महामारीको बेला परीक्षामा स्थानीय सरकार
नागरिकको अपेक्षामा खरो उत्रिएलान् जनप्रतिनिधि ?
नेपालले अझै सावधानी अपनाएन भने कोरोना संक्रमणको अवस्था भयावह हुनसक्छ । यो सम्भावित खतरा रोक्न सकिन्छ तर हामीसँग समय निकै कम छ ।
नेपालमा ९ माघमा पहिलो कोरोना संक्रमित बिरामी फेला परेको पुष्टि भएको हो । उनी निको भएर घर फर्किसके । दोस्रो संक्रमण फ्रान्सबाट कतारको दोहा हुँदै क्युआर ६५२ कलसाइनयुक्त जहाज चढेर ४ चैतमा नेपाल आएकी १९ वर्षीया युवतीमा देखियो । सँगै आएकी भियतनामी महिलामा संक्रमण पुष्टि भएपछि उनी आफैँ अस्पताल पुगेकी थिइन । ९ चैतमा चेकजाँच गर्दा उनमा पनि कोरोना संक्रमण भएको पुष्टि भयो ।
त्यसैगरी ६ चैतमा युएईबाट एयर अरेबियाको जी ९५३७ विमान चढेर आएका ३२ वर्षीय धादिङका युवामा पनि कोरोना देखियो । उनी कोरोना देखिने तेस्रो व्यक्ति थिए । नेपाल आएदेखि काठमाडौँस्थित होटलमै बसिरहेका उनी ११ चैतमा आफूमा समस्या देखिएपछि अस्पताल पुगेको र भोलिपल्ट जाँचको नतिजा सकारात्मक देखिएको थियो ।
धनगढीमा भेटिएका चौथो बिरामी पनि ११ चैतमै आफैँ अस्पताल गएका हुन् । दुबईबाट इमिरेट्स एयरलाइन्सको जहाजमा दिल्ली हुँदै विस्तारा विमान कम्पनीको जहाजबाट ६ चैतमा काठमाडौँ पुगेका थिए । धनगढीका लागि सोही दिन बस नभेटेपछि भोलिपल्ट ७ चैत शुक्रबारका दिन उनी बुद्ध एयरको जहाजबाट नेपालगन्ज पुगे । अटोमा कोहलपुर, हाइसमा अत्तरिया, अर्को हाइसमा अत्तरियादेखि धनगढीको चौराहा र त्यहाँबाट पुन: अर्को अटोबाट घर पुगेका उनलाई घरमा सामान्य ज्वरो र केही खोकी लागे पनि निको भइसकेका थिए ।
आफू सामान्य भइसके पनि परिवारको सल्लाहपछि जाँच गराउन ११ चैतमा अस्पताल पुगेका उनी दुबईबाट आएको जानकारी गराएपछि अस्पतालमै राखिएका थिए । जाँचका लागि पठाइएका उनको स्वाबमा कोभिड–१९ देखिएपछि अहिले अस्पतालमै छन् ।
४ चैतमा दोस्रो संक्रमित व्यक्तिसँगै क्युआर ६५२ चढेर नेपाल आएकी बाग्लुङकी युवती पाँचौँ बिरामी घोषित भइन् । उनमा संक्रमण भएको पुष्टि १५ चैतमा भयो । उनीसँगै एकै विमानमा आएकी ६५ वर्षीया वृद्धामा पनि २० चैतमा कोभिड संक्रमणको पुष्टि भएको छ । यी दुवैसँग एकै जहाजमा कतारबाट नेपाल आएकी दोस्रो बिरामीको कोरोना संक्रमणको पुष्टि भने ९ चैतमा भइसकेको थियो ।
यो पनि पढ्नुस
नागरिकको अपेक्षामा खरो उत्रिएलान् जनप्रतिनिधि ?
माथिको विवरण हेर्ने हो भने चीनबाट आएका पहिला कोरोना संक्रमित व्यक्तिबाहेक अन्यमा भएको संक्रमणको पुष्टि सरकारी जाँचबाट भन्दा पनि उनीहरू आफैँ अस्पताल गएर जँचाउँदा भएको देखिन्छ । केही चाँडो त केही ढिलो अस्पताल गएको भन्ने छ । तर सबै अस्पताल गएकाले उनीहरूमार्फत संक्रमण अझ बढी फैलिन सक्ने खतरा भने टरेको छ ।
अस्पताल गएका सबैमा कि ज्वरो र खोकीको लक्षण देखिएको या देखिएर निको भइसकेको र दोस्रो बिरामीमा त केही लक्षण नै नदेखिएको भन्ने छ । यदि जाँच नभएको हुँदो हो त ती सबै बिरामी सायद कोरोनाको संक्रमणलाई पनि सामान्य रुघाज्वरो भनेर बस्ने थिए होलान् ।
देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ र ६ चैतमा भित्रिएका यात्रुहरूमध्येबाट २० चैतसम्म आइपुग्दा ६ जना संक्रमित भेटिएका छन् । यी ६ जनामा नेपाल प्रवेश भएदेखि कोरोना पुष्टि हुँदासम्मको अन्तर ५ देखि १४ दिनको छ । यो अन्तरालमा केही आफैँ क्वारेन्टाइनमा बसेका छन् भने केही सामान्य भेटघाटपछि जाँचका लागि अस्पताल आएका छन् । छैटौँ बिरामीमा सामान्यतया क्वारेन्टाइन सकिने दिनमा आएर कोरोना भएको देखिएको हो । यदि लक्षण केही छैन भनेर जाँच नगरेर बसेकी हुँदी हुन् त तिनलाई पनि कोरोना भएको थाहा हुँदैन थियो । त्यसैले अहिले १४ दिने स्वेच्छिक एकान्तबासमा बसेर लक्षण नदेखिएपछि कोरोनामुक्त छु भनी बसेकाहरूलाई पनि यसको संक्रमण नै भएको छैन भन्न सकिने अवस्था छैन ।
बिरामीनेपाल आएदेखि पुष्टि हुँदासम्मको अवधि
पहिलो- ०
दोस्रो- ५ दिन
तेस्रो- ५ दिन
चौथो- ५ दिन
पाँचौँ- ११ दिन
छैटौँ- १४ दिन
यी सबै कुरा केलाउँदा कोरोना संक्रमितको जाँचमा सरकारले कतिसम्म लापर्वाही गरेको छ भन्ने प्रस्ट हुन्छ । पहिलो बिरामी भेटिएपछि सरकारलाई दोस्रो बिरामीसम्म आइपुग्दा दुई महिनाको समय थियो । कोरोना संक्रमण चीनबाट सुरु भएकाले यो रोग पनि बाहिरबाट आएकाहरूले नै देशमा भित्र्याउन सक्नेमा कुनै दुई मत थिएन ।
यो पनि पढ्नुस
कोरोना संक्रमित बिरामी स्वास्थ्यकर्मीबाटै अमानवीय व्यवहार झेल्न बाध्य
चीनमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अन्त पनि यसको संक्रमण सुरु हुँदै थियो । बाहिर जे–जति कोरोना रोकथामको तयारी भए, त्यसको तुलनामा नेपालमा केही भएको देखिएन । चौतर्फी विरोध र आलोचना हुन थालेपछि केही परीक्षण, लकडाउन र विभिन्न ‘चोरबाटा’ हरूबाट सामान ल्याउने जोहो मिलाउने काम भयो ।
त्यसको केही दिनपछि सामानको मोलमा व्यापक भ्रष्टाचारको आशंका गरिएपछि भने सरकारले पहिले ल्याउने भनी सम्झौता गरेको सामान पनि रोक्यो ।
५० लाख भन्सार तिर्न बाँकी रहेको र्यापिड टेस्ट किट अझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा रोकिएर रहेको छ । अर्थात्, यो महाव्याधिको अवस्थामा मोलमा ठगेर नाफा खान खोजेको त छँदै छ, त्यसमाथि सरकारले अनुमति दिएभन्दा बढी सामान ल्याएर भन्सार छुट पाउने र तिनकै कालोबजारी गर्ने दाउमा विवादित ओम्नी ग्रुप देखिन्छ ।
नेपाल सरकारले कोरोना संक्रमणबाट बच्न रोकथामका उपाय अपनाउनुपर्ने बेलामा सरकारको जिम्मेवार पदमा बसेकाहरूबाट पनि गैरजिम्मेवार काम भएको देखियो । अस्ट्रेलियामा आगलागी भएर देश आक्रान्त भएका बेलामा पर्यटन प्रवर्द्धन गर्न गएका पर्यटनमन्त्रीले नेपाललाई कोरोनामुक्त क्षेत्र भनेर घोषणा गरेर पर्यटन प्रवर्द्धन गर्ने योजना सुनाउँदै थिए । सरकार र सरकारमा आसीन मन्त्रीहरूले कोरोनाको महामारीलाई कत्तिको हल्का रूपमा लिइरहेका थिए भन्ने यसैबाट पनि पुष्टि हुन्छ । यस्तै गाइँगुइँका बेला विश्व स्वास्थ्य संगठनले नेपाल पनि संकटाभिमुख रहेको भन्ने भनाइ सार्वजनिक भएपछि बल्ल सरकार अलि चलमलाएको देखियो ।
यो पनि पढ्नुस
विदेशका अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको सुझाव छ- नेपालमा लकडाउन अझै लम्ब्याउनु उचित हुन्छ ।
भूमिसुधारमन्त्रीले नेपालीको रोग प्रतिरक्षा प्रणली बलियो भएकाले रोग नदेखिएको भनेको समाचार पनि छापिए । सरकारको आलोचना गर्नेहरूले ‘कुकुर र गिद्ध’ को उपमा पनि पाए । तर समयमै ठोस काम केही भएन । हालसम्म ४२ हजारभन्दा बढी नेपालीहरू विदेशबाट स्वदेश आए पनि कोरोनाको जाँच लेख लेखिरहँदासम्म १ हजार १ सय ८४ वटा मात्रै सम्पन्न भएको छ । (यसै अवधिमा अमेरिकाले ११ लाख परीक्षण सम्पन्न गरिसकेको छ भने जर्मनीमा दैनिक ७० हजार परीक्षण हुने गर्छन्) । ढिलै भए पनि ७ प्रदेशमा कोरोना परीक्षण व्यवस्था मिलाइएको छ । अहिले परीक्षण गर्ने उपकरणमाथिको प्रश्नको कुरा नगरौँ ।
नेपालसँगै विश्वका अन्य मुलुकहरू पनि कोरोना संक्रमणको आतंकबाट ग्रसित छन् । कोरोनाको संक्रमणसँगै आर्थिक क्षेत्रमा पर्न सक्ने सम्भावित असर न्यूनीकरणका लागि विदेशी सरकारहरूले विभिन्न खाले नीतिहरू अवलम्बन गरेको देखिन्छ ।
खासगरी सन् १९२९ आर्थिक मन्दीपछि बृहत् अर्थशास्त्रको क्षेत्रमा जोन मेन्यार्ड केन्सले स्थापित गरेको आर्थिक संकटका बेला सरकारी हस्तक्षेपको मान्यतालाई नै आधारित बनाएर यस्ताखाले संकटका बेला हुने कुल मागको कमीलाई टार्न हेलिकप्टर मनी वा क्वान्टेटिभ इजिङ भनेर भनिने व्यापक राहतका कार्यक्रम विभिन्न सरकारहरूले अघि सारेका छन् । कारण, आर्थिक संकटमा अत्यावश्यकबाहेकका वस्तु तथा सेवाको बजार माग घट्छ ।
माग घटे उत्पादन घट्छ । उत्पादन घटे रोजगार गुम्छ । रोजगार गुमे थप क्रयशक्ति घट्छ, जसले फेरि मागमा ह्रास ल्याउँछ । यो चक्र चरम आर्थिक मन्दी नआउँदासम्म चलिरहन्छ । त्यसैले त पुँजीवादी भनेर चिनिने विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले २२ खर्ब अमेरिकी डलरको राहत कार्यक्रम घोषणा गरेको छ ।
यो पनि पढ्नुस
भारतमा क्वारेन्टाइनका नाममा मानिसहरूलाई एउटै कोठामा थुनेर राख्न थालिएपछि नेपाली मजदुर स्वदेश फर्किन थाले । सजिलै बाटो नपाएपछि कति महाकाली तरेरै देश छिरे त कति अझै देश छिर्न पाउने पर्खाइमा छन् ।
अर्थतन्त्र पूरै ठप्प पार्ने नीति कुनै पनि सरकारले लिएका छैनन् । चीनले पनि वुहानमा मात्रै पूरै ठप्प पारेको हो । पूरै चीन बन्द थिएन । इटालीको बढी प्रभावित भनिएको क्षेत्रमा पनि अत्यावश्यक सामग्री खरिदका लागि आवतजावत गर्न छुट छ । अमेरिकी राष्ट्रपतिले ‘अमेरिका बन्द हुन बनेको देश हैन’ जस्ता अभिव्यक्ति दिइरहेका छन् । ब्राजिलका राष्ट्रपति बोल्सेनारोले दुई तिहाइलाई कोरोना संक्रमण हुन दिने र भाइरसले थप नयाँ व्यक्तिलाई संक्रमित गर्ने अवस्था नभएपछि यो आफैँ निर्मूल भएर जाने नीतिअन्तर्गत कुनै पनि किसिमको लकडाउन गरेका छैनन् ।
बोल्सोनारोको नीतिले धेरै संकटाभिमुख व्यक्तिहरूले ज्यान गुमाउने आकलन गरिएको छ । त्यसैले पनि अन्य विकसित मुलुकहरूले यो नीति लिन सकेका छैनन् । बरु दक्षिण कोरियाजस्तो बढीभन्दा बढी परीक्षण गर्ने र रोगलाई नियन्त्रण गर्ने नीति लिएका छन् । चीन र दक्षिण कोरियामा फोनको प्रयोग गरेर संक्रमण रोक्ने खालको प्रयास पनि युरोपमा भएको छैन, बरु भौतिक दूरी कायम गर्ने आदेशविरुद्ध काम गर्नेहरूलाई दण्डको व्यवस्था गरिएको छ । नेपालमा भने लकडाउनका नाममा अनेक जात्राहरूसमेत भए ।
लकडाउनमा खटिएका प्रहरीले सिलिन्डर काँधमा बोकाएर बसेर हिँड्न लगाउनेदेखि लठ्ठी भाँचिने गरी कुटेका दृश्य सामाजिक सञ्जालमा भाइरल बने । महाकालीपारि रोकिएकाहरू आफ्नै देश टेक्न नपाएपछि महाकालीमा हेलिएका भिडियोहरू व्यापक बने । १४ दिनसम्म हेर्ने र नदेखिए छिर्न दिने भन्नेजस्ता कुतर्क सुनिए । बरु कोरोना परीक्षण गरेर दुई दिनमा नतिजा आउँछ अनि प्रवेश गर्न दिने भन्ने बुद्धि देखिएन ।
ठूला योजनाका काम ठप्प भएपछि मजदुरहरू योजना स्थलबाट घरतर्फको लामो यात्रा हिँडेरै तय गरिरहेका समाचार छापिए । कोरोना त्रासमा व्यक्तिगत सुरक्षा सामग्री नभएकै कारण स्वास्थ्यकर्मीहरूले बिरामी उपचार नै नगरिदिने र सामान्य उपचार अभावमा व्यक्तिले ज्यान गुमाउनेसम्मका उदाहरण देखिएका छन् । यति हुँदाहुँदै पनि सरकारले गल्ती सच्याउनुको साटो बढी भावुक नहुन सुझाव दियो । छेउका प्रधानमन्त्री इमरान खानले जस्तो देशका २५ प्रतिशत दैनिक मजदुरी गर्नेहरूको हालत के होला भन्ने सोचेन । बरु यो बेला पनि भ्रष्टाचारको गन्ध आउने कुकर्म जारी राख्यो । अझै पनि कोरोना संक्रमणका लागि खासै गम्भीर भएको देखिँदैन ।
यो पनि पढ्नुस
परदेशबाट फर्किआएका आफ्नै नागरिकलाई बन्द दैलो
२७ जनवरीमा जर्मनीको बार्यनमा पहिलो संक्रमित भेटिएको हो । उनी वुहानबाट आएकी एक महिलासँग सम्पर्कमा आएकाले तिनै महिलाबाट संक्रमित भएको भन्ने थियो । २७ फेब्रुअरीसम्म १४ जना निको भइसकेका थिए भने कुल २६ जनामा संक्रमण देखिएको थियो । त्यसको ठीक एक महिनापछि अर्थात् २७ मार्चमा ४९ हजार बिरामी, ३ सय २३ जना मृत र ६ हजार ९ सय ३२ जना निको भएको तथ्यांक थियो । यो लेख लेख्दै गर्दा (२ अप्रिल) जर्मनीमा संक्रमितको कुल संख्या ८४ हजार नाघेको छ, जसमध्ये २२ हजारभन्दा बढी निको भएका र हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
यसबीचमा मार्च २२ देखि देशभरमा नमिल्ने अवस्थामा बाहेक क्षेत्रका कर्मचारीलाई घरमै बसेर काम गर्न भनियो र देशव्यापी रूपमा भौतिक दूरी कायम गर्ने सूचना जारी भयो ।
सुपरमार्केट, हुलाक, औषधी पसललगायत अत्यावश्यक सेवाबाहेक अन्य बन्द छन् । २२ मार्चअघिदेखि नै बढी प्रभावित राज्यहरूमा त्यस्तै किसिमको व्यवस्था लागू भइसकेको स्थिति थियो । २८ हजार सघन उपचार व्यवस्थासहितको शैय्या भएको जर्मनीमा थप कठिन परिस्थितिको अनुमान गरेर अस्थायी श्यैया र श्वासप्रश्वास सहायक यन्त्रहरू उत्पादनको काम भइरहेको छ ।
० देखि ४ लाख पुग्न ८३ दिन लगाएको कोरोना संक्रमणले ४ लाखदेखि १० लाख पुग्न १० दिन लगाएको छ । ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख १० हजारभन्दा बढी निको भइसकेका छन् । संक्रमण पत्ता लाग्न र निको हुन लाग्ने समयको फरकको कारणले पनि संक्रमित र निको भइसकेकाको संख्यामा ८ लाखको फरक देखिएको हो । यो एकदमै भयावह स्थिति हो ।
नेपालजस्तो मुलुकले अझै पनि सावधानी अपनाएन र १३ सय हाराहारीकै परीक्षणमा ७ जना मात्रै बिरामी देखिए, ‘पशुपतिनाथ र लुम्बिनीको देशका नागरिकलाई केही हुँदैन’ भन्ने भ्रम पालिराख्यो भने अवस्था भयावह हुनेछ । बेलैमा चेत खुलोस् ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...