रोगभन्दा भयानक बन्दै छ रोजगारी संकट [सम्पादकीय टिप्पणी]
स्वदेशभित्र औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीहरूदेखि सडकका व्यापार र मजदुरका कुरा, रोजगारी संकट शृंखला
कोरोना संक्रमणको फैलावटले समग्र युरोप र अमेरिकालाई लपेटेपछि नेपालबाट अध्ययनका लागि गएका विद्यार्थी र साना उद्यममा आश्रित नेपालीहरूको रोजगारी खोसिँदै छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनले २०२० मा युरोपमा १२ करोड पूर्णकालीन रोजगारी गुम्ने अनुमान गरेको छ । रोजगार कटौती हुने सबभन्दा जोखिम क्षेत्रमा आवास र खाद्य सेवा, निर्माण, प्रशासनलगायत पर्छन् । त्यसको असर बेलायतबाटै देखिन थालिसकेको छ ।
कोरोना संक्रमणकै कारण करिब २ करोड १० लाखले सरकारसँग सहायता खोजी गरिरहेका छन् । आम्दानी नभएपछि उनीहरू सरकारी शरणमा पुगेका हुन् । यस्तो संख्याले बेलायतको चेहरा मात्रै देखाइरहेको छैन, समग्र युरोपको दृश्य प्रतिविम्बित गर्छ ।
युरोपमा बढ्दो बेरोजगारीको मार सबभन्दा बढ्ता नेपाली समुदायमा पर्नेछ । दैनिक गुजाराका लागि ज्यालादारीमा काम गर्ने नेपालीको संख्या युरोपमा धेरै छ । त्यसमा पनि रेस्टुरेन्टमा काम गर्ने नेपालीहरू प्रशस्त भएकाले त्यही क्षेत्र अहिले सबभन्दा बढी मारमा छ ।
फ्रान्सकै उदाहरण लिऔं । कोरोना संक्रमणको फैलावटले उक्त मुलुक लपेटिएपछि त्यहाँका नेपालीको चुल्हो निभ्ने खतरा देखियो । फ्रान्समा रेस्टुरेन्टहरू बन्द भए । त्यहाँ काम गर्ने नेपालीको रोजगारी कटौतीमा त पर्यो नै, जोहो गरेको पैसाले धान्न नसक्ने भएसँगै राहत खोज्ने बाध्यता पनि आइलाग्यो ।
फ्रान्स बस्ने अधिकांश नेपालीको मुख्य रोजगारी रेस्टुरेन्ट हुने गरेको छ । त्यसमा पनि अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थी बेरोजगारीको चपेटामा पर्दा तिनले घरबहाल त परैको कुरा, बिहान/बेलुका छाक टार्न नसक्ने अवस्था आयो ।
कोरोना संक्रमण फैलिएसँगै रेस्टुरेन्टमा काम गर्ने संकटमा परेका करिब ६ सय नेपाली विद्यार्थीहरूलाई राहत वितरण गरियो । फ्रान्सबाट अनुराधा पौडेलले भनिन्, ‘विभिन्न संघ–संस्थाहरूले कोठा भाडा तिर्न नसक्नेहरूलाई ७५ युरोका दरले ८ हजार ८ सय ७९ युरो वितरण गरे । खाना नपाएकालाई खाद्यान्न वितरण गरियो ।’
आर्थिक संकटकै कारण फ्रान्समा अधिकांश विद्यार्थीहरू एउटै कोठामा तीन जनासम्म कोचिएर बस्छन्, जसले रोगको सन्त्रास थप बढाएको छ । त्यसमाथि फ्याल्टको भाडा तिर्ने पैसा नहुँदाको पीडामा फसेका केही विद्यार्थीले नेपालमा अभिभावक पनि गुहारेका छन् ।
यो पनि पढ्नुस
स्वदेशभित्र औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीहरूदेखि सडकका व्यापार र मजदुरका कुरा, रोजगारी संकट शृंखला
राष्ट्र बैंकका निर्देशक तथा प्रवक्ता गुणाकर भट्टको भनाइमा फ्रान्स, स्पेन, अस्ट्रेलियालगायत देशमा अध्ययनरत विद्यार्थी आर्थिक संकटमा परेको खबर आइपुगेको थियो । उनी भन्छन्, “चैतमै फ्रान्स, स्पेन, अस्ट्रेलियामा रहेका विद्यार्थीलाई आर्थिक समस्या भएको भन्ने खबर आएपछि ती देशमा अभिभावकले नेपालबाट रकम पठाएका छन् । तर अहिलेसम्म केन्द्रीय बैंकमा एकमुष्ट तथ्यांक आइसकेको छैन ।”
पछिल्ला वर्षमा ह्वात्तै नेपालीको संख्या बढेको मुलुक हो, फ्रान्स । सन् २००९ सम्म त्यहाँ करिब ३ हजार ५ सय नेपाली रहेकामा अहिले संख्या बढेर १० हजार नाघिसकेको छ । त्यसमा विद्यार्थी संख्या मात्रै १२ सयभन्दा बढी छ ।
दुर्भाग्य के भने फ्रान्स पुगेका अधिकांश नेपालीले पाकिस्तानी र भारतीय नागरिकका रेस्टुरेन्टमा काम गरेर जीवन धानिरहेका छन् ।
अनुराधाकै भनाइअनुसार फ्रान्समा रोजगारी कटौतीमा पर्ने नेपालीको संख्या उल्लेख्य हुने अनुमान छ । त्यसमा पनि विद्यार्थीहरू बढ्ता प्रभावित हुनेछन् । जस्तो, महिनामा २४ घन्टाभन्दा बढी काम गर्न नपाउने विद्यार्थीले सस्तोमा श्रम बेच्नुपर्छ । अर्थात्, प्रतिघन्टा ९ युरोमा काम गर्नुपर्ने बाध्यता छ, त्यसमाथि रेस्टुरेन्टमा काम गर्नुपर्ने भएकाले तत्काल खुल्ने सम्भावना छैन ।
अहिले त्यहाँ होम डेलिभरी सेवा दिने रेस्टुरेन्टहरू मात्र चलिरहेका छन् ।
यो कथा स्पेनमा पनि फरक छैन । त्यहाँ पनि विभिन्न संघ–संस्थाले राहत वितरण गर्नुपर्ने बाध्यता आइलाग्यो । अझ त्यहाँ त दोस्रो चरणको राहत पनि वितरणको प्रयास भइरहेको छ ।
त्यही हविगत बेल्जियममा पनि छ । गैरआवासीय नेपाली संघमा समेत आबद्ध पौडेल भन्छिन्, “थुप्रै नेपालीहरू बेरोजगारीको चपेटमा परेर राहतको पर्खाइमा छन् । तीमध्ये केही त अन्तर्राष्ट्रिय उडान सुरु भएपछि नेपाल फर्किन्छु भन्नेहरू पनि छन् ।”
यो पनि पढ्नुस
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू
पौडेलले युरोपको व्यथा सुनाइरहँदा सानु घिमिरेले अस्ट्रेलियाको कथा पनि त्यस्तै रहेको सुनाइन् । अस्ट्रेलियामा रहेका ससाना उद्यममा संलग्न नेपालीहरू र विद्यार्थीहरू बढ्ता पीडित भएको घिमिरेको बुझाइ छ । साना उद्यमीले व्यवसाय नै गर्न पाएका छैनन् भने विद्यार्थीले काम गर्ने अवसर । फ्रान्सको तुलनामा अस्ट्रेलियामा नेपालीको संख्या अधिक छ । झन्डै ६० हजार त विद्यार्थी नै छन् । तर फ्रान्सजस्तो अस्ट्रेलिया पूर्ण लकडाउनमा नफसेका कारण धेरै नेपालीले रोजगारी गुमाइसकेका छैनन् ।
घिमिरे भन्छिन्, “अहिले समस्यामा परेका भनेको विद्यार्थी र ससाना उद्यम गर्नेहरू हुन्, तिनलाई एनआरएन र अन्य संघ–संस्थाले राहत दिइरहेका छन् ।” रोजगारी कटौतीमा परेका उनीहरू तत्काल काममा फर्किन कति सम्भव छ, अहिल्यै भन्न सकिँदैन । यसले उनीहरू थप बेरोजगारीको चपेटामा पर्दा नेपालमाथि थप दबाब पर्नेछ ।
बेरोजगारीकै कारण अहिले पनि साइप्रस, पोर्चुगलमा नेपालीहरू समस्यामा फसेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साइप्रसमा मात्रै करिब ४ सय नेपाली समस्या रहेको बताएका थिए । यतिबेला उनीहरू उद्धारको सूचीमा छन् ।
परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारीको भनाइमा ती मुलुकमा रोजगारी समस्यामा परेका नेपालीको यकिन तथ्यांक आइसकेको छैन । रोजगारी गुमिहालेको अवस्थामा सामाजिक सुरक्षाका अन्य व्यवस्था रहेका कारण पनि ती देशको समस्या नदेखिएको हुन सक्ने आकलन अधिकारीको छ ।
यद्यपि, फ्रान्सबाट धेरै नेपाली पर्ख र हेरको रणनीतिमा रहेको पौडेल सुनाउँछिन् । अर्थात्, केही नेपाली बेरोजगार र सानो व्यवसाय पनि बन्द भएपछि नेपाल फर्किने योजनामा देखिन्छन् । पौडेल भन्छिन्, “फ्रान्स, स्पेन, इटाली, पोर्चुगलका कतिपय नेपाली साथीहरूले बेरोजगार र व्यवसाय बन्द भएकै कारण लकडाउन खुलेपछि नेपाल फर्किने बताइरहनुभएको छ । त्यसबाहेक केही पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ।”
यो पनि पढ्नुस
कोरोना संकटको पहिलो महिनाकै तलब दिन निजी क्षेत्रलाई कठिन भइरहेका बेला दरिलो ‘रिकभरी प्याकेज’ नपाए लाखौँ श्रमिक–कामदारको रोजगारी खोसिन सक्छ
अमेरिकामा पनि उस्तै
‘अमेरिका बन्द हुनलाई बनेको होइन ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणको सुरुआततिरै यसो भनेका थिए । ट्रम्प भनाइ कोरोना भाइरस नियन्त्रणका लागि चिनियाँ मोडलको लकडाउन विधि अमेरिकाले अपनाउने छैन भन्नेमै केन्द्रित थियो ।
अमेरिकी अर्थतन्त्रलाई चलायमान बनाई राख्ने मात्र होइन, रोजगार कटौती हुन नदिनलाई त्यसो भनेका थिए । ट्रम्पको सोही उद्घोषले अमेरिकामा कलकारखाना, होटल, रेस्टुरेन्ट तथा सुपरमार्केट नियमित सञ्चालनमा रहे । फैलिँदो सन्त्रासले मानवीय गतिविधिमा कमी आइदियो, जसले कारोबार प्रभावित हुने नै भयो ।
अमेरिकामा जुन रफ्तारमा कोराना फैलियो, त्यही गतिमा कटौती हुँदै थियो, रोजगारी । अमेरिका खुला रहने भने पनि अधिकांश काम ठप्प भए । ससाना उद्यमीहरू घरमै थन्किए । र, पछिल्ला दिनमा त होटल, रेस्टुरेन्ट पनि प्रभावित भए, जसले गर्दा दैनिक रोजगारीबाट गुजारा गर्ने ठूलो समूह प्रभावित भयो ।
त्यसैको परिणाम थियो, ३ करोड ३० लाखभन्दा बढ्ता व्यक्ति बेरोजगारीकै कारण सरकारी सहायताको खोजीमा निस्कनु ।
अमेरिकाको रोजगार सूचना केन्द्रमा आफ्नो नाम दर्ता गराउन पुगेको त्यो संख्यामा कति नेपाली मूलका वा नेपाली नागरिक छन्, यकिन त छैन । तर अमेरिकामा स्टोर, होटल, रेस्टुरेन्टमा काम गर्ने नेपाली पनि रोजगार कटौतीमा परेका छन् । यद्यपि उनीहरू नेपाली दूतावासको सम्पर्कमा आइसकेका छैनन् ।
अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्की बेरोजगारीबाट पीडित नेपालीहरू पनि रहेको तर सहयोगका लागि दूतावाससम्म आइनपुगेको बताउँछन् ।
यो पनि पढ्नुस
खाडी मुलुकमा हुने रोजगार कटौतीले नेपाली अर्थतन्त्रको धमनीमा गम्भीर धक्का लाग्ने विज्ञहरूको आकलन
कोराना सुरु भएपछि मात्रै अमेरिकाम ३ करोडभन्दा बढ्ता बेरोजगार भएकाले संक्रमण नियन्त्रणमा नआउँदासम्म रोजगारी कटौतीमा कमी हुने छैन, त्यतिन्जेल बेरोजगारहरू सूचना केन्द्र धाइरहनेछन् ।
राजदूत कार्कीको भनाइमा अमेरिकी नागरिक भइसकेकाहरूको एक खाले समस्या छ भने नेपाली नागरिक नै भएर अमेरिका बसिरहेका नेपालीको अर्को खाले । जस्तो, अमेरिका बस्ने नेपालीहरू, जो ससाना उद्यमी थिए, तिनका व्यवसायमध्ये कति त बन्द भइसकेका छन् भने कतिपय बन्द अवस्थामा पुगेका छन् ।
कार्की भन्छन्, “त्यसको विस्तृत विवरण त आइसकेको छैन तर नेपाली मूलका साना व्यवसायीमा गम्भीर असर परेको छ । यसको प्रभाव अरू नेपालीमा पनि पर्छ ।”
अमेरिकामा संसारबाट धेरै विद्यार्थी पठाउने देशमध्येमा नेपाल पनि पर्छ । अमेरिकी कलेजमा अध्ययनार्थ जाने नेपाली विद्यार्थी भिसाकै चरणमा त्यहाँ काम गर्न नपाउने सर्तमा भित्रिएका हुन्छन् । तर नेपाली विद्यार्थीहरूले लुकीछिपी खान–बस्न मात्र होइन, कलेजको शुल्क तिर्नलाई पनि पार्ट–टाइम काम गरिरहेका हुन्छन् । अहिले काम रोकिएकाले विद्यार्थीको समस्या जटिल बन्दै गएको कार्कीको भनाइ छ ।
अर्को समस्या विभिन्न पानीजहाजमा काम गर्ने नेपालीहरूलाई पनि परेको छ । कार्कीका अनुसार ५ वटा पानीजहाजमा काम गर्ने नेपालीहरू त्यो समस्यामा परेका थिए । युरोप र अस्ट्रेलियाबाट पानीजहाजबाट अमेरिका पुगेका ती नेपाली लकडाउनले थुनिएका थिए । केही फर्किए पनि अहिले लस एन्जलसमा रहेका करिब १५ जना नेपालीहरू स्वदेश फर्किन चाहिरहेका छन् ।
राजदूत कार्कीका अनुसार अर्का थरी नेपाली, जो नातेदार भेट्न वा घुमफिरमा यहाँ आएका थिए, उनीहरू पनि अहिले समस्या छन् । त्यस्ता नेपालीको संख्या करिब ५ सय हुन सक्ने कार्कीको अनुमान छ ।
यो पनि पढ्नुस
कोरोना संकटले रोजगारी खोसिएर भारतका विभिन्न सहरबाट धमाधम स्वदेश फर्किएका नेपालीहरूलाई आफ्नै गाउँठाउँमा रोजगारी दिलाउन संघ र प्रदेश सरकारहरूसँग योजनै छैन
यसले गर्दा पनि रोजगार कटौतीकै कारण नेपाल फर्किने नेपालीको संख्या थपिने अनुमान सहजै गर्न सकिन्छ । अमेरिकामा बढ्दो बेरोजगारीकै कारण केही नेपाली स्वदेश फिर्ता हुन सक्छन् । तर ठूलो संख्यामा हुँदैनन् किनभने अमेरिकी नागरिक भइसकेका नेपालीहरू पनि धेरै छन् ।
अमेरिकामा अहिले रोजगारी संख्या मात्र कटौती भइरहेको छैन, प्रतिघन्टा ज्यालाको दरमा पनि समस्या देखिएको छ । त्यहाँ अहिले निर्माण क्षेत्रका गतिविधि पनि रोकिएका छन् । जस्तो, अहिले अमेरिकामा नयाँ घर निर्माणमा मात्रै ४० वर्षयताकै सबभन्दा गिरावटको अवस्था हो ।
अमेरिका तुलनात्मक रूपमा खुला छ, युरोपभन्दा । अर्थात्, राष्ट्रपति ट्रम्पको घोषणाले केही कलकारखाना, सुपरमार्केट खुला भए पनि श्रमबजार अपेक्षित खुला छैन ।
अमेरिकाको श्रम बजारमा निरन्तर गिरावट आइरहेका बेला युरोप अझ बढ्ता प्रताडित छ । युरोपका अधिकांश देशले लकडाउन गरे, कोरोना नियन्त्रणको उपायका रूपमा ।
विकल्पको अवसर
युरोपमा नेपालीहरूले रेस्टुरेन्टमा बढी काम गर्ने भएकाले श्रमको क्षेत्रमा विविधीकरण हुन आवश्यक देखिन्छ । युरोपमा म्यानुअल काम हुनैपर्ने केही क्षेत्र छन्, जसमा नेपाली जनशक्ति खपत गराउन सकिन्छ ।
तर अहिलेजस्तै अदक्ष जनशक्ति युुरोप जाने र रेस्टुरेन्टमा काम गर्ने हो भने नेपालले थप समस्या झेल्ने श्रमविज्ञ गणेश गुरुङको विश्लेषण छ । युरोपमा पनि पोर्चुगलमा कृषि क्षेत्रमा बढ्ता अवसर छ । अहिले पनि केही नेपाली काम गरिरहेका छन् ।
यस्तै राम्रो अवसर न्युजिल्यान्डमा पनि छ । दुग्ध डेरीमा काम गर्ने अर्धदक्ष जनशक्तिका लागि अवसर रहेको उल्लेख गर्दै गुरुङ कोरोनापछि युरोपको श्रम बजार केन्द्रित छुट्टै अध्ययन गर्नुपर्ने बताउँछन् ।
भन्छन्, “कृषि, टनेल उत्पादन, डेरी, फलफूल, सुरक्षागार्ड, केयरगिभरजस्ता क्षेत्रमा नेपाली श्रमबजार खोज्न सकिन्छ, जहाँ दक्ष जनशक्ति पठाउनुपर्छ ।”
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ युरोपको रोजगारी संकटले तत्कालै केही नेपाली पनि प्रभावित हुने बताउँछन् । तर कोरोना संक्रमणसँगै युरोपले लिने आर्थिक प्याकेजको नीतिमा नेपालीको अवस्था भर पर्ने श्रेष्ठको बुझाइ छ ।
भन्छन्, “अहिले नै युरोप, अमेरिका रहेका नेपाली बेरोजगारीले फर्किन्छन् भन्ने त होइन तर संकट गहिरो छ । यसबारे नेपालले बेलैमा सोच्नुपर्छ । ”
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...