घरेलु मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय वान डेमा किन चलेन नेपालको ब्याटिङ ?
क्रिकेटमा खेल जित्न आत्मविश्वास र घरेलु मैदान मात्रले पुग्दैन, आवश्यक रन पनि चाहिन्छ । त्यसैमा चुक्दा नेपाल ओमानसँग पराजित हुन पुग्यो ।
%20(1).jpg&w=900&height=601)
आईसीसी क्रिकेट विश्वकप लिग २ मा ओमानविरुद्ध प्रतिस्पर्धा गर्नुअघि नेपाली टोली खेल जित्नेमा ढुक्क थियो । त्यो ढुक्कपन निराधार पनि थिएन । घरेलु भूमिमा पहिलो पटक वान डे अन्तर्राष्ट्रिय खेल्न लागेको नेपाली टोलीमा अभूतपूर्व आत्मविश्वास पनि थियो । त्यसमाथि कीर्तिपुरको त्रिवि मैदान नेपाली क्रिकेटका लागि वरदानझैँ थियो ।
तर क्रिकेटमा खेल जित्न आत्मविश्वास र घरेलु मैदान मात्रले पुग्दैन, आवश्यक रन पनि चाहिन्छ । त्यसैमा चुक्दा नेपाल ओमानसँग १८ रनले पराजित हुन पुग्यो । त्यसो त नेपालले यसअघि खेलिएको ६ वटा ५० ओभरमा म्याचमा नेपाललाई ओमानले पराजित गरेको थियो ।
खेलअघि कप्तान ज्ञानेन्द्र मल्लले टोलीमा डिप (तल्लो क्रम) सम्म ब्याटिङ गर्ने क्षमतावान क्रिकेटर भएको दाबी गरेका थिए । ओपनिङ कसले गर्छ त भन्ने प्रश्नमा उनको सटिक जवाफ थियो, ‘टोलीमा रहेका ११ जना नै ओपनिङ गर्न सक्षम छन् । यही खेलाडीले नै ओपनिङ गर्नुपर्छ भन्ने छैन ।’
ओमानसँग २२ माघमा भएको खेलमा नभन्दै कप्तान मल्लले भनाइ सही भयो । ओपनिङ गर्न आएका मल्ल १ र पूर्वकप्तान पारस खड्का ३ रनमै पविलियन फर्किए । यस्तो ओपनिङ त अन्य ९ जना ब्याट्सम्यानले पनि गर्न सक्ने नै भए ।
.jpg)
खेलपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान मल्लले ब्याटिङ नचलेकै कारण टोली पराजित हुन पुगेको स्वीकारे । भने, “पारस र मैले राम्रो पार्टनरसिप दिएको भए तल्लो क्रमका ब्याट्सम्यानलाई दबाब हुन्थेन । तर हामी चाँडै आउट भएपछि उनीहरू पनि दबाबमा आए । अनुभवको कमीले गर्दा दबाबमा खेल्न गाह्रो भयो ।”
सदाझैँ नेपाली टोलीको बलियो पक्ष यस पटक पनि बलिङ नै देखियो । बलरहरूको मिहिनेतले ओमानलाई कम स्कोरमा रोक्न सके पनि नेपाली ब्याट्सम्यान नचल्दा टोली पराजित हुन पुग्यो । डेथ ओभरमा ओमानका ब्याट्सम्यानहरू पूरै हावी भए । अन्तिम १० ओभरमा ओमानले ७० भन्दा बढी रन प्रहार गर्यो । ३९ औँ ओभरमा ६ विकेट गुमाएर १ सय १७ रन जोडेको ओमानले निर्धारित ५० ओभर सकिँदा थप ३ विकेट गुमाएर ८० रन थपेको थियो । डेथ ओभरमा नेपालले ओमानलाई दबाबमा राख्न सकेको भए र कम योगफलमा रोक्न सक्दा जवाफी ब्याटिङका लागि दबाब झेल्नुपर्ने थिएन । तर २२ माघको दिन नेपालका लागि अफापसिद्ध भयो ।
बलिङ चले पनि ब्याटिङ र फिल्डिङमा नेपाली पक्ष नराम्ररी चुक्यो । मिस फिल्डका कारण केही रन स्कोरबोर्डमा चढ्यो । नेपालको विकेट निरन्तरको अन्तरालमा पतन भइराख्यो तर ओमानका खेलाडी विकेटमा टिकिराखे । सन्दीप गौड र महम्मद नदिमको साझेदारी समयमै तोड्न नसक्नु पनि नेपालको हारको मुख्य कारक बन्यो । त्यसमाथि नेपालले अन्तिम ४ ओभरमा ४५ रन खर्चियो, जुन निकै महँगो साबित भयो । खेलमा ४ विकेट लिएका करण केसीले पनि अन्तिम ओभरमा १७ रन खर्चिए ।
५० ओभरको क्रिकेटमा १ सय ९८ रनको लक्ष्य त्यति कठिन हैन । टस जितेर पहिले फिल्डिङ गर्ने कप्तान मल्लको निर्णयलाई नेपाली बलरहरूले सही साबित गर्दै ओमानलाई १ सय ९७ रन मात्रै जोड्न दिए । तर ब्याटिङ नचलेपछि घरेलु मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय वान डेमा नेपालले हारको स्वाद चाख्यो ।
शीर्ष क्रमको ब्याटिङ नचलेपछि मध्यक्रममा आएका शरद भेषावकर ५५ रन र दीपेन्द्रसिंह ऐरी ३६ रनले केही आशा जगाए पनि त्यो पर्याप्त भएन । आश गरिएका ब्याट्सम्यानको गैरजिम्मेवार ब्याटिङ नै नेपालको हारको प्रमुख कारक बन्यो । अब बाँकी रहेका खेलमा कमजोरीलाई सुधार्न नसके नेपालको विश्वकप छनोटको सम्भावना लिग टुबाटै अन्त्य हुन बेर छैन ।
.jpg)
विश्वकपको बाटो
सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि यो लिग रोडम्यापसमेत हो । आईसीसीले सन् २०१८ को बैठकबाट विश्व क्रिकेटमा नयाँ साइकल सुरु गर्ने निर्णय गरेको थियो । रोडम्यापका रूपमा रहेको यस साइकलबाट विभिन्न चरणका छनोट खेल्दै जम्मा १० टिम विश्वकपमा छनोटमा पुग्नेछन् ।
विश्वकपको यो लामो र घुमाउरो तालिका नेपाली क्रिकेट विकासका लागि भने महत्त्वपूर्ण मानिएको छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता अहिलेसम्म जम्मा ६ वटा मात्र वान डे खेल्न पाएको नेपालले जनवरी २०२२ सम्म थप ३६ वटा वान डे म्याच खेल्न पाउनेछ । त्यति हुँदा नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमै चलायमान हुनेमा कुनै शंका छैन ।
लिग २ मा नेपालसहित कुल ७ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । सन् २०१८ मा एक दिवसीय मान्यता पाएका नेपालसहित संयुक्त अरब इमिरेट्स युएई र स्कटल्यान्ड अनि २०१९ मा भएको आईसीसी डिभिजन २ को उत्कृष्ट चार राष्ट्र अमेरिका, ओमान, नामिबिया र पपुवा न्यू गिनीले लिग २ खेलिरहेका छन् । यी सात वटै टिमसँग अहिले एक दिवसीय मान्यता छ ।
.jpg)
सन् २०२२ सम्म हुने क्रिकेट विश्वकप लिग २ बाट शीर्ष ३ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछन् । त्यहाँ १३ राष्ट्रको सुपर लिगका पुछारका ५ टिम पनि हुनेछन् । यस्तै, लिग २ को पुछारका ४ टिमले लिग च्यालेन्जको शीर्ष २ टिमसहितको प्लेअफ खेल्नेछन् । त्यसबाट पनि २ टिम ग्लोबल क्वालिफायर पुग्नेछन् । त्यसमा जम्मा १० टिमबीच प्रतिस्पर्धा हुनेछ । त्यसको शीर्षमा २ मा अटाउने टोली सन् २०२३ को विश्वकपमा पुग्नेछन् ।
नेपालको लागि यो बाटो त्यति सहज भने पक्कै छैन । लिग २ मा नेपालले खेलिसकेका टिम भए पनि चुनौतीपूर्ण नै छ । यदि नेपाल शीर्ष ३ मा परे सीधै ग्लोबल क्वालिफायरमा पुग्नेछ ।
अन्तिम ४ मा परे च्यालेन्जका उत्कृष्ट २ टिमसँग खेल्दै पुन: ग्लोबल क्वालिफायर पुग्ने अवसर बाँकी नै हुनेछ । च्यालेन्ज लिगमा क्यानडा, युगान्डा, मलेसिया, हङकङ, सिंगापुर, केन्याजस्ता राष्ट्र छन् । नेपालले सीधै विश्वकप छनोटमा पुग्न लिग–२ को अंक तालिकामा शीर्ष तीनभित्र पर्नुपर्नेछ । अन्यथा प्लेअफको घुमाउरो बाटो तय गर्नुको विकल्प छैन ।
प्लेअफमा शीर्ष दुईमा परे ग्लोबल क्वालिफायर पुग्नेछ । प्लेअफमा क्रिकेट विश्वकप लिग–२ का तलका चार राष्ट्र र क्रिकेट वर्ल्डकप च्यालेन्जका शीर्ष दुई राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । त्यहाँँ आईसीसीका १२ पूर्ण सदस्य र नेदरल्यान्ड्ससहित १३ टिमबीच हुने सुपर लिगको बटम ५ टिम पनि हुनेछ । टेस्ट मान्यताप्राप्त राष्ट्र पनि त्यहाँ हुनेछन् । यस्तोमा नेपालको विश्वकपको सपनाले थप चुनौती बेहोर्नेमा कुनै शंका छैन ।
यी तगारा हटाउनका लागि एक मात्र उपाय भनेको घरेलु मैदानमा हुने लिग २ को बाँकी सबै खेल जित्नु नै हो ।