रोगभन्दा भयानक बन्दै छ रोजगारी संकट [सम्पादकीय टिप्पणी]
स्वदेशभित्र औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीहरूदेखि सडकका व्यापार र मजदुरका कुरा, रोजगारी संकट शृंखला
कोरोना संकटको पहिलो महिनाकै तलब दिन निजी क्षेत्रलाई कठिन भइरहेका बेला दरिलो ‘रिकभरी प्याकेज’ नपाए लाखौँ श्रमिक–कामदारको रोजगारी खोसिन सक्छ
औपचारिक क्षेत्रको रोजगारी तुलनात्मक रूपमा सुरक्षित हुनुपर्ने हो । तर श्रमिक–कर्मचारीलाई कोरोना संकटको पहिलो महिनाकै तलब पाउन हम्मे परिरहेको छ ।
सरकार २०७६ चैतको पूरा तलब दिन भनिरहेको छ, निजी क्षेत्र भने अनेक आलटाल गर्दै आधा महिनाकै तलबमा टार्न खोज्दै छ । कोरोना संक्रमण देखिएपछि ११ चैतदेखि देशभरि लकडाउन सुरु भएको थियो ।
देशभर झन्डै २६ लाख ७८ हजार श्रमिक–कर्मचारी औपचारिक रोजगारीमा छन् ।* तीमध्ये १५ लाख उद्योग क्षेत्रमा कार्यरत छन् । उनीहरूको मासिक पारिश्रमिक मात्र जोड्दा ३० अर्बभन्दा बढीको हिसाब आउँछ ।
कोरोना संक्रमणका कारण उद्योग कारखाना बन्द रहेकाले श्रमिकलाई पूरै पारिश्रमिक दिन नसकिने निष्कर्षमा व्यवसायीहरू पुगिसकेका छन् । “यो संकटका बेला निजी क्षेत्रले त्यो भार थेग्न सक्ने स्थिति छैन,” नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भन्छन्, “सरकारको रिकभरी (पुन:उत्थान) प्याकेज नआउँदासम्म त्यो सम्भव छैन । बरु, ठूलो संख्यामा रोजगारी गुम्नेछ ।”
उनका अनुसार साना तथा मझौला उद्योगले ५० प्रतिशत खर्च श्रमिकको पारिश्रमिकमा खर्चिने गरेका छन् ।
नेपाल राष्ट्र बैंकले गत वर्ष गरेको अध्ययनले साना तथा मझौला उद्योगले औसतमा ९ जनालाई रोजगारी दिइरहेको देखाएको थियो । वित्तीय क्षेत्र विकास रणनीति (०७३/०७४–०७७/७८) ले पनि त्यस्ता उद्योगले कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशतको योगदान दिइरहेको भनेको छ । नेपालमा अहिले ९ लाख २३ हजार ३ सय ५६ व्यावसायिक इकाइ सञ्चालनमा छन् ।
यो पनि पढ्नुस
स्वदेशभित्र औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीहरूदेखि सडकका व्यापार र मजदुरका कुरा, रोजगारी संकट शृंखला
कोरोना महामारीबाट सबभन्दा धेरै मार पनि तिनै साना तथा मझौला उद्योगले बेहोर्नुपर्ने स्थिति आएकाले रोजगारीमा संकट ल्याउने अर्थविद्हरू दाबी गर्छन् । ती उद्योगबाट अहिले २३ लाख ६१ हजारले रोजगारी पाइरहेका छन् । उद्योगमध्ये उत्पादनमूलक ३६, पर्यटन उद्योग २६, सेवामूलक २१, कृषिमा १२, निर्माणमा ३ र ऊर्जामा २ प्रतिशत छन् । तर ५० प्रतिशतभन्दा धेरै उद्योग बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सञ्चालनमा रहेकाले राज्यले संरक्षण नदिए धराशयी हुने स्थिति छ ।
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । १५ लाख मात्र पर्यटक भित्रिए र उनीहरूको १२ दिनको औसत बसाइ भए प्रतिदिन ५० डलर खर्चका दरले नेपालले झन्डै १ खर्बको प्रत्यक्ष आय गर्ने स्थिति थियो । तर कोरोना महामारीले पर्यटनमा ८० प्रतिशतले गिरावट आउने एवं होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ, एयरलाइन्स र रेस्टुरेन्ट क्षेत्रले करिब १ खर्ब ६० अर्ब गुमाउने पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशी बताउँछन् ।
वैदेशिक मुद्रा आर्जनमा पर्यटन क्षेत्रले दोस्रो ठूलो हिस्सा ओगटेको छ भने वैदेशिक लगानी भित्र्याउने प्रमुख क्षेत्र पनि पर्यटन नै हो । कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ८ प्रतिशत छ । स्वदेशी रोजगारीको ७ प्रतिशत हिस्सा पर्यटनले ओगटेको छ । ४ हजार १ सय २५ लाइसेन्स प्राप्त टुर गाइड, १६ हजार ३ सय ४८ ट्रेकिङ गाइड, ३ सय ५३ र्याफ्टिङ गाइड तत्कालै बेरोजगार हुने स्थिति छ ।
पर्यटन विभागका अनुसार नेपालमा तारे होटल १ सय २९ छन् भने पर्यटक स्तरीय होटल १ हजार १ सय २५ वटा । ३ हजार ५ सय ८ ट्राभल एजेन्सी, २ हजार ६ सय ४९ ट्रेकिङ एजेन्सी, यातायात सेवाका ७७ कम्पनी, ७३ र्याफ्टिङ एजेन्सीहरू र ३ सय २४ होमस्टेमा कोरोना महामारीले उत्पन्न गरेको संकट देखिएको छ । त्यसबाहेक होटल व्यवसायी महासंघमा आबद्ध सानाठूला गरी देशैभरका झन्डै ८० हजार होटल यसको मारमा पर्नेछन् ।
पर्यटन क्षेत्रमा प्रत्यक्ष रूपले झन्डै ४ लाखले रोजगारी पाएका छन् । अप्रत्यक्ष र मौसमी रोजगारमा २ लाख र सप्लाई चेनका ५ लाख गरी समग्र पर्यटन क्षेत्रले सिर्जना गरेको ११ लाख जनशक्तिको रोजगार संकटमा पर्ने स्थिति आएको उल्लेख गर्दै जोशी भन्छन्, “संकटपछि रिभायभ हुने योजना र तयारी अहिल्यै गर्नुपर्छ । पहिलो उपाय आन्तरिक पर्यटन प्रवद्र्धन नै हो ।”
सरकारी तथा निजी क्षेत्रमा १० लाख कर्मचारी कार्यरत छन् । वर्षमा दुईपल्ट पाँच–पाँच दिनको भ्रमण खर्चसहित उनीहरूलाई बिदा दिएर नयाँ आर्थिक वर्षदेखि नै आन्तरिक पर्यटन अभियान सुरु गर्न सके पर्यटन क्षेत्रले ठूलो राहत महसुस गर्ने उनी बताउँछन् ।
दुई वर्षअघि गरिएको नेपाल श्रमशक्ति सर्वेक्षणले १५ वर्षमाथिको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेकामा ७९ लाख ९४ हजारलाई श्रमशक्ति मानेको छ । ७० लाख ८६ हजार रोजगारीमा रहेको सर्वेक्षणले देखाउँछ, जुन जनसंख्याको ३४ प्रतिशत हो । तीमध्ये ६९ प्रतिशत सहरी क्षेत्रमा काम गर्छन् ।
सर्वेक्षणले ३७.८ प्रतिशत आर्थिक क्रियाकलाप औपचारिक क्षेत्रमा हुने भए पनि रोजगारी भने १५.४ प्रतिशत मात्र देखाएको छ । सबभन्दा धेरै रोजगारी बाग्मती प्रदेशमा ४४ प्रतिशत र कम सुदूरपश्चिममा २४ प्रतिशत देखिएको छ । बेरोजगारी प्रदेश २ मा सबभन्दा अधिक २० प्रतिशत छ भने कम बाग्मतीमा ७ प्रतिशत । नेपालभर ९ लाख ८ हजार बेरोजगार छन्, तीमध्ये ६ लाख ४० हजार सहरमा र २ लाख ६८ हजार गाउँमा छन् । बेरोजगारी दर ११.४ प्रतिशत देखिएको थियो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्ट औपचारिक रोजगारीका क्षेत्र पारदर्शी र व्यवस्थित नहुनुले लकडाउनको एक महिनामै बेरोजगारीको स्थिति आएको बताउँछन् । “औपचारिक क्षेत्रको आयव्यय पारदर्शी बनाई नियमन गर्नुपर्ने आवाज पहिलेदेखि नै उठेको हो । अहिले झन् धेरै खाँचो देखियो,” उनी भन्छन्, “अब नियमनको दायरामा ल्याउनुपर्छ ।”
बैंकिङ क्षेत्रबाहेक अरू औपचारिक रोजगारीका क्षेत्र अपारदर्शी ढंगले चलेको भट्ट टिप्पणी गर्छन् । वित्तीय तथा बैंकिङ क्षेत्रमा झन्डै एक लाख कर्मचारी कार्यरत छन् । तर बैंकहरूले कोरोना संकटपछि ३० प्रतिशत करार वा अस्थायी कर्मचारी कटौती गर्न लागेका छन् । वित्तीय क्षेत्रका मात्र झन्डै ३० हजार कर्मचारी तत्कालै बेरोजगार हुने स्थिति आएको छ ।
यो पनि पढ्नुस
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू
नेपालमा प्रत्येक रोजगार पाँचमध्ये एक कृषिमा रहेको देखिन्छ । त्यसैले कृषिले सबभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । तर कृषिबाट औपचारिक रोजगारी भने ९० हजारले मात्र पाएका छन् । जबकि, समग्र रोजगारीको ६२ प्रतिशत ओगट्ने अनौपचारिक क्षेत्रमा कृषिको योगदान २० प्रतिशत अर्थात् १४ लाख ३४ हजार छ । औपचारिक क्षेत्रमा २५ लाख ८६ हजार रोजगारी गैरकृषि क्षेत्रले दिइरहेको छ ।
वित्तीय रूपमा नेपालको औपचारिक क्षेत्रको स्थिति राम्रो नहुँदा रोजगारी भरपर्दो नभएको अर्थविद् केशव आचार्य बताउँछन् । “निजी क्षेत्रले लकडाउनको एक महिना पनि राम्ररी तलब खुवाउन सकेन,” उनी भन्छन्, “निजी क्षेत्र दह्रो देखिएन । सरकारीबाहेक अरू रोजगारी औपचारिकजस्ता देखिएनन् ।”
त्यसै पनि नेपालका उद्योगहरूले क्षमताको ५० देखि ६० प्रतिशतभन्दा धेरै उत्पादन गर्दैनन् । लकडाउन लम्बिँदै जाँदा सरकारले उद्योग, निर्माण र कृषि उत्पादनका क्षेत्र खुकुलो पार्ने नीति लिएको छ । तर भीडभाड हुन नदिन एक तिहाइ जनशक्तिबाट काम लिन भनिएको छ । त्यसबाट दुई तिहाइ रोजगारी स्वत: प्रभावित हुने देखिन्छ । त्यसमाथि, बजार नखुलेसम्म अर्थतन्त्र चलायमान हुने र रोजगारी सिर्जना हुने स्थिति देखिन्न । अर्थविद् आचार्य भन्छन्, “ठूला औद्योगिक क्षेत्र सञ्चालनको क्षमता वृद्धि हुने वातावरण बनाए मात्र उत्पादन र रोजगारी दुवै बढाउन सकिन्छ ।”
मोरङ–सुनसरी, पथलैया–वीरगन्ज र लुम्बिनी–नवलपरासी औद्योगिक करिडोर सुरक्षित रूपमा तत्कालै सञ्चालनमा ल्याउन सरकारले पहल गर्नुपर्ने उनको राय छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छा कोरोनाअघि पनि नेपाली उद्योगहरू पूर्ण क्षमताका साथ सञ्चालनमा नभएको बताउँछन् । राष्ट्र बैंकको पछिल्लो अध्ययनले अधिकांश उद्योगले क्षमताको ६० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् । सिमेन्ट र छडजस्ता उद्योगहरूले मात्र पूर्ण क्षमतामा उत्पादन गरिरहेका छन् । कच्चा पदार्थ र औद्योगिक वातावरणको कमीले उत्पादन लागत महँगो भएकाले पनि पूरा क्षमतामा उद्योग चल्न नसकेको व्यवसायीको दाबी छ ।
कोरोनासँगै आर्थिक संकटबाट पार पाउन सरकारले उद्योग पुन:उत्थान हुने र रोजगारी गुम्नबाट जोगाउन उद्योग वाणिज्य महासंघले चार उपाय सुझाएको वरिष्ठ उपाध्यक्ष गोल्छा बताउँछन् । पहिलो– श्रमिक तथा कामदारको पारिश्रमिकमा सहजीकरण । सरकारले चैतसम्मको पूरा तलब दिन निर्देशन दिएको छ । सामाजिक सुरक्षा कोषमा योगदान जम्मा गरिदिने घोषणा गरेको छ । तर महासंघले लकडाउनले बन्द उद्योगका कामदारलाई ५० प्रतिशतभन्दा धेरै पारिश्रमिक दिन नसक्ने अडान लिएको छ । उद्योग पुन: सञ्चालनमा नआउँदासम्म पारिश्रमिक कटौती गर्न निजी क्षेत्रले सरकारको सहयोग चाहेको छ ।
दोस्रो– संकटका बेला बैंक ब्याजदर ५ प्रतिशत हाराहारीमा झार्नुपर्ने र कर्जामा सहुलियत दिनुपर्ने महासंघको माग छ । तेस्रो– उद्योग सञ्चालन र ऊर्जा व्यवस्थापनका लागि सरकारको मद्दत खोजिएको छ । उद्योग सञ्चालनका लागि निजी क्षेत्रले विद्युत् महसुलमा २० प्रतिशत छुट दिनुपर्ने, कच्चा पदार्थको सहज आपूर्ति र कर छुट चाहेको छ । चौथो– बन्द उद्योगधन्दा पुन: सञ्चालनमा आउने गरी उत्साह बढाउने रिकभरी (पुन:उत्थान) प्याकेज अपेक्षा गरिएको उपाध्यक्ष गोल्छा बताउँछन् । उनी भन्छन्, “धराशयी हुन लागेको अर्थतन्त्रलाई रोक्न सरकारले निजी क्षेत्रलाई पर्याप्त आडभरोसा दिनु जरुरी छ ।”
यो पनि पढ्नुस
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखे पनि स्रोत व्यवस्थापनको चुनौती
लम्बिँदो लकडाउनमा अर्थतन्त्रको चिन्ता #NepalMag श्रृंखला
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...