वर्षान्त समीक्षा : कान्डैकान्डका शृंखला रचेर बिदा भयो वर्ष ०७६
केही उपलब्धि नभएका होइनन्, तर सत्ता र निकटस्थ जोडिएका अनेकथरि प्रकरणहरुका कारण ती पूरै ओझेल परे ।
कोरोना महामारीको भय नहुँदो हो त मुलुक यतिबेला नयाँ वर्षको उल्लासमा रमाइरहेको हुन्थ्यो । ०७६ को विदाई र ०७७ को स्वागत गर्नका लागि नेपाली घरबाहिर निस्किन पाएनन् । लकडाउनको साघुँरो घेराभित्रै बसेर नयाँ वर्ष मनाइरहेका छन् ।
बितेको वर्ष निकै उतारचढावपूर्ण रह्यो । एकपछि अर्को काण्डै–काण्ड पर्दाफास भए । राजनीतिक पार्टीहरू आन्तरिक कचिंगलमा अल्झिए भने सरकारले आम नागरिकमा कुनै खास उत्साह भर्न सकेन । स्थिर सरकार भए पनि निजी क्षेत्र उत्साहित हुन सकेन । शेयर बजार वर्षभरी नै ओरालो लाग्यो । संयोग नै मान्नुपर्छ, अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा कार्यकाल सकिने बेला एकाएक उकालो लागेको शेयर बजार उनी पुन: अर्थमन्त्री नियुक्ति भएसँगै ओरालो लाग्यो । लगत्तै कोरोना महामारी फैलिएर मुलुक लकडाउनमा गएपछि शेयरबजार अहिले बन्द छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण, बालुवाटार जग्गा अतिक्रमणबारे छानविन र मुद्दा दर्ता, १२ वर्षअघि रौतहट बम बिष्फोटका घाइतेलाई इटा भट्टामा जलाएको घटनामा सांसद मोहम्मद अफ्ताब आलममाथि मुद्दा, पाइप लाइनबाट तेल आयात र रेल संचालन तयारी यो वर्षका सकारात्मक समाचार रहे ।
आठौँ राष्ट्रिय खेलकुद् दुई वर्षमै हुनु र साग खेलकुद्मा नेपालले अहिलेसम्मकै अधिक स्वर्ण पदक जित्नु पनि सुखद् रह्यो । त्योभन्दा धेरै काण्डै–काण्डले वर्षभरी नै चर्चा पाए ।
सभामुख कृष्णबहादुर महरा संसद सचिवालयककै कर्मचारीसँगको यौन काण्डमा मुछिएर पद गुमाउनुपर्यो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि गरिएको कमिशन बार्गेनिङको अडियो सार्वजनिक भएपछि सूचना तथा संचार प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिनुपर्यो । नेपाल ट्रष्टका जग्गा यती समूहलाई भाडामा लगाउँदा होस् वा पछिल्लोपटक कोरोना उपचारका स्वास्थ्य सामाग्री ओम्नी समूहबाट खरिद गर्दा, सरकार विवादमुक्त रहेन ।
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यदेखि सत्तारुढ र प्रतिपक्ष पार्टीभित्रका आन्तरिक किचलो वर्षभरी नै चर्चामा रहे ।
प्रष्ट बहुमतसहित कम्युनिष्ट पार्टीले सत्तारोहण गरेपछि १२ वर्षदेखिको राजनीतिक अस्थीरता अन्त्य गरेको थियो । वास्तवमा २०७४ का संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा आमनागरिकको अपेक्षा पनि त्यही थियो । नौ–नौ महिनामा फेरबदल भइरहने सरकारबाट वाक्कदिक्क भएका नागरिकले पहिलोपल्ट कम्युनिष्ट गठबन्धनलाई बहुमतसहित सत्तामा पुर्याएका थिए । निर्वाचित सरकारका २६ महिना स्थीर देखिए पनि । तर, आम नागरिकले परिवर्तनको कुनै अनुभूति गर्न पाएनन् । उल्टै, सत्तारुढ पार्टीभित्रको किचलो, कमजोर प्रतिपक्ष र गतिहिन सरकारले सर्वत्र निरासाको बादल मडारिएको छ ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकताले पौने दुई वर्षसम्म पनि पूर्णता पाएको छैन । पूर्वपार्टीको ह्याङओभरमा नेताका गुटहरु उसैगरी सक्रिय छन् । शीर्ष नेतृत्वको असमझदारी र कलहले पार्टी एकता तल्लो तहसम्म नपुग्दै संकटमा पर्ने खतरा देखिदैछ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकअर्काबिरुद्धका रणनीतिक चालबाजीले कार्यकर्ता पङ्ती विभाजित मानसिकतामै देखिन्छ । एकिकृत पार्टीको आन्तरिक समिकरण कुनै गठबन्धनभन्दा भिन्न देखिदैन ।
पार्टी एकताका बेला ओली र प्रचण्डबीच आधाआधा समय सरकारको नेतृत्व गर्ने सहमति थियो । ४ मंसिरको सचिवालय बैठकले ओलीले पाँचै वर्ष सरकार नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा पार्टी काम गर्ने निर्णय गर्यो । त्यसपछि पनि उनीहरुबीचको रणनीतिक चालबाजी रोकिएन । बाहिरबाट हेर्दा ठिकठाक देखिए पनि भित्रभित्रै अविश्वासको खाडल दिनप्रतिदिन गहिरिदै गईरहेको देखिन्छ । “आन्तरिक किचलोले न सरकार राम्ररी चल्न सक्यो, न त पार्टी निर्माण र परिचालन हुनसक्यो” राजनीतिशास्त्री जनार्दन आचार्य भन्छन्, “एकतापछि पार्टी र सरकार बलियो हुनुपर्ने । त्यस्तो देखिएन ।”
उपलब्धीका दृष्टिले उनी ०७६ साललाई औसत वर्ष ठान्छन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, बलुवाटार जग्गा अतिक्रमणको पर्दाफास, १२ वर्षअघिको बम बिष्फोटमा घाइतेलाई इटा भट्टामा जलाएको घटनामा सांसद आलममाथि मुद्दा चल्नुलाई उनी सकारात्मक काम ठान्छन् । तर, सुशासन र कानुनी राजमा भने सरकारले पर्याप्त काम गर्न नसकेको उनको बुझाई छ । भन्छन्, “काम नै नभएको भन्ने होइन् । मुलुक ठिकठिकै दिशातर्फ छ । तर, सरकारले अपेक्षा अनुरुप परिवर्तनको दिशा लिन र डेलिभरी दिन भने यो वर्ष पनि सकेन ।”
सत्तारुढ नेकपा मात्र होइन्, प्रमुख प्रतिपक्ष काँग्रेस पनि यो वर्ष आन्तरिक किचलोमा अल्झियो । सभापति शेरबहादुर देउवाले कार्यकाल झण्डै सकिएपछि पार्टीका विभागहरु गठन गरे । असन्तुष्ट पक्षसंग सल्लाह नगरेरै महाधिवेशन तोकेपछि विवाद सतहमा आयो । काँग्रेसले प्रतिपक्षिय भूमिका समेत राम्ररी निभाउन नसकेको आरोप लागेको छ । विश्लेषक हरि रोका बलियो सरकारका औसत गतिविधी र काँग्रेसको कमजोर प्रतिपक्षिय भूमिका मिल्दोजुल्दो रहेको बताउँछन् । “सरकारले आफू सुहाउँदो प्रतिपक्ष पाएको छ” उनी भन्छन्, “सरकार परिणामुखी भन्दा हावादारी कुरामै अल्झिएको छ । प्रतिपक्षले खबरदारी गर्न सकेको छैन ।”
कोरोना महामारी नफैलिदै माघमा अर्थमन्त्री युवराज खतिवडाले बार्षिक बजेट १० प्रतिशत घटाए । आर्थिक वर्षको आधाआधी समयसम्म पुँजीगत खर्च निरासाजनक रह्यो । त्यसमाथि कोरोना थपिएपछि स्थिती डरलाग्दो भएको उल्लेख गर्दै रोका भन्छन्, “हामीलाई आर्थिक–सामाजिक परिवर्तन चाहिएको हो । संरचनागत अप्ठ्यारो नछिचोलेसम्म सरकार सफल हुनसक्दैन ।”
संघीय सरकार मात्र होइन्, प्रदेश र स्थानीय तहका कामकारबाहीले पनि आम नागरिकका लागि सन्तोषप्रद रहेनन् । संघीयता कार्यान्वयनको दोस्रो वर्ष भएकाले गाउँगाउँ पुगेका सिंहदरबारसंग सर्वसाधारणको धेरै नै अपेक्षा थियो । जथाभावी कर बृद्धि र अति राजनीतिकरणले स्थानीय तहले नागरिकमा आशा जगाउन सकेनन् भने प्रदेश सरकारहरुले अन्योलमै वर्ष गुजारे ।
विश्लेषक सुरेन्द्र लाभ बितेको वर्ष प्रदेश र स्थानीय सरकारले आफ्नो भूमिका बढाउँदै लगे पनि नतिजा दिन भने अझै नसकेको बताउँछन् । प्रदेश राजनीति आरोप–प्रत्यारोपमा अल्झिएको र अपरिपक्वता देखिएको उल्लेख गर्दै उनी भन्छन्, “संरचना त बने । तिनले सेवा नदिदासम्म आम नागरिकले अनुभूति गर्न सक्दैनन् । जनताले अनुभूति गरेपछि मात्र संघीयता संस्थागत हुने हो ।”
चिनियाँ राष्ट्रपतिको भ्रमण
चिनियाँ राष्ट्रपति सी जिनपिङको २५–२६ असोजमा भएको राजकिय नेपाल भ्रमण कुटनीतिक दृष्टिले महत्वपूर्ण रह्यो । चिनियाँ राष्ट्रपतिको तहबाट २३ वर्षपछि नेपालमा भ्रमण भएको थियो । यसले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको विश्वास गरिएको छ ।
ओलीको स्वास्थ्य
प्रधानमन्त्री ओलीको स्वास्थ्य चर्चा वर्षभरी नै भईरह्यो । १२ वर्षअघि प्रत्यारोपण गरिएको मृर्गौलाले काम गर्न छाडेपछि उनी एण्डीबडी हटाउन सिंगापुर पुगे । तैपनि, मिर्गौलाले काम नगरेपछि उनले डायलेसिसको साहरा लिनुपर्यो । मृर्गौला प्रत्यारोपण गर्नुअघि सातामा दुई पटक डायलेसिस गरेरै पनि ओलीले सरकार धाने । त्यसै बीचमा अकस्मात एपेन्डिसाइटिस शल्यक्रिया गर्नुपर्यो । त्यसले उनको मिर्गौला प्रत्यारोपणलाई पछाडि धकलिदियो । अन्तत: २१ फागुनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएपछि भने उनको स्वास्थ्य स्थितीमा सुधार आएको छ ।
बालुवाटार काण्ड पर्दाफास
दशकअघि भूमाफियाले नामसारी गरेको प्रधानमन्त्री निवास बालुवाटार परिसरको झण्डै तीन सय रोपनी जग्गाबारे छानविन गरी संलग्नबिरुद्ध मुद्दा चलाउनु ओली सरकारको यो वर्षको महत्वपूर्ण उपलब्धी हो । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वको छानविन टोलीले विस्तृत अध्ययन गरी प्रतिवेदन बुझायो । त्यसैका आधारमा अध्ययन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघमा कांग्रेस उपसभापति एवं पूर्वमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलायो ।
बालुवाटारको जग्गा किन्ने ६५ जनामध्ये नेकपा महासचिव विष्णु पौडेलपुत्र नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई भने जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा नलगाएर उन्मुक्ति दिएकोमा आलोचना ब्यहोर्नुपर्यो ।
महराको यौनकाण्ड
संसद सचिवालयकै कर्मचारीबाट बलात्कारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुपर्यो । १२ असोजको राती ती महिलाको डेरामा पुगेर संगै मदिरा सेवन गरेर यौन दुर्व्यवहार गरेको उनीमाथि आरोप थियो । महराको पोल मिडियामा खोल्नुका साथै प्रहरीमा उजुरी समेत गरिन् । उनलाई नेकपाले सभामुखबाट राजीनामा गरेर अनुसन्धानलाई सघाउन लगायो । १९ असोजमा पक्राउ परेका महराले ५ फागुनमा जिल्ला अदालतबाट सफाई त पाए, त्यतिन्जेल संसदमा अग्नि सापकोटा सभामुख निर्वाचित भईसकेका थिए ।
बाँस्कोटाको कमिशन काण्ड
सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि डेढ वर्षअघि ७० करोड कमिशनको बार्गेनिङ गरेका रहेछन् । आफ्नो कम्पनीले ठेक्का नपाउने पक्का भएपछि स्वीस कम्पनीका प्रतिनिधी दाबी गर्ने विजयप्रकाश मिश्रले ७ फागुन राती सो बार्गेनिङ अडियो सार्वजनिक गरिदिए । चौतर्फी दबाबपछि अन्तत: प्रधानमन्त्री ओलीले ८ फागुनमा उनलाई राजीनामा गराए ।
आलमको इटाभट्टा काण्ड
काँग्रेस सांसद अफ्ताब आलम १२ वर्षअघि रौतहटमा भएको बम बिष्फोटका घाइतेलाई जिउदै इटा भट्टामा पोलेको आरोपमा २६ मा पक्राउ परे । ०६४ को पहिलो संविधानसभा चुनावमा बुथ कब्जा गर्नका लागि भय सिर्जना गर्न उनकै सहयोगीले सो बिष्फोट गराएका थिए । राज्यशक्तिको आडमा दबाइएको बर्बर हत्याकाण्डको फाइल पुन: खुल्नुका साथै जन्मकैदको माग गर्दै आलमबिरुद्ध मुद्दा चलिरहेको छ ।
यती र ओम्नी काण्ड
नेपाल ट्रष्टका जग्गा विधि मिचेर यती समूहलाई भाडामा दिएपछि सरकारी निर्णय विवादमा तानियो । खासगरी, गोकर्ण रिसोर्ट ६ वर्ष म्यादछँदै यती समूहलाई २५ वर्षका लागि म्याद थपियो । संसददेखि सडकसम्म बिरोध भएपछि सम्झौताको बचाउमा स्वयम् प्रधानमन्त्री ओली उत्रिए । यती समूह गत वर्ष ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै बितेका व्यवसायी आङछिरिङ शेर्पाको कम्पनी हो । यसै विवादास्पद कम्पनीले ओलीको जन्म दिनमा हेलिकप्टरबाट तेह्रथुममा केक पुर्याएको थियो ।
कोरोना महामारीमा चीनबाट स्वास्थ्य सामाग्रीको विवादास्पद खरिद प्रकरणमा उसैगरी बालुवाटारको आर्शिवादमा अर्को कम्पनी जोडियो, ओम्नी समूह । सो खरिद सम्झौता मन्त्रीपरिषद्बाट निर्णय गराउन खोजिएको थियो । तर, प्रधानमन्त्री ओलीले नमानेपछि भ्रष्टाचारमा फसिने भयले अन्तत: स्वास्थ्य विभाग निर्देशक महेन्द्र श्रेष्ठले रद्द गरिदिए ।
प्रदेश प्रमुख परिवर्तन
१७ कात्तिकमा सरकारले सातै प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ नियुक्ति गर्यो । जसअनुसार, प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, २ मा तिलक परियार, बागमतीमा बिष्णुप्रसाद प्रसाई, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त छन् । ओलीले चुनावी नतिजा आइसकेपछि तत्कालिन शेरबहादुर देउवा सरकारले आफूखुशी प्रदेश प्रमुख नियुक्ति गरेकोभन्दै सरकार गठनलगत्तै परिवर्तन गर्ने भनेका थिए । झण्डै दुई वर्षपछि प्रदेश प्रमुख परिवर्तन गरिएको हो ।
खेलकुद्मा ‘स्वर्ण’ वर्ष
खेलकुद्का गतिविधि र उपलब्धीका दृष्टिले ०७६ सम्झनालायक वर्ष बन्यो । ११ औ साग खेलकुद्मा नेपालले आफ्नै भूमिमा इतिहास रच्यो । प्रतियोगिताको सफल आयोजना र ५१ स्वर्णको उपलब्धीलाई ठूलो सफलताका रुपमा लिइएको छ । त्यस्तै, पञ्चायतपछि पहिलोपल्ट राष्ट्रिय खेलकुद् प्रतियोगिता दुई वर्षमै हुनसक्यो । गत बैशाखमा प्रदेश ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद्ले टुटेको कडी पुन: एकपटक जोडेको छ । प्रदेश ५ का नेपालगन्ज, दाङ, बर्दिया र रुपन्देहीमा रंगशाला, सेन्थेटिक ट्रयाक, पौडी पोखरी लगायत भौतिक संचरना निर्माण भए ।
समाजवादीको बर्हिगमन
सुविधाजनक बहुमत हुँदाहुँदै सत्ता सामथ्र्य दुईतिहाई पुर्याउन १४ जेठ ०७५ मा नेकपाले सरकारमा संघीय समाजवादीलाई सामेल गरेको थियो । डेढ वर्षपछि ८ पुसमा समाजवादी पार्टी सरकारबाट बाहिरियो । सत्ता र प्रतिपक्ष दोहोरो भूमिका निर्बाह गर्न थालेपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग ओली बेखुश भए । यादवसंग कुनै सल्लाहविनै यादवलाई स्वास्थ्यबाट कानून मन्त्रीमा सरुवा गरे । राष्ट्रिय सभा निर्वाचनमा नेकपाले राष्ट्रिय जनता पार्टीसंग तालमेल गरेपछि यादव संविधान संशोधन प्रक्रियाको झिनो प्रस्ताव अघि सारेर सरकारबाट बाहिरिए ।
एमसीसीको उल्झन
संसदको अघिल्लो अधिवेशनबाटै पारित भएको भए अमेरिकासंगको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अन्र्तगतका परियोजना अहिले सुरु हुने तरखरमा हुनेथिए । सत्तारुढ नेकपाभित्र एमसीसी पास गर्ने वा नगर्ने भन्ने विवाद नटुंगिएपछि सम्झौताको कार्यान्वयन अन्योलमा परेको छ । विभिन्न ६ सरकारले प्रक्रिया अघि बढाएको एमसीसीको सम्झौता भने काँग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारका पालामा भएको थियो । प्रधानमन्त्री ओली अघिल्लो संसद अधिवेशनबाटै एमसीसी पारित गर्न चाहन्थे । तर, तत्कालिन सभामुख कृष्णबहादुर महराले संसदमा पेस नगरेपछि ओली चिढिएका थिए । त्यसमाथि विवाद बढ्दै जाँदा केन्द्रीय कमिटीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन टोली बनायो । सो टोलीले सम्झौताका केही बुँदा संशोधन गरेर मात्र पारित गर्न सुझाब दिएपछि एमसीसी अघि बढ्न सकेको छैन ।
रेल र तेलको वर्ष
नेपालको आफ्नै रेल निर्माण भएको र नेपाल–भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाईन बिछ्याईएकाले यो रेल र तेलको वर्ष पनि हो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जस्थित भण्डारणसम्म पाइपलाइन जोडिएको छ । २४ भदौमा प्रधानमन्त्री ओलीले सिंहदरबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट भिडियो कन्फरेन्सबाट उद्घाटन थिए । त्यस्तै, कोरोनाले नेपाल र भारत लक डाउनमा नभएको भए १८ चैतमा नेपाल भित्रिने थियो, राष्ट्रिय ध्वजावाहक रेल । रेल निर्माण पूरा भईसकेको छ । भौतिक योजना तथा यातायातमन्त्री बसन्त नेम्वाङले चालुआर्थिक वर्षभित्र रेल संचालनमा ल्याउने भनिसकेका थिए । तर, कोरोनाले रेल प्रतिक्षा केही धकलिएको छ । ८४ करोड ६५ लाखमा भारतको सरकारी कम्पनीसंग खरिद गरिएको १ हजार २ सय यात्रु क्षमताको रेलमा पाँच डिब्बा छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...