स्वास्थ्य मन्त्रालयमा सचिव फेर्दैमा रोकिएला बेथिति ?
स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको तीन महिना नपुग्दै कोइरालालाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेपछि स्वास्थ्यमन्त्रीमाथि प्रश्नहरू उब्जिएका छन्
![स्वास्थ्य मन्त्रालयमा सचिव फेर्दैमा रोकिएला बेथिति ? स्वास्थ्य मन्त्रालयमा सचिव फेर्दैमा रोकिएला बेथिति ?](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/news/health-ministry.jpg&w=900&height=601)
कोरोना महाव्याधिका बेला सबैभन्दा संवेदनशील मन्त्रालय हो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । यही मन्त्रालय संकटका बेला चुस्त कार्यसम्पादनमा लाग्नुको साटो अनियमितता, बेथिति र ढिलासुस्तीको पहाडमाथि छ, यसबेला । भर्खरै मन्त्रालयबाट विवादास्पद सचिव यादव कोइरालालाई सरुवा गरेका छन् मन्त्री भानुभक्त ढकालले । तर बेथिति रोकिइहाल्ला भन्ने पत्यार अझै छैन । कारण, स्वास्थ्य मन्त्रालयमा सचिवभन्दा मन्त्री भानुभक्त ढकाल र उनका विश्वासपात्रहरू त्यत्तिकै विवादमा छन् ।
स्वास्थ्य मन्त्रालयले १५ जेठ ०७७ मा सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको पत्र थमायो । १२ जेठको मन्त्रिपरिषद्ले सचिव कोइरालालाई प्रधानमन्त्री कार्यालयमा तानेर उनको ठाउँमा अर्का सचिव लक्ष्मण अर्याललाई पठाउने निर्णय गरेको थियो ।
१८ फागुन ०७६ को मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कोइरालालाई स्वास्थ्यको जिम्मा दिइएको थियो । सोही दिनको मन्त्रिपरिषद्ले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ९ मन्त्रीहरू सम्मिलित नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गर्यो । र, बेलुकी ७ बजे समन्वय समितिको पहिलो बैठक बसेको थियो ।
स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको तीन महिना नपुग्दै कोइरालालाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेपछि सिंगो मन्त्रालयमाथि प्रश्नहरू उब्जिएका छन् । यसबेला स्वास्थ्य मन्त्रालय अनियमितता, बेथिति र ढिलासुस्तीको पहाडमाथि छ । स्वास्थ्यमा सरुवा भएलगत्तै सचिव कोइराला विवादमा तानिएका थिए ।
सामान्यतया मन्त्रीले मन नपराई वा एक/दुई पटक संवाद नभई कुनै पनि सचिवलाई सम्बन्धित मन्त्रालयमा सरुवा गरिन्न । स्वास्थ्यमा सरुवा हुनुअघि सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीसँग पनि सचिव कोइरालाको ‘ट्युनिङ’ मिलिरहेको थिएन । त्रिपाठीले नै सचिव कोइरालालाई सरुवा गर्न चाहिरहेका थिए ।
प्रधानमन्त्री केपी ओली निकट स्रोतका अनुसार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले फागुन दोस्रो साता कोइरालालाई फोन गरेरै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिन सुझाएका थिए । कोइरालाले स्वास्थ्य क्षेत्रमा आफ्नो अनुभव नभएकाले जिम्मेवारी लिन नसक्ने बताएका थिए । तर रिमालले ‘अहिलेसम्मको तपाईंको कार्यदक्षता हेर्दा सक्नुहुन्छ । यसबेला स्वास्थ्य मन्त्रालयमा अलि अडान लिन सक्ने सचिव चाहिएको छ’ भने । यससँगै मन्त्री ढकालसँग समेत कुराकानी भएपछि कोइराला स्वास्थ्य मन्त्रालयको सचिवमा सरुवा हुन राजी भएका थिए ।
कोइरालाको सरुवालगत्तै स्वास्थ्य मन्त्रालयले चीनबाट कोरोना संक्रमणसम्बन्धी ठूलो मात्रामा औषधी/उपकरणहरू खरिद गरेको थियो । ती औषधी/उपकरण खरिदका लागि ओम्नीलाई बदनियतपूर्वक भित्र्याएको र उक्त कम्पनीले बदमासी गरेको प्रमाणित भइसकेको छ । ओम्नीको बदमासीसँगै सचिव कोइराला पनि विवादमा तानिएका थिए ।
त्यसमाथि स्वास्थ्य मन्त्रालयका कर्मचारी र डाक्टरहरूसँग समेत कुरा नमिलेको सार्वजनिक भएपछि संकटका बेला पनि सचिवले डाक्टरहरूसँग विवाद गरेर बेठीक गरेको भन्दै कोइरालाको आलोचना भएको थियो । स्वास्थ्य मन्त्रालयका एक सहसचिवका अनुसार असमझदारी तन्कँदै मन्त्रीसँग समेत मनमुटाव बढेपछि कोइरालालाई सरुवा गरिएको हो । कोइरालाको स्थानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्याललाई लगिएको छ ।
अर्यालले अर्थ, पर्यटन मन्त्रालय, काठमाडौँ महानगरलगायतमा काम गरेका छन् । उनले पर्यटन मन्त्रालयमा काम गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर गरिएका तत्कालीन पर्यटन बोर्डका कार्यकारी प्रमुख सुवास निरौलाको अनियमिततामाथि औँला ठड्याउने काम गरेका थिए । त्यसैगरी काठमाडौँ महानगरको प्रमुख रहँदा पनि त्यहाँका बेथिति सुधारको प्रयास गरेका थिए ।
कोइरालाको विवाद के हो ?
स्वास्थ्य मन्त्रालयमा बेथितीको जड कस्तो छ र त्यहीँ ‘अपग्रेड’ भएका अधिकारीहरूले बाहिरबाट गएकालाई कसरी अस्वीकार वा असहयोग गर्छन् ? एउटा पुरानो अनुभव/उदाहरण पढौँ ।
देशसञ्चार डट कममा प्रकाशित संस्मरणमा वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाले भनेका छन् : ‘शिक्षा मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई एउटा चिठी दियो, ...छात्रवृत्तिबाट फर्केका फलाना–फलानालाई फलानो सेवाअन्तर्गत राख्नुस् भनेर ।... त्यो चिठीसहित हामी स्वास्थ्य सेवा विभाग गयौँ । त्यहाँ त झन् चक्कर रहेछ । त्यहाँका सेक्सन अफिसर र सुब्बाहरू त अति रवाफिला । त्यहाँ दुई–तीन दिन लगातार त्यही जागिरको खोजीमा जाँदा एक दिन हामी त्यहीँ कुरेर बसिरहेको बेला अचम्मको घटना घट्यो । त्यसपछि हाम्रो सोचाइ नै बदलियो । हामी त्यहीँ बसिराखेका बेला प्रख्यात सर्जन, त्यसबेलाका चर्चित अञ्जनीकुमार शर्मा, जसको हामीले फोटो मात्र देखेका थियौँ, उहाँ सुटटाई लगाएर स्वास्थ्य सेवा विभागमा आउनुभयो । उहाँले नै ती सेक्सन अफिसरलाई पहिला नमस्कार गर्नुभयो ।
हामीले बुझ्यौँ, यहाँका ब्युरोक्र्याट धेरै शक्तिशाली रहेछन् । हामीले जानेको त्यति ठूलो सर्जन, हाम्रा प्रोफेसरहरूको समकालीन हुनुहुन्छ । उहाँलाई पनि यिनीहरूले नमस्कार गराउन सक्ने रहेछन् । हामीले मुखामुख गर्यौँ अनि बाहिर निस्केर भन्यौँ, ‘बुझिस् भाइ, अब यहाँ हाम्रो केही काम छैन । यहाँ काम गर्न सकिँदैन ।’ डाक्टर अञ्जनीकुमार शर्मासँग त चाकडी खोज्नेहरूले हाम्रा लागि केही किन गर्लान् ? अनि हाम्रो स्ट्राटिजीचाहिँ जागिर दिन सक्नुहुन्न भने छाडिदिनुस् भन्ने भयो ।’
देवकोटाको यो अनुभव ०३४/०३५ तिरको हो । स्वास्थ्य मन्त्रालयमा कार्यरत ११ औँ तहका एक अधिकारीका अनुसार देवकोटाले त्यसबेला उल्लेख गरेको प्रवृत्ति स्वास्थ्य मन्त्रालयमा अहिले पनि ज्यूँका त्यूँ छ । पछिल्ला केही वर्षलाई मात्र नियाल्ने हो भने कर्मचारी, डाक्टर र सचिवहरूबीचमा सबभन्दा बढी विवाद परिरहने मन्त्रालय यही हो । एउटा सचिव हुँदाहुँदै त्यहाँ अर्को सचिव लगिन्छ । एउटा सहसचिवले अर्को सहसचिव, सचिवले अर्को सचिवलाई रौँ बराबर गन्दैनन् । स्वास्थ्य क्षेत्रभन्दा बाहिरबाट गएकाहरूलाई त झन् उनीहरूले यति बाधा पुर्याउँछन् कि काम गर्नै नदिई विवादमा पारिदिन्छन् ।
ती अधिकारीका अनुसार सचिव कोइरालामा ठाडो र हक्की स्वभाव छ । “नीतिगत र कानुनसम्मत नभएको विषय मन्त्री, प्रधानमन्त्रीलाई समेत जानकारीमा हुँदैन । म गर्न सक्दिनँ भन्दा रहेछन् । त्यसैले उनलाई सितिमिति कसैले रुचाउँदा रहेनछन्”, ती अधिकारी भन्छन् । ‘कानुनी रूपमा नमिलेको कुरा कारणसहित भनिदिँदा रहेछन् । कोइराला आएकै दिनदेखि स्वास्थ्य मन्त्रालयमा ‘फिट’ हुन सकेनन् ।”
कानुनलाई अहित हुने कुरामा अडान लिने कोइरालाको स्वभाव कस्तो छ ? एक वर्षअघिको एउटा घटनातिर फर्कौं ।
त्यसबेला कोइराला संघीय मामिला तथा सामान्य प्रशासन सचिव थिए । उनका विभागीय मन्त्री लालबाबु पण्डित । मन्त्री र सचिवद्वयले लोकसेवा आयोगमार्फत विज्ञापन खुलाएरै कर्मचारीहरूको पदपूर्ति गर्न खोजेका थिए । तर प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले २४ जेठ ०७६ मा सचिव कोइरालालाई सिंहदरबार बोलाएर लोकसेवाको विज्ञापन किन खोलेको भनेर र्याखर्याखी मात्र पारेन, स्थायी कर्मचारी पदपूर्ति नगर्न र करारमा नियुक्त गर्न निर्देशन दियो ।
कोइराला पनि के कम ! उनले नेता, सांसद, पहुँचवालाहरूका आफन्त, नातेदार, सन्तानलगायतलाई जागिर खुवाउन सजिलोका निम्ति करार वा अस्थायीमा कर्मचारी राख्न नसकिने, जागिर खाने हो भने लोकसेवा पास गरेर आउनुपर्ने अडान राखेका थिए । यसपछि सांसदहरूलाई ठाडै जवाफ दिएको भनेर उनको आलोचना गरिएको थियो । राज्य व्यवस्था समितिले लोकसेवा नखोल्न निर्देशन दिए पनि मन्त्री र सचिवले स्थायी विज्ञापन खुलाएरै छाडे । यसले गर्दा ठूलो संख्यामा कर्मचारीहरू स्थायी हुन पाए ।
विभिन्न ठेकेदार कम्पनी तथा व्यवसायीको नामबाट चोर बाटोमार्फत स्वास्थ्य उपकरण/औषधी ल्याएर दोब्बर/तेब्बर महँगो मूल्यमा स्वास्थ्य मन्त्रालयलाई भिडाइन्छ । यसको नेतृत्व विश्व पण्डित नामका ‘सप्लायर्स’ ले गरिरहेका छन् । व्यापारीहरूले नेपाल वायुसेवा निगमका दुई विमान चार्टर गरेर ल्याएका सामग्रीलाई कोरोना संकटको मौका छोपेर स्वास्थ्य मन्त्रालयले खरिद गरिरहेको छ । यस्तो अपारदर्शी शैली बेठीक भएकाले पारदर्शिता अपनाउन भन्दै कोइरालाले प्रयास गरेका थिए ।
उनको सरुवा हुनुको अर्को कारण नेपाली सेना हो । २० चैत ०७६ को मन्त्रिपरिषद्ले कोरोनाविरुद्ध चाहिने औषधी/उपकरण खरिद गर्न सेनालाई दिने निर्णय गरेको थियो । जीटुजी माध्यमबाट सेनालाई सामान ल्याउन दिने भनिएको थियो ।
जीटुजी भन्नुको अर्थ नेपाल सरकारले चीन सरकारलाई सीधै भुक्तानी गर्नुपर्ने हुन्छ । तर त्यसमा सरकारले स्वास्थ्य मन्त्रालयलाई रकम निकासा गर्ने, स्वास्थ्यले सेनालाई दिने अनि सेनाले चिनियाँ व्यापारीलाई दिएको छ । अख्तियारले आँखा लगाउने हो भने यस प्रक्रियामा सहभागी रक्षामन्त्री, स्वास्थ्य मन्त्रीलगायत सबै तत्काल छानबिनको दायरामा पर्न सक्छन् ।
योलगायत विषयहरुमा निरन्तर मतभेद बढ्दै जानु नै कोइराला सरुवाको कारण भएको बताइन्छ । तर कोइराला स्वयं भने सरुवाबारे बोल्न चाहँदैनन् ।
“सरकारी नीतिअन्तर्गत सरुवा गरेको होला । जागिर खाएपछि जहाँ खटाए पनि त्यो ठाउँ जानुपर्छ”, कोइराला बोल्छन्, “सरुवा गरेकामा पनि म खुसी नै छु । जहाँ गए पनि सकेजति सुधारको प्रयत्न गर्नेछु ।”
ओखलढुंगाको साविक रातमाटे गाविस छहरेमा जन्मेका हुन्, कोइराला । १३ मंसिर ०५९ मा उपसचिवमा नाम निकालेर सरकारी उच्च सेवामा प्रवेश गरेका हुन् । त्यसअघि चार महिनाजति उनी लोकसेवाबाटै नाम निकालेर नासुमा कार्यरत थिए ।
माघ ०६६ मा उनले सहसचिवमा नाम निकाले । सहसचिव भएपछि उनको दरबन्दी गृह मन्त्रालयमा तोकियो । सहसचिव हुन्जेल उनले यो मन्त्रालयबाट अन्यत्र जानु परेन । उनले पहिलो सिडिओ भएर पर्साको जिम्मेवारी सम्हाले । पछि गृहमै फर्किए अनि फेरि झापाको सिडिओ भए ।
झापापछि चीनमा एक वर्षे नेसनल डिफेन्स कोर्स गर्न छनोट भए । उक्त कोर्समा गृहको करिअरबाट छानिने कोइराला पहिलो अधिकृत हुन् । यो कोर्स खासगरी सेनाका उच्च अधिकारीले मात्र गर्छन् ।
चीनबाट फर्किएपछि कास्की र ललितपुर सिडिओको जिम्मेवारी पाए । यसपछि गृहको शान्ति सुरक्षा महाशाखा प्रमुख र प्रवक्ता भए । यसबेला शक्तिबहादुर बस्नेत गृहमन्त्री थिए । गृहमा उनीसँगै काम गरेका एक सचिवका अनुसार १ असार ०७५ मा कोइराला सचिवमा बढुवा भएका हुन् । सचिव भएपछि उनको सरुवा प्रदेश १ को प्रमुख सचिवमा भयो । प्रदेश १ को प्रमुख सचिवबाट काठमाडौँ महानगरको कार्यकारी प्रमुखमा सरुवा भए । हाल निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया सामान्य प्रशासन मन्त्रालयबाट निवृत्त भएपछि उक्त स्थानमा कोइरालालाई पठाइयो । त्यसबेला लालबाबु पण्डित मन्त्री थिए ।
तिनै पूर्वमन्त्री पण्डितका अनुसार राजनीतिज्ञहरूले मास मोबिलाइजमा प्रयोग गर्न खोज्दा नरुचाउने, प्रशासनिक निर्णय गरेर कार्यान्वयनमा उत्रने, दबाबसामु नझुक्ने स्वाभावका छन्, कोइराला ।
‘कानुनलाई दृढतापूर्वक पालना गर्ने, बेलाबेला आवेगमा आउने चरित्र उहामा अनुभूति गरेको छु”, सांसद पण्डित सचिव कोइरालाको स्वभाव चित्रण गर्छन्, “उहाँको त्यही कडा स्वभाव स्वास्थ्य मन्त्रालयमा पनि देखियो होला । त्यसैले विवादमा पर्नुभयो ।”
स्वास्थ्यका बेथितिमा नेपाल नजर
- स्वास्थ्य मन्त्री र कर्मचारीको किचलोले कोरोना रोकथाम फितलो
- स्वास्थ्यमन्त्रीको कमजोर कमान्ड
- कोरोनाको शंकैशंकामा उपचार नपाई बिते मिर्गौला रोगी
- स्वास्थ्य सामग्री खरिदमा जेलियो जंगी अड्डा
- डा. पुनलाई ठेगान लगाएर सरकारले सम्झाएको सोभियत कथा
- स्वास्थ्य सामग्री अभावमा परीक्षण सुस्त हुँदा संक्रमितहरू बढेको बढ्यै