महामारीमा महिला स्वास्थ्यकर्मीका पीडा
आइसोलेसन, क्वारेन्टाइन, कोरोना हेल्थ डेस्कमा आवश्यक सुरक्षा सामग्रीसमेत नपाएर रेनकोट लगाएर खटेका सुत्केरी आमाहरू घर फर्किएर आफ्ना बच्चालाई दूध चुसाउन सक्लान् ?
सरकारले बुझोस्– डाक्टर,नर्स रोबोट होइनन्, स्वीच अन गरेको भरले चल्ने । तिनलाई पनि अरु मान्छेलाई झैँ मृत्युको भय हुन्छ । तिनको पनि परिवार हुन्छ । आत्मसम्मान हुन्छ ।
भारतमा लकडाउन घोषणा गर्नु दुई दिनअघि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई आह्वान गरे, यो कोरोना प्रकोपविरुद्ध ज्यान जोखिममा राखेर काममा खटिने स्वास्थ्यकर्मीका सम्मान खातिर आआफ्ना कौसीमा निस्केर ताली बजाऊँ, थाली बजाऊँ !
सरकार आफैँले घोषणा गरेको ‘सोसल डिस्टेन्स’ का लागि ‘जनता कर्फ्यु’ चलिरहेको समय थियो यो । सत्ताधारी दलका निकटस्थ र तिनका लहैलहैमा कुद्ने ठूलो जन–जमातले कौसी, बार्दली मात्रै होइन, मध्यचौराहमै निस्केर बडो उल्लासका साथ ताली, थाली, ढोल, नगरा बजायो । शंख फुक्यो । घण्ट ठोक्यो । रोचक कुरा, जनता कर्फ्युको ‘शानदार’ असफलतामा ताली, थाली बजाउने सरकारी अपिलकै मुख्य भूमिका रह्यो ।
तर, त्यहाँँका सत्तापन्थी चाटुकार मिडियाले ताली, थाली, ढोल र अनेकथरी बाजाको गौरवमा महागाथा बुने । सरकारी आह्वानमा सम्पन्न यो तमासाको दुनियाँभरि प्रशंसा भएको डंका पिटे । सही र सत्यको प्रवक्ता बन्नुपर्ने मिडिया नै सत्तासँग बेचिएर सत्ताकै सुविधाअनुकूलको भरिया बनेपछि नागरिकका घरघरमा के पुग्छ ? कस्तो चेतना पुग्छ ? न यसरी बाजागाजा गरेर स्वाथ्यकर्मीको सम्मान हुनु, न त्यसले कोरोना प्रकोपविरुद्ध कुनै सकारात्मक भूमिका खेल्नु !
उता स्वास्थ्यकर्मीहरू भने आधारभूत सामग्रीको समेत अभावमा कसरी बिरामीको उपचारमा खटिने ? प्रश्न तेरर्स्याइरहेका थिए । यसबीचमा हरियाणाकी एक डाक्टरले आक्रोशित भावमा ट्वीट गरिन्, ‘थाल बजाउनेहरूलाई भन्दिनू, ती आइपुगुन्जेल हामी चिहानमा पुग्ने छौँ । एन–९५ मास्क हाम्रो चिहानमा पठाइदिनू ।’ भरे, ती डाक्टरविरुद्ध श्लील, अश्लीलको घेरा तोडेर तिनै भाजपा समर्थक घृणा र अपमानको ओइरो लगाएर खनिए । खप्नै नसक्ने ट्रोलका कारण ती डाक्टरले पछि त्यो ट्वीट नै मेटाइदिइन् ।
राज्यले गर्नुपर्ने त बिरामीको परीक्षणका लागि सामग्रीको व्यवस्थापन थियो । स्वास्थ्यकर्मीका लागि अत्यावश्यक पीपीई, मास्क लगायत चिजको छिटोभन्दा छिटो आपूर्ति गर्नुपर्ने थियो । ‘मोदी है तो सब ठीक है’ भन्ने अन्धभक्त र तिनले फैलाउने सूचनाका भरमा चिप्लो बोलीको रणनीतिले आम जनताको दिमाग भुट्दै आएका मोदीको आह्वान कतिसम्म गैरजिम्मेवार थियो ? त्यसमाथि बहस गरिरहनु परेन ।
त्यो आह्वानलाई हिन्दुत्वको रङ दिएर सडकमा उत्ताउलिएको मैमत्त हुल्लडबाजीमाथि धेरै भारतीय बौद्धिकहरूले रुखो टिप्पणी गरिरहेका छन् । सामाजिक सञ्जालमा जोडिएका कतिपय भारतीयले तिखो व्यंग्य र आलोचना गर्दै लेखेका छन्, ‘कुनै दिन मोदीजीले कौसी कौसीमा निस्केर उल्टो झुण्डिनू, यसरी झुण्डिए कोरोना भाग्छ भने र मान्छेहरू आफ्ना कौसीमा निस्केर उल्टो झुण्डिए भने छक्क नपरे हुन्छ ।’
यो पनि पढ्नुस
आइसोलेसन, क्वारेन्टाइन, कोरोना हेल्थ डेस्कमा आवश्यक सुरक्षा सामग्रीसमेत नपाएर रेनकोट लगाएर खटेका सुत्केरी आमाहरू घर फर्किएर आफ्ना बच्चालाई दूध चुसाउन सक्लान् ?
भारतमा देखिएका शृंखलाबद्ध मुर्खताहरू देख्दा यस्तो दिन पनि नआउला भन्न सकिन्न । चार दिनअघि मात्रै प्रकाशित लेखक अरुन्धती रोयको लेखले यसबारे धेरै कुरा बोलेको छ । यस्तो मुर्खतापूर्ण हर्कतलाई भाजपा समर्थक र तिनको प्रभावका मानिसबाहेक कुनै विवेकशील भारतीयले अनुसरण गरेको छैन भन्ने प्रस्ट नै छ ।
त्यसयता अस्ति दिउँसो मात्रै पनि मोदी महोदयले उस्तै प्रकृतिको अर्को आह्वान गरे– राती ९ बजेर ९ मिनेटको ‘मुहूर्त’ मा ९ मिनेटका लागि कौसीकौसीमा निस्केर कोरोना प्रतिरोधका खातिर दियो बाल्नुहोला ! यसपटक पनि मानिसहरूले उत्साहका साथ बत्ती मात्रै बालेनन्, राँका बाले, पटाका पड्काए,नारा लगाए र भने, ‘गो ब्याक, गो ब्याक : चाइनिज भाइरस गो ब्याक !’ यस्तो गर्ने समूहको नेतृत्व सरकार समर्थक सांसदले नै गरेका थिए । यसबारे सूचना सञ्जालमा अद्यावधिक हामी जोकोही जानकारै छौँ ।
पटाक्षेप त तब भएको छ, जब मानिसहरूले थाहा पाए अस्ति साँझको दीपावली अपिल खासमा भाजपा स्थापना दिवसको पूर्वसन्ध्या ‘सेलिब्रेसन’ लाई पो रहेछ !
कुरा के मात्रै हो भने, जति मुर्खतापूर्ण शैलीमा भारतीय संस्थापन र त्यसका नाइके नरेन्द्र मोदी लागेका छन्, त्यसको हुबहु सिको नेपालमा पनि गरियो । आफूलाई वैकल्पिक भनाउन रुचाउने राजनीतिक पार्टीले समेत ताली महात्म्यको नेपाली संस्करण मञ्चन गरे । अस्ति साँझ काठमाडौँलगायत मुख्य सहर र तराईमा समेत गरिएको दीप प्रज्वलनको नेपाली संस्करणबारे पनि समाचारहरू आए । समस्याको मुख्य विन्दुलाई उपेक्षा गरेर स्वास्थ्यकर्मीको सम्मान भन्दै र कोरोना भगाऊँ भन्दै यस्ता बहुलठ्ठी हर्कतको पछाडि लाग्ने प्रवृत्तिले हामी कहाँ पुग्ने हो ?
०००
जब कि देशका अरु अस्पतालको त कुरै छोडौँ, कोरोना उपचारको मुख्य थलो टेकु अस्पतालमै अझसम्म पनि स्वास्थ्यकर्मीहरू पीपीईको अभावमा रेनकोट लगाएरै सेवामा खटिनुपरेको छ । कतिपय स्वास्थ्यकर्मीमाथि घरपेटीले दुर्व्यवहार गरेका समाचार बाहिरिएका छन् । उनीहरूको व्यक्तिगत जीवन अस्तव्यस्त भएको छ । खाने, सुत्ने ठेगान छैन । ती आफ्नै परिवारसित अछुत भएर निरन्तर सेवारत छन् । त्यसमाथि विश्वभरि कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी नै उल्लेख्य संख्यामा संक्रमित भइरहेका समाचार आइरहेका छन्, जसमध्ये केहीको मृत्यु समेत भइसकेको छ । यस्तो बेला सुरक्षा साधनबिनाको स्वास्थ्यकर्मी के सोचेर हरेक दिन अस्पताल जान्छ होला ?
गतिला सामग्रीको अभावमा कुनै पनि बेला संक्रमित होइने खतरा मोलेरै पनि स्वास्थ्यकर्मीहरूले गरेको प्रयत्न मानवताको उत्कर्ष हो । त्यसको सम्मान गर्न करोडौँ करोड ताली र दीपबत्ती पनि असमर्थ छन् जब उनीहरूको वैयक्तिक सुरक्षामै राज्य र नागरिक दुवै स्तरका मान्छे गम्भीर छैनन् भने । तर यस्तो परिस्थितिप्रति सरकार हुनुपर्ने जति गम्भीर छैन, मात्रै होइन मौकामा चौका हान्ने चोर नियतका मान्छेले घेरिएको छ । उल्टै त्यस्ता मान्छेको अनुहार जोगाउन कुरुप शैलीले प्रतिरक्षामा समेत उत्रेको छ ।
यस्तो बेला सरकार बाहिरका दल र प्रबुद्ध भनिएकाहरू नै ताली र दियोको पछि दगुर्ने हो ?
यो पनि पढ्नुस
विश्व स्वास्थ्य संगठन जस्तो विश्वको स्वास्थ्यको जिम्मा लिएको संस्थाको भनाइ पनि गलत सावित हुन सक्छ भने हामी झुक्किनु वा गुमराहमा पर्नु कुन ठूलो कुरा भयो र ? यस्तो बेला कसरी जोगिने ?
कोभिड–१९ को प्रकोपलाई यतिखेर विश्वयुद्ध सरहकै आतंक मानिएको छ । वैश्विक महाव्याधि घोषित यो प्रकोपसँग प्रत्यक्ष लड्ने सेना स्वास्थ्यकर्मी नै हुन् । यसमा दुई मत छैन । तर, उनीहरूका लागि राज्य र उसको तत्परता सबभन्दा बलियो ‘ब्याक अप’ हो, जुन हाम्रो देशमा यतिखेर पटक्कै अनुभव गर्न पाइएको छैन । राजनीतिक दलहरू, नागरिक समाज, सामाजिक संगठनहरू, निजी अस्पतालहरू र सचेत वर्ग उत्तिकै जिम्मेवार शक्ति हो । तर एकादुई व्यक्तिगत प्रयासबाहेक त्यसको समेत अनुभव गर्ने ‘सौभाग्य’ जनतालाई प्राप्त छैन !
कोरोनाले दैलोमै आएर साइरन बजाइसक्दा पनि त्योसँग प्रतिरोध गर्ने सरकारी तयारी झण्डै शून्य थियो । डाक्टरहरूले खैलाबैला गरे– हामी लड्न तयार छौँ तर हतियार खोइ ? स्वास्थ्यमन्त्रीले उत्तर फर्माए, भात पकाउन पनि पीपीई चाहियो भन्ने मनोविज्ञान स्थापित हुने डर भो !
तीन करोड नेपालीले आफ्नै पुर्पुरो ठोकेर आफूलाई धिक्कार्ने योभन्दा निकृष्ट अभिव्यक्ति अर्को के हुँदो हो ?
त्यसलगत्तै, स्वास्थ्य सामग्री खरिद एउटा अजंगको प्रोपागान्डा बन्यो । सरकारभित्रका तुलनात्मक शालीन र बौद्धिक भनिएका मन्त्रीले नै सञ्चार माध्यम र आलोचकलाई लक्ष्य गरेर गिद्ध र फूलको विम्ब रचे । भूतपूर्व लेखक जो परे ! उनी शब्द ज्ञान र भाषाको पकडलाई यति निकृष्ट रुपमा उपयोग गर्ने विवेकको दुर्भिक्ष भोगिरहेका प्राणी होलान् भन्ने अनुमान कम्तीमा सचेत वर्गले गरेको थिएन । एकप्रकारले, जे भयो, ठीकै भयो । पर्दा उघ्रियो ! उनीमाथिको भ्रम पनि अब समाप्त भयो ।
स्वास्थ्य सामग्री आयातका नाममा खेलिएको खेलको नांगो कहानी स्वास्थ्यकर्मी र जनतामाथिको कति ठूलो धोका हो, धोकेबाजहरूले अहिल्यै त किन बुझ्थे ? बाँची बसे आगामी चुनावमा जनताले ‘चुन चुन के’ त्यसको मोल चखाउलान्, प्रतीक्षा गरौँ ।
यतिखेर मानव सभ्यताको धुरीखाँबो स्वास्थ्यकर्मीका काँधमा अडिएको छ । उनीहरूको मनोबल बढाउन बोली होइन, व्यवहार चाहिएको छ । आज दुनियाँभरका सयौँ स्वास्थ्यकर्मी आफ्नो प्राण हत्केलामा लिएर अस्पतालका वार्डहरूमा भिडेका छन् । युद्धपिपासु शक्तिराष्ट्रका नाइकेहरू जो बुलेट र बारुदको भाषामा मात्रै एक अर्कासित लड्न अभ्यस्त थिए, तिनको बाह्र बजिरहेको छ यतिबेला । अब अस्तित्वरक्षाका लागि परमाणु अस्त्र निर्माणको प्रतिस्पर्धा होइन, जीवविज्ञानका प्रयोग, परीक्षण र आविष्कारमा द्रुत सहकार्य हुन आवश्यक रहेछ भन्ने तत्वबोध तिनलाई अवश्य भएको हुनुपर्छ । अहिलेसम्म नभए पनि अब यस्तो बोध नभई सुखै छैन ।
यति बेला स्वास्थ्यकर्मी नै मानव जीवनका निर्धारक भएका छन् । तर उनीहरूसँग केवल सीप छ, समर्पण छ । रहस्यमय र दैवी शक्ति छैन । त्यसो हुन्थ्यो भने कोरोनाको यो महावेदीमा उपचार गर्दागर्दै तिनको बलि चढ्दैनथ्यो । त्यस अर्थमा तिनको बलिदान शहादतभन्दा कुनै पनि अर्थमा कम छैन । भारतमा केजरीवाल सरकारले उपचारका क्रममा मृत्युवरण गर्ने स्वास्थ्यकर्मीलाई सहिद घोषित गर्ने र आश्रित परिवारलाई एक करोड धनराशि प्रदान गर्ने भनेको छ । सुन्दा निर्मम सुनिन्छ तर राज्यले जिम्मेवारीसहित यति बोल्नु पनि कम्तीमा एक तहको सुरक्षा हो । तर यस्तो कुरा पनि केजरीवालजस्तै जिम्मेवार शासकमा मात्रै लागु हुन्छ । संकटको समयमा घोषणा गर्ने र पछि गएर आफ्ना हरेक घोषणासँग निर्लज्ज रुपले तर्किनेहरूसँग यस्तो अपेक्षा पाल्नु व्यर्थ छ ।
०००
यो पनि पढ्नुस
उनको भाषा पूरै त बुझ्दिनँ तर यतिचाहिँ बुझ्छु, उनी भनिरहेका छन्- हाम्रो बालबच्चा, परिवार भोकै छन् । के तिमीले खान दिन्छौ ? म स्तब्ध हुन्छु । के उनको आवाज सरकारले सुन्यो त ?
अझै पनि कोरोना उपचारकै लागि त्यस्तो खास पद्धति पत्तो लागेको छैन । यसको छुट्टै र विशिष्ट उपचारप्रक्रिया छैन । त्यसैले सेल्फ आइसोलेसन र सफाइमा सतर्कताका लागि नै लागि जोड दिइएको छ । सकेसम्म संक्रमित हुनै नपर्ने गरी घरमै बस भनिएको छ । संक्रमित भइहालेर अस्पताल जानुपर्दा निरन्तर स्वास्थ्यकर्मीको निगरानी र सेवामै भर पर्नुपर्ने हुन्छ । डाक्टरहरू भन्छन्, लक्षण हल्का हो या गम्भीर, त्यसका आधारमा अड्कलेर उपचार गरिन्छ । रक्तचाप तलमाथि हुन थाले, पखाला चले, दुखाई बढे प्रचलित औषधी नै दिने स्थिति छ । श्वासप्रश्वासमै समस्या हुन थाले भेन्टिलेटरमा राखेर अक्सिजन दिने । सकेसम्मका उपाय लगाएर प्रतिरोधात्मक क्षमता बढाउने र निको पार्ने । त्योभन्दा अर्को तरिका छैन ।
यी प्रत्येक अवस्थामा डाक्टर, नर्स र प्रयोगशालाकर्मीदेखि सम्बन्धित वार्डमा काम गर्ने सफाइ कर्मचारीसम्मको भूमिका सर्वोपरि छ । तर नेपालमा भने उनीहरूले कार्यस्थलमा अपनाउनुपर्ने सुरक्षाकै सामग्रीको खरिदप्रक्रियामै गम्भीर अपराध भएको छ । किनभने यो सामान्य अवस्थामा भएको त्रुटि होइन, नियतवश गरिएको प्रपञ्च हो । आम जनसाधारण र स्वास्थ्यकर्मीले यो अपराधको हिसाबकिताब भुल्ने छैनन् ।
तै, यतिका समय बितिसक्दा पनि स्वास्थ्यकर्मीका हातमा सुरक्षा सामग्री छैनन् । अहिले पनि उनीहरू कम गुणस्तरका पीपीई र रेनकोट लगाएर काम गर्दैछन् । जबकि कतिपय मन्त्री र जनप्रतिनिधिका परिवार पीपीईसहितको फोटोसेसन गर्दै फेसबुक रंग्याउँदैमा दंग छन् ! यसैलाई भन्छन्, राष्ट्रिय लाजको पसारो !
यी सबै कुराले गर्दा स्वास्थ्यकर्मीहरू सरकारप्रति रत्तिभर विश्वस्त हुन सकेका छैनन् । अहिलेसम्म जे चलिरहेको छ, ‘रामभरोसे’ चलिरहेको छ । भोलिका दिनमा स्थिति कति सुध्रिएला? पत्तो छैन । भरतपुर अस्पतालमा कार्यरत सिनियर नर्स भवानी पौडेल भन्छिन्, “अहिलेसम्मको अवस्था डर लागिहाल्ने खालको छैन तर प्रत्येक दिन अस्पताल जाँदा सशंकित हुँदै जानुपर्ने छ । पीपीई छैन । भरपर्दो मास्कसम्म छैन । भए त ६ घन्टा मात्रै किन ? डबल ड्युटी नै गर्न तयार छौँ हामी ।”
उनी थप्छिन्, “हरेक दिन अस्पतालबाट फर्किंदा छिमेकीहरू मैले कोरोना नै लिएर आएको जसरी हतारहतार आफ्ना घरभित्र पस्छन् । बोल्नसम्म हिचकिचाउँछन् । महिनादिनदेखि परिवारसँगै अलग्गिएर छुट्टै कोठामा बस्नु परे पनि, छिमेकीले छोइछिटो गरे पनि राज्यले सुरक्षा साधन मात्र दिए कत्रो हौसला हुन्थ्यो ! सबै कुरा सहन सकिन्थ्यो तर राज्य त बिनासाधन सय प्रतिशत भत्ताको लोभ देखाएरै हामीलाई मैदानमा उत्र भन्छ !”
भरतपुर अस्पतालकै नवनियुक्त अध्यक्ष तथा चितवनमा गठित कोरोना नियन्त्रण कार्यदलका सदस्यसचिव डा भोजराज अधिकारी भन्छन्, “अहिले तत्काल जरुरी भनेको पीपीई र एन–९५ मास्क नै हो । हामीकहाँ उपलब्ध स्थानीय स्तरमा बनेका पीपीई त्यति भरपर्दा छैनन् । किनभने तिनको गुणस्तर परीक्षण नै गरिएको छैन । तैपनि ती कामै नलाग्ने भन्ने चाहिँ होइन । अस्पतालको कम जोखिमपूर्ण क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागि ती अनुपयुक्त नहोलान् तर गम्भीर बिरामीको उपचारमा खटिनेका लागि विश्व स्वास्थ्य संगठनले निर्देश गरेको मापदण्ड अनुसारकै पीपीई अनिवार्य छ । भत्ता या अन्य आर्थिक सुविधा दोस्रो कुरा हो, सबभन्दा पहिले पीपीई चाहियो । तर खै पीपीई ?”
भोजराज तिनै डाक्टर हुन् जसले राज्यस्तरबाट कुनै तयारी नथाल्दै पहिलोपल्ट चितवनमा कोरोना विशेष अस्पतालको अवधारणा ल्याए । युवा डाक्टर र सक्रिय फिजिसियन हुनुका नाताले कोरोना प्रकोपसँग युद्धस्तरमा भिड्नुपरे के गर्ने होला भन्ने भयानक कल्पनाले उनलाई बेचैन नबनाएको भए कोरोना अस्पताल बन्थ्यो, बन्दैनथ्यो वा बने पनि कहिले बन्थ्यो ! यी कुरा अब तपसिलमा छन् । बेलैमाथि चितवनमा यो अस्पतालको सेवा थाल्दा यिनी कोरोनाविरुद्धको अग्रमोर्चामा देखिएर संकटले जन्माएको ‘नायक’ बने । यसले धेरैलाई हौसला मिल्यो । त्यसैले उनले स्थानीय सरकार र नागरिक स्तरको सहयोग र समर्थन पाएका छन् । कोरोनाविरुद्धको उनको अनुभवले धेरैलाई उत्प्रेरित गर्न सक्छ ।
यो पनि पढ्नुस
विदेशका अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको सुझाव छ- नेपालमा लकडाउन अझै लम्ब्याउनु उचित हुन्छ ।
भरतपुर अस्पतालका अध्यक्ष बनेपछि दुवै अस्पताललाई ‘टाई–अप’ गरेर निजी अस्पताल र यहाँका दुई ठूला मेडिकल कलेजसँग समेत समन्वय गर्दै काम गरेका यिनीसित कोरोनासँगको युद्ध जित्ने अर्थपूर्ण खाका र योजना छन् । कोरोना अस्पतालजस्तै ७२ घण्टे टार्गेट लिएर स्थापित कोरोना परीक्षण ल्याबले उनी केही ढुक्क त छन् तर नेपालको परीक्षण प्रणाली चीन वा युरोप अमेरिकाको जस्तो विश्वसनीय बनाउने कुरामा ध्यान नजाँदा आइपर्ने दुर्घटना सम्झेर कहालिन्छन् ।
डा अधिकारीका अनुसार, प्रारम्भिक स्तरका बिरामीका नाकमुखबाट लिइने स्वाब परीक्षणको नतिजा नेगेटिभ नै निस्के पनि त्यो फल्स नेगेटिभ हुने सम्भावना अधिक हुन्छ । श्वासनलीको तल्लो भाग र फोक्सोबाटै स्वाब लिएर जाँच्ने प्रविधि भए र बिरामीलाई प्रत्यक्ष निगरानीमा राखेर पटकपटक परीक्षण गरिए मात्रै पोजेटिभ र नेगेटिभ नतिजाको अर्थ हुन्छ । तर यस्तो प्रविधि र व्यवस्था कहिले थालिएला ? उनलाई पनि थाहा छैन ।
सरकारकै मात्र मुख ताक्नु राम्रो होइन भनेरै उनी आफ्नै आत्मबलले यसरी लागे तर सरकारका विवादित काम र निर्णयले दिक्क छन् । भन्छन्, “सरकार पटकपटक स्टेटमेन्ट फेरिरहन्छ, त्यसबाट स्वास्थ्यकर्मीको मनोबल गिर्न सक्छ भन्ने हेक्का राखेको देखिन्न । लाइसेन्स खोस्नेसम्मको निर्देशन आउँदा स्वास्थ्यकर्मीको मनोदशा के होला ? हामीसँग एकसे एक इच्छाशक्ति र समर्पण भएका डाक्टर, नर्स छन् । सरकारसित तिनलाई परिचालन गर्ने विवेकसम्मत योजना र भाषा हुनुपर्यो ।”
यतिबेलै, आयरल्यान्डका प्रधानमन्त्री डा लियो बराडकरले हप्तामा एक दिन अस्पताल गएर उपचारमा संलग्न हुने निर्णय गरेको समाचार आएको छ । उनी एक स्वास्थ्यकर्मी नै भएकाले स्वास्थ्य सेवाको मूल्य आत्मसात गरे र नै स्वास्थ्यकर्मीको हौसला बढाउन यसरी तत्परता देखाए । सबै देशका प्रधानमन्त्री वा मन्त्रीले त्यसै गर्नुपर्छ भन्ने होइन तर आजको संकटको सबभन्दा जोखिमपूर्ण क्षेत्रमा काम गर्ने मानिसहरूप्रति राज्य सकेसम्म र अधिकतम संवेदनशील हुनु अनिवार्य छ । कुरा यो हो ।
सरकारले बुझोस्– डाक्टर,नर्स रोबोट होइनन्, स्वीच अन गरेको भरले चल्ने । ती सजीव प्राणी हुन् । तिनलाई पनि अरु मान्छेलाई झैँ मृत्युको भय हुन्छ । तिनको पनि परिवार हुन्छ । आत्मसम्मान हुन्छ । तिनीहरू पार्टीका मौसमी चाकर र हनुमान होइनन् । यद्यपि, पुँजीवादी व्यवस्थाले डाक्टरी पेसालाई हदैसम्म पैसामुखी र यान्त्रिक बनाइदिएको छ र तर सबै त्यस्तै हुन् या छन् भन्ने होइन । भए नै पनि हरेक स्वास्थ्यकर्मीलाई सेवामुखी बन्न उत्प्रेरणापूर्ण आह्वान गर्ने र उनीहरूबाट हार्दिक सहयोग लिने बेला हो यो । कतिपय अवस्थामा राज्य कठोरै बन्नुपर्ला रे तर त्यसमा पनि सुरक्षासाधनको प्रत्याभूतिबिनाको कठोरता हत्यासरह हो । यसो गरिनु किमार्थ क्षम्य छैन ।
यतिखेर संकटको मोहरी पार गर्न स्वास्थ्यकर्मीलाई मानवीय व्यवहार चाहिएको छ । निख्लो भत्ताको छुद्र लोभ होइन, सकेसम्मका सुरक्षाको ग्यारेन्टी चाहिएको छ । जबर्जस्ती चेतावनी होइन, हौसला र सम्मानको भाषा चाहिएको छ ।
सरकारलाई नागरिकका भावुकता र सुझावहरू मन पर्दैनन्, थाहा छ तर हेक्का रहोस्, यो आग्रह पूरापूर सरकारकै हितमा छ ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...