरमै विशेष कक्षा सञ्चालन गर्छन् । घरमै स्टुडियो छ । भन्छन्, “जीवनमा संगीतबाहेक अरु केही जानिएन, गरिएन । गिटार मेरो प्यासन, प्रोफेसन मात्र होइन, थेरापी पनि हो ।”
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...