बिरामी छुनै मान्दैनन् स्वास्थ्यकर्मी
कोरोना संक्रमित बिरामी स्वास्थ्यकर्मीबाटै अमानवीय व्यवहार झेल्न बाध्य
संक्रमित हुनेबित्तिकै आफन्त र छिमेकीले गर्ने व्यवहार नै परिवर्तन भयो । आज कोठामा एक्लै थुनिएर बस्नु पर्दा उनलाई ठूलै अपराध गरेजस्तै बोध हुन्छ ।
कैलालीको धनगढी उपमहानगरपालिका– ५ का अमृत शाही (३४) लाई १५ चैतमा कोरोना संक्रमण पुष्टि भयो । आइसोलेसनमा भर्ना भएका अमृतलाई अलग्गै कोठामा सारियो । दुई दिनसम्म बाहिरबाट ताला लगाएर राखियो । त्यसपछि अस्पतालको छुट्टै भवनको माथिल्लो तलामा सारियो । त्यहाँ उनी एक्लै छन् । अस्पताल बसेको ११ दिन बितिसक्यो । यी दिनमा उनले धेरै कुरा सम्झिए– घर, परिवार, साथीसंगी, परदेश आदि–इत्यादि । त्योभन्दा बढी सम्झिए, काखे छोरी अवन्तिकालाई ।
अमृतका दिन यसरी नै बित्दै थिए । २२ चैतमा धनगढीमा फेरि अर्को खबर आयो– सुदूरपश्चिमका तीन जनामा कोरोना पोजेटिभ । १४ चैतमा भारतबाट फर्किएका कैलालीका २१ वर्षीय र कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखियो । त्यसै दिनको रिपोर्टमा यसअघि संक्रमित भएका धनगढीका ३४ वर्षीय पुरुषका आफन्त पनि त्यसबाट जोगिन सकेनन् ।
त्यो खबर अमृतले पनि सुने । त्यसमध्येकी एक थिइन्, उनकी भाउजू । परिवारका अर्का व्यक्ति पनि संक्रमित भएको खबर सुनेपछि अमृत तनावमा छन् । “उच्च मनोबलका साथ कोरोनासँग लडिरहेको थिएँ,” भन्छन्, “घरकै मान्छे संक्रमित भएपछि कमजोर बनेँ, घरमा अरुलाई पनि संक्रमण हुने हो कि भन्ने डर थियो, त्यही भयो ।”
अमृतकी भाउजूमा देखिएको संक्रमणलाई मेडिकल भाषामा 'लोकल ट्रान्समिसन' भनिन्छ । यसरी एक व्यक्तिबाट अर्कोमा सरेको घटना नेपालमा यो पहिलो हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले ‘लोकल ट्रान्समिसन’ लाई कोरोना संक्रमणको दोस्रो चरण मानेको छ ।
यो पनि पढ्नुस
कोरोना संक्रमित बिरामी स्वास्थ्यकर्मीबाटै अमानवीय व्यवहार झेल्न बाध्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक संक्रमितबाट अर्को व्यक्तिमा सर्नु महामारीपूर्वको अवस्था भएको दाबी गरे । यसबाट बच्न सजिलो र भरपर्दो उपाय हो, दूरी कायम गर्नु । उनीसहित संक्रमितको संख्या ९ पुगेको छ । तीमध्ये एक युवा निको भएर घर फर्किसकेका छन् ।
०७६ मंसिरमा दुई महिनाको छुट्टी मनाएर दुबई फर्किएका अमृत चार महिनापछि ८ चैत्रमा घर फर्किए । यसपालि भने कोरोना संक्रमण फैलिएपछि कम्पनीले बिदा दिएको थियो । खुसीसाथ घर फर्किएका अमृतले छोरीसँग दुई दिन पनि समय बिताउन पाएनन् । आएको भोलिपल्टै हल्का ज्वरो आयो । खोकी लाग्यो । श्रीमतीले अस्पताल जान सुझाइन् ।
उनी ७ चैत फ्लाइ इमिरेट्सको विमानमार्फत दुबईबाट भारतको दिल्ली हुँदै काठमाडौँ आए । त्यो दिन धापासीस्थित मामाघरमा बसे । भोलिपल्ट ८ चैत दिउँसो २ बजेको विमानबाट नेपालगन्ज पुगे । त्यहाँबाट अटो चढेर कोहलपुर र त्यहाँबाट माइक्रो चढेर राती घर ।
११ गते मामाको छोराको मोटरसाइकलमा राखेर सेती प्रादेशिक अस्पतालमा पुर्याए । त्यहाँ उनको छातीको एक्सरे गरियो । रगत र पिसाब पनि जाँचियो । तर, सबै नर्मल देखियो । विदेशबाट आएको भनेपछि नाक र घाँटीबाट र्याल निकालेर काठमाडौँ जाँच गर्न पठाइयो । उनलाई आइसोलेसन कक्षमा राखियो । उनीसहित १० जनालाई त्यो दिन आइसोलेसनमा राखिएको थियो ।
यो पनि पढ्नुस
आइसोलेसन, क्वारेन्टाइन, कोरोना हेल्थ डेस्कमा आवश्यक सुरक्षा सामग्रीसमेत नपाएर रेनकोट लगाएर खटेका सुत्केरी आमाहरू घर फर्किएर आफ्ना बच्चालाई दूध चुसाउन सक्लान् ?
अस्पलात बसेको चार दिनपछि मात्रै रिपोर्ट आयो, कोरोना पोजेटिभ । अस्पतालले रिपोर्टबारे जानकारी दिएको थिएन । श्रीमतीले फोन गरेपछि मात्रै अमृतले थाहा पाए । त्यो सुन्दा उनी छाँगाबाट खसेजस्तै भए । उनले बाटोमा सकेसम्म सतर्कता अपनाएका थिए । मास्क लगाइरहेकै थिए । उतै किनेको स्प्रे स्यानिटाइजर पनि हातमा दलिरहन्थे ।
उनलाई संक्रमण देखिनेबित्तिकै अस्पतालको शवगृहछेउको छुट्टै कोठामा सारिएको थियो । ताल्चा लगाइएको च्यानल गेटबाहिरबाट डाक्टर र नर्सले चिहाउँदा उनलाई नरमाइलो अनुभूति हुन्थ्यो । कोरोनाको डर–त्रासमा रहेका स्वास्थ्यकर्मी उनी नजिक जान भने डराउथे । उनलाई कोठामा एक्लै थुनिएर बस्नु पर्दा ठूलै अपराध गरेजस्तै बोध हुन्छ । संक्रमित हुनेबित्तिकै आफन्त र छिमेकीले गर्ने व्यवहार नै परिवर्तन भयो ।
परिवारलाई देख्नेबित्तिकै गाउँका केही मान्छे टाढैबाट भाग्ने गरेको सुन्दा नै नमीठो लागेको दुखेसो पोख्छन्, उनी । “धेरै जना घरअगाडिको सार्वजनिक बाटो हिँड्न पनि छाडेका रहेछन्,” उनी भन्छन्, “यो रोग परिवार, आफन्त र समाजबाट टाढा बनाउने खालको रहेछ ।” कोरोना संक्रमित व्यक्ति र परिवारले चुकाउनु परेको सामाजिक मूल्यको पीडा शब्दातीत रहेको अमृतको भनाइबाट थाहा हुन्छ ।
यो पनि पढ्नुस
बिरामी जाँच्नुपर्ने डाक्टरद्वारा कोरोना आशंकामा बिरामीलाई घरमै बस्न सुझाव
उनमा कोरोना संक्रमणको पुष्टि भएको दिन आफन्तको घरमा सन्त्रासले चुलोसम्म बलेन । टोलवासीले पाकेको खानासमेत खाएनन् । श्रीमती र छोरीसहित परिवारका ८ जनालाई स्वाब परीक्षणका लागि अस्पताल लगियो ।
उनीहरूलाई दुई दिन अस्पतालको क्वारेन्टाइनमा राखियो । रिपोर्ट नआउँदै घरकै क्वारेन्टाइनमा बस्ने सर्तमा अस्पतालबाट फिर्ती भए । उनीहरू अस्पतालमा बस्दा गोठका वस्तुभाउ पनि भोकै भए । आफन्त र टोलवासीले घरगोठमा जाने हिम्मतसमेत गर्न सकेनन् । २२ चैतमा संक्रमितको परिवारका ७ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालका कोरोना फोकल पर्सन जगदीश जोशीले बताए ।
अस्पताल आउनेबित्तिकै चेकअप गरेर उनलाई सिटामोल दिइएको थियो । कोरोना पुष्टि हुनेबित्तिकै डाक्टर र नर्स उनलाई कस्तो छ भनी सोध्न पनि आएका थिएनन् । “परिवार क्वारेन्टाइनमा बसेपछि आफन्तले खाना ल्याइदिन्थे, अहिले अस्पतालले नै दिइरहेको छ,” भन्छन्, “निको हुँदै छु, छिट्टै बाहिर निस्कनेछु ।”
उनको पुन: परीक्षण गरिएको नमुनाको रिपोर्ट भने पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...