मुग्लान छाडेर स्वदेश फिर्ता हुनेहरूमाथि सीमामै काँटाकिला
काम गरिरहेका कम्पनी बन्द भएसँगै मालिकले धपाउन थालेपछि मुग्लान छाडेर स्वदेश फिर्ता हुनेहरूमाथि राज्यको व्यवहार
नागरिकको अपेक्षामा खरो उत्रिएलान् जनप्रतिनिधि ?
लक्ष्मी परियार, ३४, नवलपुर हुप्सेकोटको सुकुम्बासी बस्तीमा बस्छिन् । पति र उनी गिट्टी कुट्ने काम गर्छन् । ५ जनाको परिवार छ । कोभिड–१९ को प्रभावले उनीहरू घरमै बस्न बाध्य छन् । खोलामा गिटी कुटेर बिहान–बेलुकाको छाक जोडिरहेको यो परिवार सरकारले केही राहत केही देला कि भन्ने आशमा छ । लक्ष्मी भन्छिन्, “राहत दिन्छ भनी सुनेकी छु तर अहिलेसम्म पाएकी छैन । एक पाथी कनिका छ, त्यसैको खोले बनाएर गुजारा चलिरहेको छ ।”
लक्ष्मी त एक प्रतिनिधि पात्र मात्र हुन् । यहाँ उनीजस्तै करिब १ सय ४० परिवार बस्छन् । सबैजसो स्थानीय सरकारले केही सहयोग गर्ला भनेर आशमा छन् । अरू बेला पनि भरपेट खाना खान नपाउने यी नागकिलाई कोभिड–१९ सँग लड्न र स्वस्थ भएर बस्न मास्क, स्यानिटाइजर, पन्जा लगाऊ भन्नु विलासिताका कुराजस्तै हुन् ।
स्वास्थ्यविज्ञका अनुसार विश्वका कोरोना संक्रमितलाई अध्ययन गर्दा नेपाल अहिले पहिलो चरणबाट दोस्रो चरणमा जाने क्रममा छ । पहिलोमा विदेशबाट आएका कोरोना संक्रमित भेटिएका छन् भने दोस्रोमा उनीहरूका परिवार र इष्टमित्र तथा तेस्रोमा समुदायमा फैलिने गर्छ । चौथो चरणसम्म पुग्दा महामारीको रूप लिइसक्छ ।
गत डिसेम्बर अन्त्यमा चीनको वुहान सहरमा देखा परेको कोभिड–१९ का कारण ११ चैतदेखि नेपाल लकडाउनमा छ । सरकारले सुरुमा एक साताका लागि गरेको लकडाउन २५ चैतसम्मलाई लम्याइएको हो । लकडाउनका कारण देश पूरै बन्द छ । नागरिकले सहज रूपमा पर्याप्त खाद्यान्न पाएका छैनन् ।
घरघरमा सिंहदरबारको उपमा पाएको स्थानीय सरकारको अहिले परीक्षा चलिरहेको छ । निर्वाचित जनप्रतिनिधिले नागरिकले अपेक्षा गरेअनुरूप काम गर्लान् ? खाद्यान्नको सहज आपूर्ति, फोहोर संकलन र पानीको व्यवस्था, ज्यालादारीका लागि राहत र विदेशबाट आएका नेपालीको लगत संकलन गरी अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने अभिभारा यिनैको काँधमा छ ।
यो पनि पढ्नुस
काम गरिरहेका कम्पनी बन्द भएसँगै मालिकले धपाउन थालेपछि मुग्लान छाडेर स्वदेश फिर्ता हुनेहरूमाथि राज्यको व्यवहार
भद्रगोल महानगर
काठमाडौँ महानगरका अनुसार ३२ वटै वडामा कोरोना भाइरससँग लड्न स्थानीय सरकारले कारबाही अगाडि बढाइसकेको छ । तर अत्यावश्यक कामजस्तो सदाझैँ घरघरको फोहोर संकलन समयमै हुन सकेको छैन ।
बानेश्वरकी सीमा खनाल भन्छिन्, “कोरोनाले भन्दा पनि हैजाले मरिएलाजस्तो डर छ । १६ दिनपछि बल्ल आज फोहोर उठाउन आए ।”
सिसडोल विवादका कारण २ दिन फोहोर नउठे पनि अहिले त्यस्तो केही नभएको दाबी गर्छन्, महानगरका प्रवक्ता ईश्वरमान डंगोल । भन्छन्, “निजी क्षेत्रका फोहोर उठाउनेहरू पनि भाइरसका कारण छुट्टीमा छन् ।”
त्यसो त नागरिकलाई राहत दिन महानगरले १० करोडको आपतकालीन कोष खडा गरेको छ । यस्तै, वडालाई साना, मझौला र ठूला गरी २ लाख, ३ लाख र ४ लाख राहत कोष दिएको छ ।
गृह मन्त्रालयले १६ चैतमै स्थानीय तहले नै सहज खाद्य आपूर्तिदेखि रोजगारी अभावमा गुजारा चलाउन नसक्नेको लगत संकलन गरी ४ सदस्य र त्यसभन्दा बढी रहेको परिवारका लागि दुई प्रकारको राहत प्याकेज बनाउन निर्देशन दिइसकेको छ । महानगरले अहिलेसम्म गुजारा चलाउन नसक्ने परिवारको लगत टिप्दै छ । कतिपय नगरपालिका र गाउँपालिकाले नागरिक पहिचान गरी राहत बाँडिसकेका छन् ।
सरकारले लक्षित नागरिक आउन नसक्ने भएकाले उनीहरूसमक्ष आफैँ पुगेर राहत देऊ भनिसकेको छ । डंगोल भन्छन्, “गलत मानिसको हातमा राहत नपरोस् भनेर हो । वडाको विवरण पाएपछि दिइहाल्छौँ । त्यस्ता मानिसले घरधनीलाई भन्ने र घरधनीले वडालाई नाम सिफारिस गरिदिएपछि हामी राहत दिन्छौँ ।”
१६ चैतमै भाइरसबारे सम्पूर्ण जानकारी दिन सरकारले ‘हाम्रो स्वास्थ्य एप’ ल्यायो । एपमा कोभिड–१९ बारे जानकारीका साथै आफू संक्रमित हो कि होइन भनेर अनलाइनमै फारम भर्न मिल्छ । डंगोल घरबाटै कोरोना संक्रमित भए–नभएको पत्ता लगाउने बताउँछन् । भाइरसबारे पूर्ण जानकारी राखे पनि एप राम्ररी चल्दैन । एप नै नचलेपछि नागरिक भाइरस संक्रमित भए–नभएबारे कसरी थाहा पाउने !
यस्तै, सम्पूर्ण नेपालीले स्मार्ट फोन प्रयोग गर्दैनन् । गरे पनि सबै ठाउँमा इन्टरनेटको सुविधा छैन । जनस्तरमै गएर तथ्यांक लिन सम्भव नभएको डंगोल सुनाउँछन् । भन्छन्, “सर्भे गर्ने कुरा भएको थियो तर यस्तो बेला सम्भव हुँदैन भनियो ।”
कतिपय स्थानीय तहलाई एपबारे जानकारी नै छैन । हेटौँडा उपमहानगर आईटी विभागका कर्मचारी एपबारे जानकारी नभएको बताउँछन् । भन्छन्, “एपबारे थाहा भएन । १७ चैतदेखि नै सम्पूर्ण सरकारी कार्यालयको आधिकारिक वेबसाइटको सर्भर क्र्यास छ । अहिलेसम्म बनाइदिएको छैन ।” ३ दिन बितिसक्दा पनि यसलाई सुचारु गर्न जिम्मेवार निकाय लागिपरेको देखिन्न ।
यो पनि पढ्नुस
विश्वभर कोरोना भाइरस संक्रमणका कारण ठूलो जनधनको क्षति भइरहेका बेला नेपालमा पनि सम्भावित संक्रमणबाट बँच्न विभिन्न तयारी गरिएको छ । तर के ती तयारीहरू पर्याप्त छन् ? प्रदेशहरूमा सम्भावित संक्रमण रोकथामका लागि कस्तो तयारी छ ?
हेटौँडा उपमहानगरले विदेशबाट फर्केर आएकाको लगत राख्न थालेको प्रमुख हरिबहादुर महतको दाबी छ । उनले विपद् व्यवस्थापनका लागि न्यूनतम ७५ लाख राहत कोष छुट्याएको बताउँछन् ।
महतका अनुसार नागरिकहरू घरघरमै क्वारेन्टाइनमा बसेका छन् । विदेशबाट आएकालाई वडा–११ र १९ मा क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ । अहिलेसम्म १ सय ४७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै, ज्यालादारीबाट घर चलाइरहेकालाई राहत बाँडिरहेको उनी सुनाउँछन् ।
हेटौँडा, बुद्धटोल बस्दै आएका हरि ढकाल खुद्रा व्यापारी एवं सामाजिक कार्यकर्ता हुन् । वडाले राहत बाँडेको उनलाई खासै थाहा छैन । भन्छन्, “अन्य ठाउँमा बाँडेको भए थाहा भएन । यहाँ त बाँडेको छैन । हिजोदेखि हामी वडासँग मिलेर बल्ल तथ्यांक लिँदै छौँ । यस भेगमा मात्रै १८ जना छन् । तथ्यांक लिन उपमहानगरलाई १० क्षेत्रमा बाँडिएको छ । २ दिनमा सम्पूर्ण तथ्यांक लिएर राहत बाँड्ने योजना रहेको उनी बताउँछन् ।
ललितपुर महानगरले लकडाउनको पालना गराउन नागरिकलाई सुसूचित गरिरहेको दाबी गर्छिन्, उपप्रमुख गीता सत्याल । यस्तै, कोही भोको पेट नरहून् भनेर करिब ४ सय ७० जनालाई राहत बाँड्ने तयारी छ । नागरिकलाई सचेत गराएकाले ललितपुर महानगरमा फोहोरको समस्या नरहेको उनको दाबी छ । भन्छिन्, “ललितपुरको सडकमा तपाईं फोहोर भेटाउनुहुन्न ।” ललितपुरले विपद् व्यवस्थापनका लागि ५० लाख छुट्याएको छ । अर्को ५० लाख थपेर १ करोडको बजेट बनाएको छ ।
यो पनि पढ्नुस
गाउँले भन्छन् : “खुट्टै ढोग्दा पनि क्वारेन्टाइनमा बस्न मानेनन् । उनीहरूका कारण अहिले सिंगो गाउँ जोखिममा छ ।”
संक्रमितको लगत संकलन
फ्रान्सबाट आएकी एक युवती भाइरस संक्रमित भएपछि उनको यात्रा विवरण खोतल्न जनस्तरबाटै आवाज उठिरहेको छ । चीनमा संक्रमितको परीक्षण र संक्रमितसँगै संसर्गमा रहेका परिवार र अन्य शंकास्पद व्यक्तिमाथि पनि परीक्षण गरेकाले चीन छिट्टै महामारीबाट बाहिर निस्कन सकेको थियो । यस्तोमा स्थानीय सरकारले विदेश र विशेषगरी संक्रमित क्षेत्रबाट स्वदेश फर्केका नागरिकको लगत राख्न सके भाइरसको भयावहबाट बच्न सजिलो हुन्थ्यो ।
अर्घाखाँचीको मालारानी गाउँपालिका, डडेल्धुराको भागेश्वर गाउँपालिका र मोरङको विराटनगर महानगरपालिकाले विदेशबाट फर्केका नागरिकको लगत राखेका छन् । व्यक्तिको अवस्था हेरी कसैलाई घरमा त कसैलाई वडा कार्यालयमा क्वारेन्टाइनमा राखेका छन् ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीका अनुसार १५ माघदेखि नै विराटनगर–जोगबनी सीमा क्षेत्रमा हेल्थ डेस्क राखिएको छ । महानगरले १५ फागुनदेखि थर्मल स्क्यानिङ सुरु गरेको थियो । भारतीय सीमानाकासँग जोडिएकाले रोग सजिलै भित्रिन सक्छ भनेर हवाई र स्थल मार्ग दुवैबाट विभिन्न देशबाट आएका नागरिकको लगत राखिरहेको छ । पराजुली भन्छन्, “स्थल मार्गबाट भारत हुँदै आउनेको संख्या अझै जारी छ । उनीहरूलाई क्वारेन्टाइनमा राखिरहेका छौँ । अहिलेसम्म २ सय ९० जना घरमै क्वारेन्टाइनमा बसिरहेका छन् ।”
हरेक वडामा ५/६ जना स्वयंसेविका खटाइएका हुन्छन् । विराटनगरका सबै वडाका डेढ सय स्वयंसेविकालाई कोरोनाबारे प्रशिक्षण दिएको पराजुली जानकारी दिन्छन् । यस्तै, कोरोना संक्रमितको आशंका लागेमा उपचार गर्न ३ जना डाक्टरलाई फोकल पर्सन तोकिएको छ ।
अतिथि सदन, मारवाडी सेवा सदन, काली सेवा सदनलगायतका ठाउँमा क्वारेन्टाइनका लागि २ सय बेड छुट्याइएको छ । अहिलेसम्म संक्रमितको आशंकामा ६ जनाको स्वाब लिएर महानगरले ल्याबमा टेस्ट गर्न पठाएको छ । रोजगारीबिना गुजारा गर्न नसक्ने श्रमजीवीको लगत भने यसले पनि बल्ल राख्दै छ ।
पराजुलीका अनुसार राहत वितरण लिने नागरिक १५ हजारदेखि २० हजारको बीचमा हुनेछन् । यसका लागि १ करोड छुट्याइएको छ । भन्छन्, “मेरो एक वर्षको तलब दिँदै छु भने अन्य जनप्रतिनिधिले एक महिनाको दिनुभएको छ । यस्तोमा संघ र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्छ ।”
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...