रोगभन्दा भयानक बन्दै छ रोजगारी संकट [सम्पादकीय टिप्पणी]
स्वदेशभित्र औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीहरूदेखि सडकका व्यापार र मजदुरका कुरा, रोजगारी संकट शृंखला
खाडी मुलुकमा हुने रोजगार कटौतीले नेपाली अर्थतन्त्रको धमनीमा गम्भीर धक्का लाग्ने विज्ञहरूको आकलन
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले भनेको छ– कोरोना भाइरसका कारण खाडी मुलुकमा मात्रै करिब ५० लाख रोजगारी संकटमा पर्दै छ । आईएलओको आकलनमा संसारमा १ अर्ब ९५ करोड व्यक्ति प्रभावित हुनेछन् । त्यसको मार खाडी मुलुक मात्र होइन, एसिया तथा प्यासिफिक क्षेत्रमा झन् बढ्ता पर्नेछ ।
आईएलओको पछिल्लो भनाइ मान्ने हो भने एसिया तथा प्यासिफिक क्षेत्रका मात्रै १ अर्ब २५ करोड मानिसमा रोजगारी संकट सिर्जना हुनेछ । यी आकलनअनुसार नेपाल रोजगारी संकटको दोहोरो मारमा पर्दै छ । पहिलो– एसिया तथा प्यासिफिक क्षेत्रमा बढ्ने बेरोजगारीले स्वदेशको आर्थिक गतिविधिमा गिरावट आउनेछ, जसले श्रम बजारमा चाप पार्नेछ । दोस्रो– खाडी मुलुकमा हुने रोजगार कटौतीले नेपाली अर्थतन्त्रको धमनीमा गम्भीर धक्का लाग्नेछ ।
५५ दिनको लकडाउन अवधिकै कुरा गर्ने हो भने खाडी तथा मलेसियाबाट नेपाल फर्किन चाहनेको संख्या निरन्तर बढ्दो छ । दिनहुँ बढ्दो संख्याले बताइरहेको छ, ती देशमा हरेक दिन रोजगारी कटौती भइरहेको छ । सरकारी तथ्यांकअनुसार तत्काल नेपाल फर्किने चाहनेहरूमा भिसा अवधि गुजारेका, कामको करार सकिएका मात्र छैनन्, पछिल्ला दिनमा कम्पनीबाट रोजगार गुमाएकाहरूको संख्यामा बढोत्तरी भएको छ ।
अझ केही देशका कम्पनीले बेतलबी बिदामा राखेका छन्, जसले गर्दा उनीहरू काममा फिर्ता हुने हो/होइन भन्ने अन्योलमा गुज्रेका छन् ।
यो पनि पढ्नुस
स्वदेशभित्र औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीहरूदेखि सडकका व्यापार र मजदुरका कुरा, रोजगारी संकट शृंखला
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार रोजगारका लागि ७ मुलुक पुगेका १३ लाख ४८ हजारमध्ये करिब ४ लाख ७ हजार नेपाल फर्किने पर्खाइमा छन् ।
बोर्डले खाडी मुलुक तथा मलेसियाका कूटनीतिक नियोगसँगको समन्वयमा गरेको अध्ययनले करिब २ लाख ८० हजार नेपाली कामदारले रोजगारी गुमाउँदै छन् । र, १ लाख २७ हजारभन्दा बढी करार अवधि सकिएका, भिसा म्याद गुजारेका तथा आममाफी पाएकाहरू छन्, जो तत्काल नेपाल फर्किन चाहन्छन् । उनीहरू खासगरी लकडाउनकै अवधिमा भए पनि सरकारले उद्धार गरिदियोस् भन्नेमा छन् ।
श्रेष्ठ भन्छन्, “भिसा म्याद, करार अवधि सकिएका एवं आममाफी पाएकाहरू तत्काल स्वदेश फर्किन चाहिरहेका छन् र २ लाख ८० हजारभन्दा बढीले रोजगारी गुमाउन सक्ने आकलन गरेका छौँ ।”
श्रेष्ठले भनेजस्तै खाडी क्षेत्रले रोजगारी कटौती गर्नकै लागि कोरोना भाइरसको संक्रमण सुरु हुँदै अघोषित प्रयास थालेका थिए । आन्तरिक अर्थतन्त्रमा पर्ने धक्काको अनुमान गरेर नै हुन सक्छ, ती देशले रोजगारी कटौतीको अभियान आममाफी प्रकरणबाट गरेका थिए ।
लकडाउन सुरु गर्नुअघि नै साउदी अरबले अवैध रूपमा बसेका कामदारका लागि आममाफी दिएको थियो । लकडाउन सुरु भएपछि कुवेतले पनि आममाफी दिइसकेको छ, जसमा करिब ३ हजार ५ सय नेपाली रहेका छन् । र, उनीहरू तत्काल नेपाल फर्किन चाहिरहेका छन् ।
यो पनि पढ्नुस
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू
अहिले युएई र मलेसिया पनि त्यही प्रक्रियामा छन् । अवैध रूपमा बसेकाहरू ती देशका लागि सस्तो कामदारका रूपमा मानिन्छन् । ती देशले आममाफी अभियान चलाउनु भनेको आउने दिनमा रोजगारीमा भारी कटौती हुँदै छ भन्ने संकेत पनि हो । उनीहरूले रोजगारी कटौती मात्र गरिरहेका छैनन्, सम्बन्धित देशका कामदारलाई स्वदेश फिर्ता गराउन आफैँ पहल पनि गरेका छन् ।
जस्तो, युएई र कुवेतले नेपाललाई पत्र लेखेरै नेपाली कामदार लैजानू त भनेका छन् नै, नसक्ने भए आफैँले पुर्याइदिनेसम्म भने । कतिसम्म भने युएईले त आफ्ना नागरिक फर्काउन नमान्ने देशसँग श्रम सम्झौता पुनरावलोकन गर्नेसम्मको चेतावनी दिइसकेको छ ।
सरकारले त्यसमा सोचविचार गरेर निर्णय लिन नसके र कूटनीतिक संवादमा ढिलाइ गरे २ लाख ७५ हजारभन्दा बढ्ता नेपाली कामदारमा प्रत्यक्ष प्रभाव पर्नेछ ।
यूएईले दुइटा विमानमा नेपाली कामदार ल्याइदिने भन्दै सरकारलाई पत्र पठाइसकेको छ । संसद्को राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघि भनेका थिए, ‘दुइटा विमान आउने जानकारीसहित पत्र आएको छ तर तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन ।’ यही घटनाले पनि पुष्टि गर्छ, वैदेशिक रोजगारको अवस्था कस्तो हुँदै छ भनेर ।
खाडी मुलुक यतिबेला दोहोरो दबाबमा छन्, जसले गर्दा विदेशी कामदारको रोजगार कटौती गर्न चाहिरहेका छन् । विश्वव्यापी कोरोना सन्त्रासले थुनिएको अर्थतन्त्रको चपेटामा परेका खाडी मुलुक यतिबेला पेट्रोलियम पदार्थको मूल्यमा आएको भारी गिरावटले झनै थलिएका छन् ।
खाडीका अधिकांश मुलुकको प्रमुख स्रोत पेट्रोलियम हो । तर रुससँगको मूल्य विवादमा फसेपछि तेलको मूल्यमा गिरावट आएकै छ, तेलसँग जोडिएका कतिपय कम्पनीले कामदार कटौती गर्न थालेका छन् । त्यसको मार पनि नेपाली कामदारमाथि नै परेको छ ।
श्रमविज्ञ गणेश गुरुङको भनाइमा कोरोना संक्रमण र तेलको मूल्यमा गिरावटको दोहोरो मारमा परेका खाडी मुलुकले समग्र अर्थतन्त्रमा धक्का पाएका छन्, जसका कारण नेपाली कामदारको रोजगारी गुम्दै छ ।
“खाडी गएकामध्ये चार प्रकारका काममा संलग्न नेपाली कामदारको रोजगार तत्काल कटौती हुनेछ,” गुरुङ भन्छन्, “त्यसमा शारीरिक श्रमसँग प्रत्यक्ष जोडिएका काम गर्नेहरू, अदक्ष जनशक्ति, कोठाबाहिर काम गर्नुपर्ने र समूहमा काम गर्नेहरू पर्छन् ।” विडम्बना के भने अहिले खाडीमा कार्यरत करिब १३ लाखमध्ये अधिकांश यस्तै काममा संलग्न छन्, जसको ज्याला मात्र कम छैन, व्यक्तिगत सुरक्षा पनि फितलो छ ।
यो पनि पढ्नुस
कोरोना संकटको पहिलो महिनाकै तलब दिन निजी क्षेत्रलाई कठिन भइरहेका बेला दरिलो ‘रिकभरी प्याकेज’ नपाए लाखौँ श्रमिक–कामदारको रोजगारी खोसिन सक्छ
चुलो बाल्ने संकट
लकडाउनको अघिल्लो दिनसम्म नेपालमा दैनिक २ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आइरहेको थियो । लकडाउनको ५५ दिनको मात्रै हिसाब गर्दा पनि करिब १३ अर्ब २० करोड रुपैयाँ नेपाल आउन पाएन । त्यसमध्ये ठूलो रकम नेपाल भित्रिने सम्भावना पनि छैन किनभने लकडाउनले थुनिएका युवा घर पठाउने रकमै खर्चेर गुजारा गर्नुपर्ने बाध्यतामा छन् ।
रेमिट्यान्स निम्नमध्यम वर्गीय घरपरिवारसम्म पुग्ने हो । त्यो संख्या भनेको नेपालको ५४ लाख घरधुरीमध्ये ६० प्रतिशत हुन्छ । खाडी तथा मलेसियाबाट आउने सोही रेमिट्यान्सले नेपालीको चुल्हो बलेको छ । त्यो रकम आउन बन्द हुनेबित्तिकै दैनिक जीवन गुजारामा असर पर्छ ।
श्रमविज्ञ गुरुङ भन्छन्, “कामदारका परिवारमध्ये कुनै एक जना सहकारीको सदस्य थियो होला, त्यसमा मासिक किस्ता तिर्न सकेन । छोराछोरीलाई टाई लगाउने स्कुल पढाउँथ्यो । त्यसको शुल्क पनि तिर्न गाह्रो भयो । किनमेलमा कमी भयो अर्थात् स्थानीय अर्थतन्त्रमै गम्भीर प्रभाव पर्यो ।”
खाडी मुलुक तथा मलेसियामा रोजगारीका लागि निस्केका युवाले बैंकिङ च्यानलबाट पठाउने रकमले देशको विदेशी मुद्रा सञ्चितिमा पनि टेवा दिइरहेको छ । अहिले १३ अर्बभन्दा बढ्ता रकम नआउँदा विदेशी मुद्रा सञ्चितिमा पनि धक्का पुगेको छ । उक्त सञ्चिति कम हुनेबित्तिकै आयात र विदेशी ऋण भुक्तानीमा असन्तुलन पैदा हुन्छ ।
नेपालमा बर्सेनि ५ लाख १२ हजारभन्दा बढ्ता श्रम बजारमा निस्कन्छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको भनाइमा तीमध्ये अधिकांश वैदेशिक रोजगारमा जाने भएकाले अहिलेसम्म देशले धानेको हो । श्रेष्ठको विश्लेषणमा खाडी तथा मलेसियाबाट करिब ५ देखि ७ लाख युवाले रोजगारी गुमाएर फर्किने सम्भावना छ ।
“एकातिर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने र अर्कातिर वैदेशिक रोजगारबाट पनि फर्किनुपर्ने बाध्यता भइदिँदा राज्य दबाबमा पर्छ,” श्रेष्ठ भन्छन्, “त्यो भनेको हामीले अहिलेसम्म कहिल्यै नभोगेको अवस्था बेहोर्नुपर्नेछ । त्यसको असर आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा पर्नेछ ।”
श्रेष्ठको संकेत थियो, स्वदेश फर्किएका युवालाई रोजगारीमा व्यवस्थापन गर्न नसकिए असन्तुष्टि मात्रै बढ्दैन, त्यसले सिर्जना गर्ने अराजकताले राजनीतिक व्यवस्थामै प्रश्न उठाइदिन्छ ।
रेमिट्यान्स अभावमा स्थानीय अर्थतन्त्रमा आघात पर्दाको परिणाम ६ महिना पछिबाट देखिने अर्थशास्त्रीहरूको भनाइ छ । श्रेष्ठको भनाइमा पैसा अभावमा परिवारका सदस्यले खानाको मात्र कटौती गरेका छन्, त्यसबाट सिर्जना हुने कुपोषणले बच्चालाई अर्को वर्षदेखि असर पर्न थाल्छ ।
बढ्दो बेरोजगारीका कारण संसारभर उत्पादनमा कमी आउनेछ, जसले गर्दा आपूर्तिमा अवरोध हुन्छ । नेपालजस्ता आयातमा निर्भर मुलुकले खाद्यान्नसमेत खरिद गर्न धौधौ पर्नेछ र भुइँमान्छेहरू भोकमरीमा पर्ने डर हुन्छ ।
“स्वदेश, भारत र खाडी मुलुकको समेत गरेर करिब २५ देखि ३० लाख रोजगारी गुम्ने सम्भावना छ । त्यससँगै उत्पादनमा आउने गिरावटले नेपालमा पनि भोकमरी आउन सक्छ,” श्रेष्ठ भन्छन् ।
यो पनि पढ्नुस
लकडाउनले जीविकोआर्जन गुमेपछि आफ्नो घर फर्किएकालाई परिवारसँग बस्नुभन्दा खर्च जोहो गर्ने पिरलो
विकल्प खोजी
खाडीबाट रोजगार गुमाएर फिरेका युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न कृषिमै जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ । उनीहरूको बुझाइमा ती युवालाई मुख्य पेसा कृषिमा जोडेपछि मात्रै निर्माण तथा पूर्वाधार क्षेत्रमा लगाउनुपर्छ । गुरुङ कृषि कर्ममा जोडिएकाहरूमध्ये नै वैदेशिक रोजगारमा गएका कारण तिनलाई कृषिमा जोड्न सजिलो ठान्छन् ।
भन्छन्, “ग्रामीण पृष्ठभूमिका धेरै भएकाले उनीहरूलाई तत्काल बासको दु:ख हुँदैन । थोरै भए पनि खेतबारी छ । त्यस कारण सरकारले प्याकेज ल्याएर तिनलाई कृषिमा आकर्षित गर्न सकिन्छ ।”
हुन पनि ३–४ महिनापछि नै उत्पादन दिन थाल्ने भएकाले कृषिमा तत्कालको निर्वाहलाई पनि टार्नेछ । गुरुङ कोरोनाले न्यूनतम खाद्यान्नमा आत्मनिर्भर हुनैपर्ने देखाएकाले नेपालको कृषिलाई पुनरुत्थान गर्नुपर्ने बाध्यता ठान्छन् ।
गुरुङको अर्को सुझाव भने अहिले फर्किने युवालाई मेलम्ची खानेपानी, माथिल्लो तामाकोसी, पोखरा र भैरहवा विमानस्थलजस्ता आयोजनामा काममा लगाउन सकिन्छ ता कि तत्काल रोजगार पनि पाउँछन्, समयमै निर्माण पनि सकिन्छ । र, त्यसपछि २३ वटा गौरवका आयोजना निर्माणमा तीव्रता दिएर खाडीबाट फर्केका युवालाई परिचालन गर्न सकिन्छ ।
त्यसमा बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ पनि सहमत छन् । खाडी मुलुकमा काम गरेको सीपको पहिचान गरेर युवालाई परिचालन गर्ने योजना बोर्डले बनाएको बताउँछन् । श्रेष्ठ भन्छन्, “खाडीबाट फर्केका युवालाई पहिलो– कृषि, दोस्रो– पूर्वाधार निर्माण र तेस्रो– सीपअनुसारको रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम र बोर्ड सचिवालयले पनि उनीहरूको सीपअनुसारको रोजगारीका उद्यम तय गर्न सक्छन् ।”
अहिले पनि कृषिमा औपचारिक र अनौपचारिक गरी करिब २५ लाख आबद्ध भएको मानिन्छ । त्यसरी हेर्दा सम्भावित करिब २५ लाख बेरोजगारलाई कृषि क्षेत्रले मात्रै धान्न भने सक्ने छैन । त्यसमाथि युवामा घट्दो कृषि मोह र बढ्दो जग्गा बाँझिने क्रमका कारण विज्ञले भनेजस्तो सहजै रूपमा कृषिको पुनरुत्पादनमा उनीहरूलाई जोड्न सक्ने देखिँदैन ।
योजना आयोगका पूर्वउपाध्यक्ष श्रेष्ठ पनि बेरोजगार युवालाई तत्काल जोड्नुपर्ने क्षेत्रमा कृषिलाई नै देख्छन् । भन्छन्, “कोरोनाका कारण उत्पादन कम हुन्छ र आपूर्ति अवरोधले उद्योग सञ्चालनको स्रोत र वातावरण हुँदैन । त्यस कारण आत्मनिर्भरका लागि कृषिमै जोड्नुपर्छ ।”
श्रेष्ठ नेपालको पर्यटन उति नफस्टाइसकेकाले स्वास्थ्य जाँचमा विश्वास दिलाउन सके यो क्षेत्रले छिटो लय समात्ने आकलन पनि गर्छन् ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...