विपिनको बोध
इमानदार भएर काम गरुन्जेल चल्ने हो, नत्र कसैले वास्तै गर्दैनन् । झन् कलाकारले त हरेक पटक आफूलाई सिद्ध गर्न सक्नुपर्छ ।
उसै पनि विपिन कार्कीलाई फिल्मबाट मनग्ये प्रस्ताव आउँथे, त्यसमाथि जात्रै जात्रा सुपरहिट भयो । एकसाथ उत्कृष्ट अभिनेताको दुई राष्ट्रिय अवार्ड पाए । प्रसाद रुचाइएपछि फिल्मको ओइरो लागिहाल्यो । प्राय: निर्माता सीधै भन्थे, ‘कति पारिश्रमिक चाहियो भन्नुस्, फिल्मचाहिँ खेल्नुपर्यो ।’ नजिकका साथीभाइ भन्थे, ‘पाएको बेला खेलिहाल, पछि नपाउन सक्छौ ।’ तर जात्रै जात्रापछि उनले जम्मा एउटा फिल्म खेले, सेल्फी किङ । यही फिल्मको डबिङमा व्यस्त अभिनेताले सुनाए, “मलाई पाएजति होइन, चाहेजति फिल्म मात्र खेल्नु छ । चार वर्षमा २० फिल्म खेलेर हराउनु छैन । १० वर्षमा २० राम्रा फिल्म खेल्न पाए पुग्छ ।”
व्यावसायिक सफलता होस् वा अभिनय कौशल, यो समय विपिन अघिल्लो लहरमै आउँछन् । चरित्रलाई जीवन्त बनाउन पटकथा लेखनबाटै समीपमा बस्छन्, निर्देशक/लेखकसँग आफूलाई लागेको कुरा निर्धक्क भन्छन् । हरेक दृश्यमा बहस र छलफल गर्छन् । उनको सिद्धान्त छ, ‘कि निर्देशकले मलाई ‘कन्भिन्स्ड’ गर्नुपर्यो, कि म गर्छु ।’
आफू विश्वस्त नभई निर्देशकले भनेकै भरमा क्यामेरासामु उभिँदैनन् । पात्रलाई स्क्रिप्ट सुहाउँदो बनाउन अनेक खोज र प्रयोग गर्छन् । यो गुण सेल्फी किङमा पनि आत्मसात गरेको ट्रेलरमा छनक पाइन्छ । यसमा हाँस्य कलाकार बनेका छन् ।
सेल्फी किङमा एउटा संवाद छ, ‘यो मुला स्टारडम, फेम भन्ने कुरा छ नि, मुतको न्यानोजस्तो मात्र हो ।’ फिल्मको पात्र मात्र होइन, विपिन स्वयंलाई यस्तै लाग्छ । भन्छन्, “इमानदार भएर काम गरुन्जेल चल्ने हो, नत्र कसैले वास्तै गर्दैनन् । झन् कलाकारले त हरेक पटक आफूलाई सिद्ध गर्न सक्नुपर्छ ।”
सोहीअनुरुपको ऊर्जा र आत्मविश्वास छ, उनमा । यसको स्रोत हो, आरोहण गुरुकुल, जहाँ उनले अभिनय मात्र होइन, जीवनपद्धति पनि सिक्न पाए ।
‘विपिन कार्की’ का रुपमा उनले जे–जति कमाए, त्यसको पहिलो श्रेय गुरुकुललाई नै जान्छ । भन्छन्, “गुरुकुलको बसाइ र सिकाइ साँच्चै स्वर्णिम थियो ।”
तर विपिन उदाउँदै गर्दा गुरुकुल अस्तायो । गुरुकुलका अन्तिम ब्याच हुन्, उनी । त्यहाँसम्म पुर्याएका थिए, कमलमणि नेपालले । उनीहरु एकै ठाउँमा हुर्किए, मोरङको बाहुनी । उमेरले कमलमणि जेठा । चाडबाडमा कमलमणिले नाटक गर्दा विपिन यसो झुल्कन पाउँथे । अभिनयको रस त्यतिबेलाबाटै पलायो । कमलमणि काठमाडौँ आएपछि गुरुकुलसँग जोडिए । एसएलसीपछि विपिन पनि यतै आए । गुरुकुलमा नियमित धाउन थाले, दर्शक बनेर । त्यही क्रममा एक दिन सुनील पोखरेलले ‘मिनी अडिसन’ लिएर सडक नाटक खेलाए ।
पहिलो स्टेज नाटक पनि गुरुकुलकै खेल्न पाए, ताराबाजी लै–लै । रंगमञ्चप्रतिको उनको लगाव पोखरेलले भेउ पाइसकेका थिए । त्यसैले उनले विपिनलाई होस्टेलमै बस्न आमन्त्रण गरे । विपिनलाई त ढुंगा खोज्दा देवता मिलेजस्तो भयो । भलै, त्यसका लागि उनले आकर्षक तलब पाइने जागिरबाट हात धुनु परेको थियो ।
गुरुकुलमा कमलमणिसँगै सौगात मल्ल, भोलाराज सापकोटाजस्ता सिनियरसँग संगत गर्ने मौका मिल्यो । उनीहरुबाटै सिके, ‘अभिनय ट्रिक, टेक्निक र फिलिङ्सको सन्तुलित मिश्रण हो ।’ यही मन्त्र शिरोधार्य गर्दै बुख्याँचा, सेतो कपाल, अटलबहादुरको आतंकलगायत नाटक खेले । अभिनय भोक बढ्दै थियो, गुरुकुल हठात बन्द भएर तड्पिरहेका बेला निगम श्रेष्ठले छड्केमा अफर गरे । सौगात, दयाहाङ राई, अर्पण थापा, रोविन तामाङ, नम्रता श्रेष्ठलगायत गिनेचुनेका कलाकारको भीड थियो तर उनी आफूलाई ‘मार्क’ गराउन सफल भए । चरित्रको नाम थियो, बिन्दु, जो चितवनमा गुन्डागर्दी गर्छ । ख्याउटे तर सन्काहा । पहेँलो कपाल, दाह्री पनि रंग्याएको । हुलिया र आनीबानी दुवै कोणबाट नेपाली सिनेमामा करिब नदेखिएको पात्र थियो, बिन्दु ।
छड्केपछि तान्डवमा जँड्याहा ड्राइभर बने, सुन्तलीमा गाउँको एक्लो चोर । कालो पोथीमा दलित मुगेली । साना भए पनि यी पात्रलाई विश्वसनीयता दिलाउन सक्दो मिहिनेत गरे । कालो पोथीका लागि दुई महिना मुगुमै बिताए । चुनौतीपूर्ण भूमिकाको प्यास मेटिएको थिएन । तीन वर्ष यत्तिकै बित्यो । जब पशुपतिप्रसादमा भष्मे डन बने, एकाएक ‘हाइप’ पाए । आफैँले डिजाइन गरेको यो चरित्रले उनलाई करिअरको अर्को उचाइ दिलायो । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । लगत्तै आएको जात्राको फणीन्द्र तिम्सिनाले लोकप्रियताको दायरा अझ फराकिलो बनायो । उनी पारिश्रमिक डिमान्ड गर्ने सामर्थ्य राख्न थाले । भन्छन्, “पशुपतिप्रसाद अगाडि फिल्म नपाएर छटपटी हुन्थ्यो । त्यसपछि फिल्म टन्नै आउन थाले, राम्रा छान्न हैरान हुन थाल्यो ।” यसरी रोजेर गरेका फिल्ममा पर्छन्, लुट २, लालपुर्जा, नाका, हरि आदि ।
विपिनले मुख्य भूमिकामा अभिनय गरेका फिल्म एक दर्जन पुग्दै छन् । उनले झन्डै ५० वटा फिल्म अस्वीकार गरे । विषय, चरित्र, निर्देशकदेखि पारिश्रमिकसम्म ख्याल गरेर फिल्ममा अनुबन्ध हुन्छन् । फिल्म मन पर्यो भने पैसा उनको प्राथमिकतामा पर्दैन । जस्तो, हरिमा आफैँले खर्च गरे । जात्रै जात्रामा १५ लाख लिए । तर सेल्फी किङमा त्यति लिएनन् किनभने यो व्यापारिक नियत राखेर बनाइएको कथित ‘मसलेदार’ फिल्म होइन । अभिनेतालाई उपलब्ध हुने दायरामा बसेर फिल्म बुलन्द बनाउन सक्दो प्रयत्न गर्छन् । तैपनि उनलाई लाग्दो रहेछ, “मेरा फिल्म उत्कृष्ट छैनन्, सिर्फ नराम्रोमध्ये कम नराम्रो फिल्म खेलिरहेको छु । अझ चुनौतीपूर्ण फिल्मको खोजीमा छु ।”
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...