कोरोना संकटले रोजगारी गुम्ने त्रासमा विदेशिएका नेपाली
विदेशमा डराइडराइ काममा गइरहेका नेपाली कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण रोजगारी नै गुम्ने हो कि भन्ने त्रासमा छन् ।
अस्ट्रेलियालाई लकडाउन गरिएको भए पनि नेपालमा जस्तो छैन । ठूलठूला जहाजहरूबाट कोरोना संक्रमितहरू सिड्नी ओर्लिरहेका । संक्रमितहरूको संख्या बढिरहेको छ । मानिसहरूको चहलपहल उस्तै छ ।
झन्डै ६ महिनाको भीषण आगलागी र खडेरीपछि राहतको श्वास फेर्न नपाउँदै चीनबाट उड्दै आएको कोरोना भाइरसको झिल्कोले अस्ट्रेलिया फेरि सल्किएको छ । आगलागी हुँदा महिनौँसम्म डढेलोको राप र धुवाँ आकाशमा देखिन्थ्यो । श्वास फेर्न गाह्रो भएर केटाकेटी अनि बूढाबूढी बिरामी हुँदै गएका थिए । निभ्दै ननिभेको आगोले सबैलाई पोलेको थियो । यतिबेला आकाश खुलेको छ । मान्छेको मन बन्द छ । हिजोको आकाशजस्तै भएको छ सन्त्रास, डर र आंतक र चिन्ताले । बाहिर हिँड्दा यही खुला आकाश र त्यसमा क्रमशः फैलिरहेको भाइरस कति बेला शरीरमा प्रवेश गरेर थिलथिलो बनाउने हो भन्ने चिन्ताले सबैको मन झन् बढी पोलेको छ ।
अस्ट्रेलियामा बसोबास गर्ने धेरैजसो नेपाली स्वास्थ्य क्षेत्रमा जागिरे छन् । जस्तोसुकै परिस्थितिमा पनि स्वास्थ्य क्षेत्र बन्द हुँदैन । अन्य क्षेत्रहरूतिर काम गर्नेहरूलाई राज्यमा कुनै संकट आउनेबित्तिकै या त छुट्टी हुन्छ या घरबाटै काम गर्ने व्यवस्था मिलाइन्छ । तर स्वास्थ्य क्षेत्रअन्तर्गत अस्पताल र नर्सिङ होममा काम गर्नेहरूले काम गर्न जानैपर्ने बाध्यता हुन्छ । मलगायत थुप्रै साथीभाइ, चिनेजानेका समुदायका व्यक्तित्व र आफन्त हामी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित छौँ ।
कोरोना भाइरस संक्रमित बिरामीहरूको उपचार गर्ने अस्पतालमा काम गर्ने साथीभाइलाई आफू स्वयं संक्रमित भइने त्रास र तनाव अनि परिवारका सदस्यलाई थाहै नपाई संक्रमण सारिने चिन्ता छ । सिड्नीमा रहेको राइड अस्पताल, जहाँ कोरोनाका बिरामीहरू उपचाररत छन्, मा कार्यरत एक नर्स फोनमा भन्दै थिइन्, "रगत टेस्ट गरेको रिपोर्ट लिएर आफ्नो रेगुलर डाक्टरलाई देखाउन जाँदा मेडिकल सेन्टरमा भेट्नै पाइएन । रिसेप्सनिस्टले ढोकाबाटै पस्न दिइनन् । गाडीमै बसेर डाक्टरसँग फोनमा बात मारेँ ।"
ती नर्सको भनाइले नै बताइरहेको छ- डेढ मिटरको स्क्वायरसम्म पर बसेको व्यक्तिबाट कोरोना भाइरस नसर्ने कुरा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूमै विश्वास छैन । अनि भाइरससँग बढी नै त्रसित भएको प्रमाण पनि ।
यो पनि पढ्नुस
विदेशमा डराइडराइ काममा गइरहेका नेपाली कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण रोजगारी नै गुम्ने हो कि भन्ने त्रासमा छन् ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सिंगापुरको उदाहरण दिँदै विद्यालय बन्द नगर्ने घोषणा गरे । कतिपय विद्यालयले कोरोना भाइरसको संक्रमणको डरले घरबाटै पढ्न मिल्ने गरी अनलाइन पढाइको व्यवस्था गरे । यो निर्णयले नेपालीलाई अन्योलमात्र होइन, त्रास र तनाव थपेको छ । केही अभिभावक आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने अडानमा छन् । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अभिभावकहरू आफ्नो काममा छुट्टी नमिल्ने हुनाले पठाउनैपर्ने बाध्यतामा छन् । बच्चाहरूलाई विद्यालय पठाऊँ भाइरस संक्रमणको डर, नपठाऊँ आफूले काम गर्नेपर्ने बाध्यता । अनि विद्यालय नगई घरमा बस्ने ती बच्चाहरूलाई कसले हेरिदिन्छ ?
एक हप्ताकै दौरान केही विद्यालयमा पढ्न गएका बच्चाहरूमा कोरोना भाइरसको संक्रमण देखिएपछि अभिभावकहरू थप त्रसित छन् । अहिले अस्ट्रेलियामा रहेका नेपालीहरूलाई सबैभन्दा ठूलो समस्या आफ्ना बच्चाहरूलाई कसरी सुरक्षित राख्ने भन्ने छ । केटाकेटीहरू घरमै बस्दा बाबुआमामध्ये एक जनाले हेर्नुपर्ने हुँदा छुट्टी मिलाउन नसक्नेहरूलाई निकै गाह्रो परिरहेको छ । बच्चाहरू पठाउने कि नपठाउने ? जागिर छोड्ने कि नछोड्ने ? अस्ट्रेलियाका आमाबाबु अहिले दोधारमात्र होइन, तनावमा पनि छन् ।
कोरोनाको संक्रमण फैलिनुअघि नै बजारमा ट्वाइलेट पेपरको हारालुछ र हाहाकार भयो । प्यानिक बाइङ गर्ने जमातले सबै ट्वाइलेट पेपर घरमा थुपार्न थाल्यो । शौचपछि पानी प्रयोग गरेर हुर्किएको नेपाली पहिलो पुस्ता जो अहिले बाबुआमा बनेका छन्, अधिकांशले भन्न थाले- 'हामीलाई त केही छैन, पानी छ । तर बच्चाहरूले पानी प्रयोग गर्न जान्दैनन् । उनीहरूलाई ट्वाइलेट पेपर नै चाहिन्छ ।' तर बजारमा ट्वाइलेट पेपर असहज छ ।
यो पनि पढ्नुस
आठ महिनादेखि मिर्गौलाको उपचार गराइरहेका सन्तोष यादव फलोअपका लागि भरतपुर पुगेका थिए । तर कोरोनाको शंकैशंकामा थुनुवाझैँ बनाएर राखियो । राम्रो उपचार नपाएरै उनको ज्यान गयो ।
अब फेरि दैनिक उपभोग्य सामान किन्न नै घन्टौँ लाइनमा बस्नुपर्ने भएको छ । सामान पाउन छाडेपछि अभिभावकहरू आफ्ना बच्चाहरूको रुटिन अनुसारको खानेकुरा खुवाउन नसक्ने पिरलोमा छन् । बच्चा हुने अधिकांश नेपालीको एउटै मुद्दा छ- ट्वाइलेट पेपर छैन, भाइरस संक्रमणबाट बच्न जति बेला जहाँ पनि प्रयोग गर्नुपर्ने स्यानिटाइजर छैन । हुँदाहुँदा दैनिक उपभोग्य सामग्री चामल, पिठो, पास्ता, मासुको अभाव छ । सागसब्जी र फलफूलको भाउ पाँच गुणा बेसी भएको छ ।
सामान नपाइने समस्या त थियो नै । नेपालीले अर्को समस्या पनि भोग्न थालेका छन् । अर्थात् आर्थिक समस्या । घरको गर्जो टार्न समेत धौधौ पर्न थालेको छ । दैनिक काम गरेर आम्दानी गर्ने नेपालीका लागि कोठाभाडा तिर्न र दैनिक चुल्हो बाल्नै धौधौ होला जस्तो छ । केही दिन अगाडि एक व्यवसायी नेपाली दिदी भन्दै थिइन्, "महिनाको आठ हजार डलर पसलको भाडा मात्र तिर्नुपर्छ । हरेक दिनको कमाइले भाडा तिरिन्थ्यो । अब कुन कमाइले तिर्ने ?" अर्थतन्त्रमा सीधा देखिएको प्रभावले सानातिना व्यवसाय गरेर जीविका धान्नेहरू धेरै जनालाई कसरी पालिने भन्ने त्रास उब्जिएको छ ।
चुल्होको समस्याको लहरो विश्वविद्यालयसम्म पुगेको छ । विश्वविद्यालयमा पढ्न भनेर आएका नेपाली विद्यार्थीको अवस्था झन् चर्को छ । प्रायः सेवाको क्षेत्रमा काम गर्ने सबै जनाको काम बन्द भएको छ । होटेल, पब, मोटेल र रेस्टुरेन्टहरू बन्द छन् । सुपर मार्केटहरूमा काम गर्ने विद्यार्थीहरूले थप घन्टा काम गर्न पाएको भए पनि अन्य भने काम नपाएर छटपटीमा छन् । क्याजुअल काम गर्ने नेपाली विद्यार्थीलाई दैनिक जीवन धान्न र कलेजको फी जम्मा गर्न धौधौ परिरहेको छ ।
यो पनि पढ्नुस
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन ।
हुनलाई एनआरएन अस्ट्रेलियाले नेपाली विद्यार्थीहरूलाई एक महिनासम्म खाना खुवाउने कार्यक्रम घोषणा गरेको थियो । त्यो कार्यक्रमको प्रभावकारिता अहिलेसम्म देखिएको छैन । झापाबाट सिड्नी पढ्न आएका राम गौतम भन्छन्, "तपाईंले एनआरएनले नेपाली विद्यार्थीलाई खाना खुवाउने कार्यक्रमको मापदण्ड देख्नुभयो ? यति धेरै मापदण्ड पूरा गरेर, बायोडाटा बनाएर आवेदन दिनु, अनि ट्रेनको भाडा तिरेर भात खानुभन्दा एक बोरा चामल ल्याएर नुन र भात खान सजिलो र सस्तो पर्छ ।"
एनआरएन एनएसडब्ल्यूका संयोजक देव गुरुङ भने यो कार्यक्रमलाई विद्यार्थीहरूले नबुझेको बताउँछन् । एनआरएन अस्ट्रेलियाले अहिलेसम्म सेल्फ आइसोलेसनमा बसेका १७ जनालाई दुई हप्ताका लागि निःशुल्क रासनको व्यवस्था गरिसकेको छ भने सेल्फ आइसोलेसनमा बसेका र आफन्त कोही पनि नभएका तथा काम नभएका विद्यार्थीहलाई घरसम्मै रासन पुर्याउने व्यवस्था भएको गुरुङको दाबी छ ।
नेपाली पसलहरूमा चामल पाइन छाडेको छ । काठमाडौँमा जस्तै कृत्रिम अभावको सिर्जना गरेर चामलको भाउ बढाएको पनि देखिन थालेको छ । पछिल्ला दुई दिनभित्रै अस्ट्रेलियामा १० लाख व्यक्तिहरूले जागिर गुमाएको समाचार आइरहेका छन् । यो १० लाखमा हजारौँ नेपाली पनि पर्छन् ।
यो पनि पढ्नुस
लकडाउनको यो चरणको पर्याप्त तयारी र त्यसको प्रभावकारी कार्यान्वयन् हुन नसके धेरै नागरिकहरूको लागि लकडाउन आफैँ कोभिड—१९ को प्रकोप जत्तिकै पीडादायी हुन सक्छ ।
विश्वकै अर्थतन्त्र धराशयी बन्दै गएको यो समयमा आफ्नो र परिवारको स्वास्थ्य कसरी सुरक्षित राख्ने भन्ने चिन्ता त छँदै छ, त्यसमाथि अब भविष्यमा आफ्नो आर्थिक हैसियत कसरी कायम राख्ने भन्ने कुराले मानसिक स्वास्थ्यमा समेत असर पर्ने पक्का देखिएको छ । अहिले अस्ट्रेलियामा रहेका नेपालीले आर्थिक र सामाजिक समस्या त भोगेकै छन्, तनाव र चिन्ताजन्य मनोवैज्ञानिक समस्यालाई सम्बोधन गर्ने उपाय पनि तत्काल छैन ।
यो संक्रमणको एक मात्र सकारात्मक पाटो भनेको चाहेर होस् या बाध्यतामा, सबैले आफ्नो परिवारलाई समय दिन भ्याएका छन् । सयभन्दा बढी सामाजिक संघसंस्था रहेको सिड्नीमा हरेक हप्ता आयोजना हुने विभिन्न प्रकारका कार्यक्रमले सामाजिक अगुवाहरूलाई सधैँ व्यस्त बनाइरहन्थ्यो । अहिले सबै सामुदायिक कार्यक्रम स्थगित हुँदा पारिवारिक समय भने बढेको छ ।
अस्ट्रेलियालाई लकडाउन गरिएको भनिए पनि नेपालमा जस्तो पूर्ण रुपमा भएको छैन । ठूलठूला जहाजहरूबाट कोरोना संक्रमितहरू सिड्नी ओर्लिरहेका छन् भने दिनदिनै संक्रमितहरूको संख्या बढिरहेको छ । पब, होटेल, जिमजस्ता जमघट स्थल बन्द गरिए पनि बजार जाँदा होस् वा सडकमा मानिसहरूको चहलपहल अझै पनि देखिन्छ ।
सरकारले राहतका प्याकेजहरू र बैंकहरूले आर्थिक प्याकेजहरू अगाडि ल्याएका छन् । यिनीहरूका बारेमा राम्रोसँग जानकारी लियौँ भने सायद हाम्रो आर्थिक अवस्थालाई केही टेवा पुग्न सक्ला । जब हामी बाहिर जान सक्दैनौँ, तब हामी झन् राम्ररी अन्तर्यात्रामा जान सक्छौँ । कोरोना भाइरसबारे अधिक चिन्ता गरेर आफ्नो मानसिक स्वास्थ्य खराब बनाउनुभन्दा यसबाट सुरक्षित हुन घरमै बसेर सिर्जनशील कार्यमा लगाउन सक्यौ भने आफ्नो र समुदाय सबैको हित हुन सक्छ ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...