४० दिन भइसक्यो, अझै रमिता छ
प्रश्न यो महामारीबाट सक्दो छिटो जनतालाई निकाल्न राज्यले प्रत्येक दिन के गर्दैछ भन्ने हो, न्युनतम जवाफदेहिता र पारदर्शिताको हो । यी सबै परीक्षाहरूमा प्रधानमन्त्री ओली अनुत्तीर्ण छन् भन्नलाई कोही किन डराइरहोस् ?
वामदेवलाई प्रधानमन्त्री प्रस्ताव हाडी जोगाउन पाडी काटे जस्तै हुन्छ । अन्तिममा न नेकपाको सरकार रुपी हाँडी रहन्छ, न पाडी रुपी नेकपा नै रहने छ ।
गत बुधबार सुरु नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले कोरोना संकट टरेपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरेर संविधान संशोधन गर्ने वा नेकपाको कुनै एक निर्वाचित प्रतिनिधिसभा सदस्यलाई राजीनामा दिन लगाई त्यो क्षेत्रबाट गौतमलाई जिताएर प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको समाचार छ । यसै विषयमा ओलीसँग ठोस प्रस्ताव माधव नेपाल पक्षले माग गरेको छ । र, आजै दिउँसो ४ बजे नेकपाको सचिवालयको बैठक बस्दै छ ।
कोरोना भाइरसको वैश्विक महामारीले गर्दा देश लकडाउनको अवस्थामा छ । लाखौ दैनिक ज्यालादारी मजदुर, सडकमा पसल गर्ने, रिक्सा चालक, बालुवा चाल्ने, ढुङ्गा गिट्टी कुटेर जीविका गर्ने, इट्टाभट्टामा काम गर्ने, चिया टिप्ने मजदुर, घर पसलमा काम गर्नेको जीवन जोखिम छ । लाखौँ मान्छे सरकारले सरकारले केही गर्छ भन्ने विश्वास नलागेर पैदलै थातथलोतर्फ लागे । देशको प्रमुख रोजगारी सिर्जना गर्ने साना तथा मझौला उधोग र व्यवसाय ध्वस्त छ । तर, जसको मुक्तिको लागि राजनीति गरेको भन्ने राजनीतिक दलको नेतृत्व र सरकारको नेतृत्व गुटगत सत्ता साझेदारीको दाउपेचमा व्यस्त रहेको छ ।
कोराना संकट आउनु केही महिना पहिले पनि गौतमलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउने चर्चा चलेको थियो । त्यस बेला पनि बुद्धिजीवी, पत्रकार, नागरिक समाज र राजनीतिक दल सबै तहमा आलोचना भएको थियो । ओलीले त्यो बेला यो प्रस्ताव आफैँले अस्वीकार गरेका थिए । तर, अहिले उनले आफैँले यो प्रस्तावलाई ब्युँत्याएका छन् । यो प्रस्तावको परिणाम सर्वथा नकारात्मक छ ।
यो पनि पढ्नुस
प्रश्न यो महामारीबाट सक्दो छिटो जनतालाई निकाल्न राज्यले प्रत्येक दिन के गर्दैछ भन्ने हो, न्युनतम जवाफदेहिता र पारदर्शिताको हो । यी सबै परीक्षाहरूमा प्रधानमन्त्री ओली अनुत्तीर्ण छन् भन्नलाई कोही किन डराइरहोस् ?
पहिलो, संसदीय व्यवस्थाको मर्म भनेको प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित व्यक्ति बन्ने हो । जस्तोः नेपालमा प्रतिनिधिसभा, भारतमा लोकसभा, अथवा बेलायतमा ‘हाउस अफ कमन्स’को विश्वास पाएको व्यक्ति प्रधानमन्त्री हुन्छ । यी सबै देशमा द्विसदनात्मक संसदीय व्यवस्था छ । र, सबैमा प्रधानमन्त्री बन्न तल्लो सदनको सदस्य बन्नु अनिवार्य छ । भारतमा चाहिँ अलिकति सहजता छ, पहिले प्रधानमन्त्री भएर ६ महिना भित्रमा लोकसभाको सदस्य बन्न मिल्छ । तर, त्यहा राज्यसभाको सदस्य प्रधानमन्त्री बन्न सक्दैन । बेलायतमा ‘हाउस अफ लड्स’को सदस्य प्रधानमन्त्री बन्न सक्दैन । नेपालमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था भएकोले समानुपातिक प्रतिनिधित्व गरेर आएको व्यक्ति पनि प्रधानमन्त्री बन्नु हुँदैन ।
संसारभरि संसदीय व्यवस्थामा प्रधानमन्त्री हुन जनताको प्रत्यक्ष विश्वास भएको ‘ट्रस्टेड’ मान्छे नै हुनुपर्छ । त्यसैले संविधान संशोधन गरेर गौतमलाई राष्ट्रियसभामा मनोनित गरेर प्रधानमन्त्री बनाउन खोज्नु यो पद्धति र व्यवस्थाको मर्मको विपरीत हो ।
दोस्रो, गौतम प्रतिनिधिसभा सदस्य बन्न अर्को निर्वाचनसम्म कुर्नै पर्छ । उनी गणतन्त्रको पहिलो प्रतिनिधिसभा निर्वाचन एकपटक हारिसकेका व्यक्ति हुन । उनलाई निर्वाचित व्यक्तिलाई राजीनामा दिन लगाएर पहिलो प्रतिनिधिसभामा सदस्य निर्वाचित गर्न खोज्नु पनि संसदीय आचरण, व्यवहार संस्कार मेल खाने विषय होइन । साथै कसैले राजीनामा दिएर सम्पन्न निर्वाचनमा उनले विजय पाउने निश्चितता नहुने सम्भावना छ ।
नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यो प्रस्ताव सङ्गतिपूर्ण छैन । यो संसदीय राजनीतिमा एक किसिमको विकृति नै हो । संविधानले समाजलाई जोडर राख्छ भन्ने गरिन्छ । यसले समाजलाई विधिमा कायम गर्छ भनिन्छ । अहिले बहुमतको सरकारले जे पनि गर्न सक्छ भनेर सारा जनताले सडकमा कपडा खोलेर नाङ्गै बन्नुपर्छ भन्ने कानुन पास गरायो भने त्यसलाई जनताले मान्छन् र ? अहिलेको प्रयत्न संसदीय संस्कृतिमा त्यस्तै स्तरको कदम हो ।
यो पनि पढ्नुस
कोरोना महासंकटका बेला थप निरंकुश बन्न खोजेका प्रधानमन्त्रीको नैतिकताबारे उठाइएका सैद्धान्तिक प्रश्नलाई नेताहरूको पदीय व्यवस्थापनमा लगेर विषयान्तर गरियो
नेकपाको सचिवालय भित्र देखाएको शक्ति सन्तुलन र शक्ति संघर्षले करिब ३३ वर्ष अगाडि सुनेको लोककथाले सटिक प्रतिविम्वित गर्छ । प्रधानमन्त्री ओलीको शैलीसँग मिल्ने एक प्रसङ्ग छ :
धेरैले बिर्सिए होला मोरङ्गमा एक मजदुर नेता थिए, बमबहादुर खड्का । चाडै मरे, २०४५ सालतिर । उनी अत्यन्तै वाकपटु, तर्कशील र जनप्रिय वक्ता थिए । उनी विम्ब, लक्षणा, व्यञ्जना, उखान, तुक्का र लोककथा जोडेर सामान्य जनताले बुझ्ने भाषामा बोल्थे । गम्भीर विषय पनि सरल तरिकाले विद्यालयको मुख नदेखेका व्यक्तिले बुझ्ने भाषामा बोल्थे । उनले गरेको तीन घण्टाको भाषण पनि रोचक लाग्थ्यो । उनी जीवित भएको भए ओली उनको अगाडि फिक्कै लाग्थे होला सायद ।
मैलै उनलाई २०४३ साल बैसाख २९ गतेको लागि तय राष्ट्रिय पञ्चायतको निर्वाचन शिलशिलामा पहिलो पटक देखेको थिए । उनी जनपक्षीय उमेदवारको रुपमा निर्वाचनमा उठेका थिए । उनको निर्वाचन अभियानमा एउटा गीत खुुब चलेको थियो, “सुनसुन मोरङ्गका दाजुभाई भोट दिनु बमबहादुर खड्कालाई” । मेरो जेठो दाई कृष्ण भुर्तेल उनको प्रचार अभियानमा सक्रिय हुनुहुन्थ्यो । हामी केहि १२/१३ वर्षका साथीहरू हाम्रो क्षेत्रका ६–७ गाउँ पञ्चायतमा भएका चुनावी सभामा यो गीतमा नाच्थ्यौँ, उनको अभियानमा सहयोग र श्रोतलाई सांगीतिक मनोञ्जन दिन । त्यसपछि उनी एक, दुई, पाँच, दश रुपैयाँ उठाउँथे निर्वाचन अभियान सञ्चालन गर्ने वित्त जुटाउन । र, अन्तिममा भाषण गर्थे ।
यो पनि पढ्नुस
राष्ट्रपति र प्रधानन्यायाधीशसँगको निरन्तर संवाद र सुरक्षा निकायका प्रमुखसँग लिइरहेका ब्रिफिङहरूले देखाउँछन्, प्रधानमन्त्री परिस्थिति आफूअनुकूल बनाउने प्रयासमा छन् ।
त्यो बेला उनले भनेका धेरै लोककथा मध्ये एउटा कथा प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावसँग मिल्छ । खड्काले त्यो बेला उक्त लोककथा राजा र पञ्चहरुको नीति निर्माण गर्ने र निर्णय गर्ने क्षमतालाई व्यङ्ग गर्न प्रयोग गरेका थिए । उनी पञ्चायतको चाडो अन्त्य हुनुपर्छ भन्थे । पञ्च र राजाको कार्यशैली र व्यवहार यस्तै रहे देशै नरहने भन्थे । उनले भनेको कथा यस्तो छः
एकपटक तीन प्रौढ व्यक्तिले आफ्ना किशोरावस्थाका छोरासहित गाईभैँसी गोठ लिएर बेसी झरेछन् । गोठमा एक दिन एउटा पाडीले खानेकुरा खोज्दै जाँदा मकै भटमास भुट्ने हाँडीमा टाउको छिराएछ । टाउको छिराएपछि निकाल्न सकेन, पाडी करायो र यताउति दौडियो । तीनै जना भेला भए । पहिलोले भन्यो “हेर साइला, यो हाँडी फुट्यो भने मकै भटमास भुटेरै खानै हर्जा हुन्छ के गर्ने ।” के गर्ने भन्ने सही निर्णयमा पुग्न नसक्दा दोस्रो व्यक्तिले पहिलोलाई भन्यो, “हेर माल्दाई, यो पाडीको टाउको काटेर भए पनि हाडी त बचाउनु पर्छ ।” तेस्रोले तत्कालै खुकुरी निकाल्यो र पाडीको टाउको छिनाली हाल्यो । तरपनि पाडीको छिनेको टाउको हाँडीबाट बाहिर निस्केन । त्यसपछि झनै तीनै जनालाई फसाद भयो । हतासामा फेरि पहिलोले तेस्रोलाई भन्यो, “ए काइँला मलाई एउटा जुक्ति फुर्यो । हेर अब यो हाँडी फुटाउँ, पाडीको टाउको निस्कन्छ ।” काइलोले फेरि खुकुरीको पासाले हानेर हाडी फुटायो । जव हाँडीबाट पाडीको टाउको निस्कियो तब सबैको होस खुल्यो । पाडी पनि मारियो, हाडी पनि फोरियो । त्यसपछि तीनै जना बारीको डिल बसेर सुर्ति खान थाले । धुवाँ फालेर माइलाले भन्यो, “धन्य आज हामी मात्रै थियौँ, केटामोराहरू भएको भए के के गर्ने थिए ।”
यो पनि पढ्नुस
ओली सत्ता संकटको गाँठो फुकाउन नेपाल पक्षले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक सहित पावर शेयरिङको ठोस प्रस्ताव चाहेको छ
नेकपा भित्र ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावले भविश्यमा न नेकपाको बहुमत नै रहन्छ न त नेकपा भन्ने पार्टी रहन्छ । ज्यादतिको एक सीमा हुन्छ । जनताले जनप्रतिनिधि चुनेको हो । नेकपाका नेताहरू आराध्यदेव चुनेजस्तो भ्रममा छन् । जसले जसरी सत्तामा चढायो त्यसले त्यसरी नै सत्ताबाट ओराल्छ ।
संसार कोरोनाबाट आक्रान्त छ । आगामी वर्षको बजेट निर्माण गर्न राजश्वको श्रोत जुटाउन कठिन भएको अर्थमन्त्रालयका उच्चस्तरका कर्मचारी बताई रहेका छन् । अर्को वर्षको आयात धान्न विदेशी मुद्राको सञ्चितिको समस्या देखिने चिन्ता छ । तर, नेकपाको नेतृत्वमाथि सांसद अपहरण, किनबेचमा लागेको आरोप छ । नेकपाको यो दशा र दिशाले नेकपाको पाडी पनि मार्ने र हाडी पनि फोर्ने छ । र, अहिलेका तीन नेता ओली, प्रचण्ड, र माधव नेपाल त्यो बेला खड्काको कथाका माइला, साइला र काइला जस्तै धन्य हामीले गर्दा सरकार पनि रहेन, पार्टी पनि रहेन, अरुलाई दिएको भए के हुन्थ्यो भनेर बस्ने छन् । वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव हाँडी जोगाउन पाडी काटे जस्तै हुन्छ । अन्तिममा न नेकपाको सरकार रुपी हाँडी रहन्छ न पाडी रुपी नेकपा नै रहने छ ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...