त्यो समाजवाद थिएन (समाजवाद बहस–१)
मार्क्सदेखि महात्मा गान्धीसम्म, स्टालिनदे खि नेहरुसम्म, माओत्से तुङ, फिडेल क्यास्ट्रो, मार्टिन लुथर किङ, बीपी कोइराला, पुष्पलाल श्रेष्ठसम्म अटाउने समाजवाद अनौठै भाँडो हो ।
कतिपयले पुँजीवादलाई निजी सम्पत्तिमा आधारित आर्थिक व्यवस्थाको रुपमा बुझ्छन् । यो परिभाषा अपूरो र कमजोर छ ।
समाजवादको बहस गर्दा यसको माग इतिहासको कुन सन्दर्भमा गरिएको थियो भन्नेमा जानैपर्छ । समाजवादको जबर्जस्त सैद्धान्तिक र व्यावहारिक उपस्थिति उन्नाइसौँ शताब्दीको युरोपमा विकसित हुँदै गरेको पुँजीवादका विरुद्धमा भएको थियो । त्यस कारण समाजवादको बहसमा पुँजीवाद के हो र यसको विकल्प किन चाहिएको थियो, समाजवाद नै किन श्रेष्ठ विकल्प थियो र हो आदि प्रश्नले अधिक महत्त्व राख्छन् । सुरु गरौँ– यिनै प्रश्नबाट ।
पुँजीवाद के हो ? समाजवाद के हो ? : कतिपयले पुँजीवादलाई निजी सम्पत्तिमा आधारित आर्थिक व्यवस्थाको रूपमा बुझ्छन्, बुझाउँछन् । वस्तुत: यो परिभाषा अपूरो र कमजोर छ । पूर्वपुँजीवादी व्यवस्थाहरू पनि निजी सम्पत्तिमा आधारित थिए । पुँजीवादले सबैलाई निजी सम्पत्ति दिनुको सट्टा धेरैको सम्पत्ति खोसेर थोरैका हातमा केन्द्रीकृत गर्ने व्यवस्था मिलाएको थियो, हिंसात्मक र गैरहिंसात्मक विधिबाट । धेरै मान्छलाई सम्पत्तिविहीन बनाएर या तिनलाई सम्पत्ति संग्रह गर्न नसक्ने कुराको ग्यारेन्टी गरेर मात्र पुँजीवाद बाँच्न र फस्टाउन सकेको हो । धेरै सम्पत्ति हुने थोरै मान्छे र सम्पत्ति नहुने धेरै मान्छेका सम्बन्धलाई निरन्तर पुन: उत्पादन गरिरहनु पुँजीवादको लक्ष्य र विधि मात्रै होइन, प्राण नै हो ।
साम्यवादले निजी सम्पत्तिको हरण गर्छ भन्ने तर्कको आलोचनामा मार्क्सले भनेका थिए, ‘पुँजीवादले त ९० प्रतिशतको सम्पत्ति हरण गरिसकेको छ ।’ मार्क्सको दाबीको खण्डन वस्तुत: आजसम्म भएको छैन । बरु धरैजसो बुर्जुवा अर्थशास्त्रीहरू सम्पत्तिको केन्द्रीकरण आर्थिक विकासका लागि आवश्यक भएको जोडदार मतसमेत राख्छन् । उनीहरूको तर्क हुने गर्छ– केन्द्रीकृत सम्पत्तिले उत्पादन र रोजगारको वृद्धि गर्छ, जसमार्फत गरिब स्वयं लाभान्वित हुन्छन् । यसलाई ट्रिकल डाउन सिद्धान्त भनिन्छ, जसको सत्यता दन्त्यकथाको भन्दा अलिकति पनि बढी छैन ।
यो पनि पढ्नुस
मार्क्सदेखि महात्मा गान्धीसम्म, स्टालिनदे खि नेहरुसम्म, माओत्से तुङ, फिडेल क्यास्ट्रो, मार्टिन लुथर किङ, बीपी कोइराला, पुष्पलाल श्रेष्ठसम्म अटाउने समाजवाद अनौठै भाँडो हो ।
मार्क्सकै शब्दमा भन्दा पुँजीवादले एकातर्फ उत्पादनलाई सामाजीकृत गर्छ भने अर्कोतर्फ उत्पादनको फललाई निजीकृत गर्छ, जो पुँजीवादको मूल अन्तरविरोध हो । त्यसैले पुँजीवादले समाजमा ठूलो मात्रामा सम्पत्ति उत्पादन गर्दागर्दै उत्पात गरिबी पनि सँगसँगै सिर्जना गर्छ । यो असंगति पुँजीवादको चाहनाविपरीत सिर्जित परिणाम या पुँजीवादको कमजोर पक्ष होइन । बरु यो पुँजीवादको आधारभूत नियम हो । जनसंख्याको ठूलो हिस्सालाई दरिद्र नराखी पुँजीको उत्पादकत्वमा वृद्धि हुँदैन ।
पुँजीको यस्तो चरित्रअनुरूप पुँजीवादी व्यवस्थाको मूल राजनीतिक विशेषता हो, ठूलो पुँजीको समग्र शासन । पुँजीवादमा व्यक्तिको कार्यस्थल, उपभोग, व्यक्तित्व, संवेग, आत्मा, कानुन, साहित्य, नैतिकता आदि सबै पुँजीको अधीनमा या पुँजीका अनुकूल हुन्छन् । मान्छेको सम्पूर्ण जीवन नै पुँजीको नियमअन्तर्गत निर्धारित हुन्छ । मार्क्स भन्छन्, ‘पुँजीवादमा पुँजी स्वतन्त्र हुन्छ र त्यसको व्यक्तित्व हुन्छ, जबकि जीवित मान्छे त्यसमाथि पराधीन हुन्छ र उसको व्यक्तित्व हुँदैन ।’ सम्पूर्ण सत्ता नै पुँजीको हुने हुनाले यसलाई पुँजीवाद भनिएको हो ।
माथि भनिएजस्तो सामाजीकृत उत्पादन र निजीकृत लाभको प्रक्रियाबाट उत्पन्न संकटको समाधान के हो त ? उत्पादन र लाभ दुवैलाई निजीकृत गर्ने कुरा तत्कालीन अर्थव्यवस्थामा नि:सन्देह अकल्पनीय थियो, हाल पनि अकल्पनीय नै छ । उत्पादनलाई निजीकृत गर्ने र लाभलाई सामाजीकृत गर्ने कुरा पनि उत्तिकै अकल्पनीय हो । त्यस कारण पुँजीवादको यो अन्तरविरोधको समाधानको एउटै बाटो हो, उत्पादन र लाभ दुवैको सामाजिकीकरण या सामूहिक स्वामित्व र व्यवस्थापन, अर्थात् समाजवाद । त्यस कारण पनि पुँजीवादपछि आपरिहार्य रूपले समाजवाद आउँछ भन्ने तर्क गरिएको हो ।
युरोपमा सामाजिक जनवादी या लोककल्याणकारी राज्यहरूले उल्लेख्य मात्रामा यो अन्तरविरोधको हल खोजेका हुन्, जहाँ कतिपय उत्पादनका क्षेत्रलाई सामाजीकृत गरिए र उत्पादनको लाभलाई पनि कर, सामाजिक सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीजस्ता विभिन्न संयन्त्रको माध्यमबाट धेरै–थोरै सामाजीकृत गरिए । परिणाम, पुँजीवादको अन्तरविरोध उल्लेख्य रूपले मत्थर भयो र विस्फोटक रूप लिन पाएन । तर १९७० को आर्थिक मन्दीसँगै लोककल्याणकारी व्यवस्थाको पनि संकट सुरु भयो ।
यो पनि पढ्नुस
रुसको कम्युनिस्ट क्रान्ति र दोस्रो विश्वयुद्धपछि सुरु भएको शीतयुद्धका दौरान निर्माण भएको पुँजीवाद वा समाजवाद भन्ने वर्गीकरणको अर्थ र औचित्य समाप्त भइसकेको छ ।
कतिपयलाई लाग्छ– समाजवाद अप्राप्य आदर्श मात्र हो । तर यो आलोचना त मानव अधिकार, लोकतन्त्र, खुला बजार आदि सबैका हकमा लागू हुँदैन र ?
यदि पुँजीवाद मान्छेको पुँजीसँगको अधीनस्थताको व्यवस्था हो भने त्यसको विकल्प समाजवाद पुँजीमाथिको मान्छेको सामूहिक स्वामित्व, नियन्त्रण र व्यवस्थापनको अवस्था हो, हुनुपर्ने नै भयो । कतिपयलाई मार्क्सवादी समाजवादको सामूहिकता या सामाजिकतामाथिको जोड सर्वसत्तावादको सैद्धान्तिक स्रोत हुन सक्ने चिन्ता लाग्छ । बुर्जुवा र तिनका प्रतिनिधि बौद्धिकहरूले यसकै आधारमा पनि समाजवादले निजी स्वतन्त्रता निषेध गर्छ भन्ने प्रचारबाजी गरेकै छन् । तर यो आरोपको ठीक विपरीत समाजवादी सामूहिकताले व्यक्तिको स्वतन्त्रता र त्यसमा आधारित संघको अनिवार्य माग गर्दछ, जसले खास विषयमा निर्णय गर्ने मात्र होइन, सामाजिकता र स्वतन्त्रता स्वयंको निर्धारण गर्छ । नि:सन्देह, स्वतन्त्रताबिनाको सामूहिकता दासता हो र सामाजिकताबिनाको स्वतन्त्रता अस्तित्वविहीन कल्पना मात्र । बुर्जवाहरूले दाबी गरेका सबै निजी स्वतन्त्रता सामाजिक रूपले नै निर्धारित भएका हुन् । मानिसको जीवनमा सामाजिकताबाट स्वतन्त्र रहने ‘निजी’ को अस्तित्व नै हुँदैन । मानिसको निजत्व स्वयंको निर्माण, प्रयोग र अभिव्यक्ति सामाजिक रूपले हुन्छ ।
मार्क्सकै शब्दमा समाजवाद ‘स्वतन्त्र रूपले संगठित मानिसको संघ’ हो, जसको सचेत र योजनाबद्ध व्यवस्थापनअन्तर्गत समाजका तमाम मुद्दाहरू सञ्चालित हुन्छन् । यस्तो संघको सामूहिकता र सामाजीकृत उत्पादनमार्फत मानिसले व्यक्ति–व्यक्तिबीचका द्वन्द्वको समाधान गर्छन् र आफ्नो सामाजिक या मानव प्रकृति प्राप्त गर्छन्, जो पुँजीवादले उनीहरूबाट खोसेको हुन्छ । पुँजीवादले मानिसलाई अप्राकृतिक हिसाबले स्वार्थी र व्यक्तिवादी बनाएर उनीहरूको सामाजिकता र मनुष्यत्व हरण गरेको हुन्छ । मार्क्सको समाजवादको यो अवधारणासँग मिल्दोजुल्दो मान्यता राख्छन्, जर्मन दार्शनिक युर्गन हाबरमास । उनको विचारमा समाजवाद एउटा मुक्त समाजका यस्ता आवश्यक सर्तहरूको योग हो, जसलाई मानिस स्वयंले निर्धारण गर्नेछन् । त्यस्तै, समाजवादलाई सामाजिक जनवाद अर्थात् सामाजिक जीवनका सबै क्षेत्रमा जनवाद (लोकतन्त्र) को स्थापना र अभ्यास मान्ने निकै ठूलो सैद्धान्तिक र राजनीतिक परम्परा मार्क्सवादभित्रै थियो र छ । मार्क्सवादी पार्टीहरूका नाम नै सामाजिक जनवादी हुने गर्थे । अलि फरक तरिकाले भन्दा समाजवाद स्वतन्त्र मानिसले समानताका आधारमा गर्ने सामूहिक प्रयत्नको अवस्था हो ।
पुँजीवादले मानिस–मानिसको बीचमा मात्रै होइन, मानिस र प्रकृतिको बीचमा पनि शत्रुतापूर्ण द्वन्द्व खडा गरिदिन्छ, जोबिना पुँजीवाद बाँच्नै सक्दैन । त्यसको ठीक विपरीत समाजवादले मानिसका सचेत र बुद्धिमत्तापूर्ण सामूहिक क्रियाकलापमार्फत प्रकृतिसँग द्वन्द्वको समाधान गर्छ । त्यस कारण पर्यावरणवाद स्वत: मार्क्सवादी समाजवादको अनिवार्य अंग हो ।
यो पनि पढ्नुस
अबको संसारमा सैद्धान्तिक जडताबिनाको तर वैचारिक स्पष्टतासहितको प्रणाली चाहिन्छ । नारीवाद र पर्यावरणवाद आत्मसात गरेको समाजवादले नै यस शताब्दीमा निकास दिन्छ ।
कतिपयलाई के लाग्छ भने यस्तो समाजवाद त अप्राप्य आदर्श मात्र हो । तर यो आलोचना त मानव अधिकार, लोकतन्त्र, खुला बजार आदि सबैका हकमा लागू हुँदैन र ? जस्तै, संसारमा मानव अधिकारले कल्पना गरेजस्तो समाज प्राप्त हुन सक्छ, भएको छ ? संसारमा लोकको शासनको रूपमा लोकतन्त्र कतै छ ? एडम स्मिथले भनेजस्तो खुला बजार कहिले थियो, कतै छ ? त्यस कारण समाजवादलाई इन्कार गर्नका लागि माथिको तर्क निकै कमजोर छ किनकि यो तर्कका आधारमा त संसारका सबैजसो आदर्श इन्कारयोग्य हुनेछन् । समाजवादको सम्भाव्यताको पक्षमा एउटा आम तर्क के हुन सक्छ भने हाम्रै जीवनमा हामीले समाजका कतिपय विषय सामाजीकृत या सार्वजनिक पद्धतिअन्तर्गत प्रभावकारी र सफलताका साथ सञ्चालन गरेका छौँ या भएको देखेका छौँ । यदि हाम्रो जीवनका केही क्षेत्रको सामूहिक सञ्चालन गर्न सम्भव छ भने थुप्रै क्षेत्रहरूको सामूहिक सञ्चालन गर्न किन सम्भव हुँदैन ? जस्तै, वन, खोला, बिजुली, पानी आदि सामूहिक स्वामित्वमा चल्न सक्छन् भने यातायात, कृषि, कारखाना आदि किन चल्न सक्दैनन् ?
समाजवादलाई सामूहिकताको रूपमा परिभाषा गरिरहँदा कतिपयले राज्यको स्वामित्व तथा नियन्त्रणलाई समाजवादी र निजी स्वामित्व एवं नियन्त्रणलाई पुँजीवादीको भनेर बुझ्ने र बुझाउने गर्छन् । तर सधैँ त्यस्तो हुँदैन । पुँजीवादी व्यवस्थामा कतिपय राजकीय संस्था र क्रियाकलापले प्रत्यक्ष–अप्रत्यक्ष पुँजीपति वर्गको सेवा गरेका हुन्छन् । त्यसैले राजकीय स्वामित्व स्वत: समाजवादी चरित्रको हुँदैन ।
समाजवादका लागि समाज कहिले तयार हुन्छ ? : नेता या दलका आदर्श, प्रबुद्ध इच्छा, संकल्प, उच्च नैतिक बल र जबर्दस्त चाहना, प्रयत्न तथा प्रतिबद्धताले समाजवाद ल्याउँछ ? समाजमा दु:खीहरूको संख्या बढ्दा समाजवादको आधार बन्छ ? कतिपयले यी प्रश्नमा सकारात्मक उत्तर दिने झुकाव राख्छन् । तर ऐतिहासिक भौतिकवादी दृष्टिकोणले हेर्दा यस्तो झुकाव सिद्धान्तत: काल्पनिक समाजवादी विचारअन्तर्गत पर्दछ । इतिहास निर्माणबारे मार्क्स स्वयं यो सामान्यकृत मत राख्छन् कि मानिसले आफ्नो इतिहास आफैँ बनाउँछन् तर उनीहरूले आफूले चाहे जसरी आफैँले छानेको अवस्थामा होइन । यो नियम समाजवाद निर्माणको हकमा पनि लागू हुन्छ नै ।
ऐतिहासिक भौतिकवादको सरल नियमअनुसार आफूभित्र उत्पादक शक्तिको विकासको ठाउँ रहुन्जेल कुनै पनि सामाजिक व्यवस्था ढल्दैन, पुँजीवाद पनि ढल्दैन । पुँजीवाद ढल्ने बिन्दुमा या संकटमा नपुगी समाजवादको आधार तयार हुँदैन । पुँजीवादमा संकट तब आउँछ, जब पुँजीको निरन्तर पुनरुत्पादन हुने या उत्पादक शक्तिको निरन्तर विकास हुने भौतिक अवस्थाको अन्त्य भएको हुन्छ । यो नियम नेपालको हकमा लागू गर्दा के देखिन्छ भने हाल प्रभुत्व या शासनमा रहेको दलाल या अनुत्पादक पुँजीले आफूलाई निरन्तर विकास र विस्तार गर्न सकुन्जेल यसले उत्पादक पुँजीको विकासको ठाउँलाई संकुचित गरिरहन्छ । उत्पादक पुँजीको विकास समाजवादमा संक्रमणका लागि अनिवार्य मानिएको अवस्थामा दलाल पुँजीको हालको सफलता समाजवादउन्मुखताका लागि निर्णायक रूपले प्रतिकूल भइरहनेछ ।
यो पनि पढ्नुस
नेपाली समाजका लागि अबको बाटो तय गर्दा कुनै विचारधाराको कैदी नभई खुला दिलले इतिहासका पाठ सिक्नु जरुरी छ ।
पुुँजीवादको संकटबाट समाजवाद स्वत: आउँदैन । समाजवाद कुनै एजेन्सी या कर्ताका सचेत र योजनाबद्ध प्रयत्नबाट मात्र ल्याइन सक्छ । यस्तो एजेन्सी समाजका ती वर्ग या वर्गहरूले बन्दछ, जो पुँजीवादका पीडित समूह हुन् र जसले समाजवादमा मात्रै आफ्नो निजी तथा सामूहिक हित देख्छन् । यी वर्गले आफूलाई आफ्नो बहुसंख्या र चेतनाका आधारमा संगठित गर्नुपर्छ । नेपालको सन्दर्भमा हेर्दा त्यस्ता वर्ग छन् ? ती वर्ग संगठित छन् ? यसको ठोस अवस्थाको कुनै वैज्ञानिक अध्ययन भएको छैन । समाजवादउन्मुखता तात्कालिक लक्ष्य बताउने नेकपाले पनि आफ्नो दस्तावेजमा वर्गहरूबारे साह्रै थोरै र अन्योलपूर्ण कुरा लेखेको छ ।
नेकपाले आफूलाई सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि भएको दाबी गर्छ । यो वर्ग कहाँ र कत्रो छ भन्ने कुरा नेकपा बताउँदैन । बरु लगत्तै आफूले प्रतिनिधित्व गर्नुपर्ने सूचीमा ‘निम्न तथा मध्यम वर्ग र परिवर्तनमा सहयोगी हुने राष्ट्रिय पुँजीपति वर्ग’ लाई समेत समावेश गर्छ । थप, वर्तमान राष्ट्रिय परिस्थितिको चर्चा गर्दै हाल ‘सबै वर्ग, क्षेत्र र समुदायका जनताको एकता’ मार्फत नवऔपनिवेशिक शोषणविरुद्ध लड्नुपर्ने प्रस्ताव गर्छ । प्रश्न उठ्छ, कुनै राजनीतिक पार्टीले एकै साथ सर्वहारादेखि पुँजीपति वर्गको वर्गीय हितको प्रतिनिधित्व गर्न सक्छ ? के नवऔपनिवेशिकताको वर्गीय संरचना हुँदैन, जसका कारण यसविरुद्ध सबै वर्गलाई गोलबन्द गर्न सकिन्छ ?
यदि सामाजिक कल्याणका नीतिहरूको कार्यान्वयनलाई हालको सन्दर्भमा समाजवादउन्मुखता मान्ने हो भने पनि यसले सार्वजनिक क्षेत्र तथा राज्यको प्रत्यक्ष र प्रभावकारी भूमिकाको जोडदार माग गर्दछ, जुन कुरा राज्यको कल्याणकारी भूमिकामा आफ्नो हित देख्ने वर्ग, समूह, नागरिक आदिको बलियो उपस्थिति र सक्रियताद्वारा मात्र सम्भव हुन्छ । छोटोमा भन्दा समाजवाद या समाजवादउन्मुखताको अनिवार्य वर्ग आधार हुन्छ । वर्ग आधारबिनाको समाजवादको चाहना ‘मुंगेरीलालके हसिन सपने’ जस्तै हो ।
पुुँजीवादको संकटबाट समाजवाद स्वत: आउँदैन । वर्ग आधारबिनाको समाजवादको चाहना ‘मुंगेरीलालके हसिन सपने’ जस्तै हो ।
समाजवाद संक्रमणको अन्योल : समाजवादउन्मुखतालाई आफ्नो तात्कालिक लक्ष्यको रूपमा प्रचार गरिरहेको नेकपाले नेपाली जनवादी क्रान्ति समाजवादउन्मुख तथा जनताको जनवादका रूपमा प्रकट भएकाले हालको अवस्थालाई ‘समाजवादतिर अगाडि बढ्ने आधार भएको’ भनेर जिकिर गरेको छ । अर्कोतर्फ, नेकपाले धेरै ठाउँमा हालको चरण समाजवादको आधार तयार गर्ने समय रहेको दाबी गरेको छ । तर नेकपाको मूल मत पछिल्लो नै हो । चरणसम्बन्धी अन्योल अर्को ठाउँमा अलि प्रस्ट देखिन्छ । नेकपा एकातर्फ ‘नेपाली समाज आम रूपमा समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा प्रवेश गरेको’ दाबी गर्छ भने अर्कोतर्फ तात्कालिक रूपमा ‘समाजवाद होइन, समाजवादको आधार तयार पार्ने’ कार्यभार रहेको दलिल गर्छ ।
समाजवाद नै लागू गर्न नसकिने अवस्थामा क्रान्तिले समाजवादको चरण प्रवेश गरेको भन्न मिल्छ ? पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएपछि समाजवादको चरण सुरु हुन्छ भन्ने मान्यता र हाल नै सामाजवादमा संक्रमण गर्न सकिन्न भन्ने वस्तुस्थिति बोधको घुलनका कारण यस्तो अन्योलपूर्ण निष्कर्ष निक्लेको अनुमान गर्न सकिन्छ । तर यो अन्योलको अरू अन्योलहरूसँग पनि सम्बन्ध छ । नेकपा एकातिर सामन्तवादविरोधी जनवादी क्रान्ति ‘मूलभूत रूपले सम्पन भएको’ निष्कर्ष निकाल्छ भने अर्कोतर्फ सामन्तवादका अवशेषलाई तत्कालीन क्रान्तिको चरणका दुई मुख्य शत्रुमध्ये एक मान्छ, अर्कोचाहिँ दलाल पुँजीवाद । सामन्तवादविरोधी क्रान्ति सम्पन्न हुनु भनेको सामन्तवाद आधारभूत रूपले समाप्त भएको मान्नु पर्ने हुन्छ, जुन अवस्थामा त्यसका अवशेष न्यून मात्रामा र कमजोर अवस्थामा मात्र बाँकी रहेका छन् भनेर मान्नुपर्ने हुन्छ ।
केही सामन्तवादी अवशेष बाँकी छन् भनेर मान्ने हो भने पनि ती अबको क्रान्तिका मुख्य शत्रुमध्ये एक हुन् भनेर मान्न भने किमार्थ सकिन्न । अवशेषले समाजको रूपान्तरणलाई मूल रूपले बाधा गर्ने भौतिक शक्तिको हैसियत निश्चय नै राख्दैन । आखिर कस्तो क्रान्तिकारीले अवशेषलाई आफ्नो प्रधान शत्रुमध्ये एक मान्दछ ? त्यस्तै, नेकपा एकातिर जनवादी क्रान्ति आधारभूत रूपले सम्पन्न भएको जिकिर गर्छ भने अर्कोतिर जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने कुरालाई क्रान्तिको महत्त्वपूर्ण कार्यभार मान्दछ । जनवादी क्रान्ति आधारभूत रूपले सम्पन्न भएको मान्दा पनि त्यसका केही थौरे कुरा बाँकी रहेको मान्न सकिन्छ । तर यी थोरै बाँकी कुरा अबको क्रान्तिको कार्यभारको मुख्य सूचीमा भने निश्चय नै नपर्नु पर्ने हो । सम्भवत: यी सबै अन्योल आज नेपाली समाजको अर्थ–राजनीति कस्तो छ भन्ने अन्योल, अस्पष्टता र अज्ञानताबाट उत्पत्ति भएको हुनुपर्छ ।
समाजवादको अवधारणाको अन्योल : नेकपाले आफ्नो समाजवाद ‘प्रजातान्त्रिक समाजवाद’ र ‘सोभियत मोडल’ को समाजवादभन्दा भिन्नै र ‘उन्नत’ हुने दाबी गरेको छ । लोकतन्त्र या बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली समाजवादको अभिन्न अंग हुने नेकपाको सिद्धान्त छ । साथै, सर्वहारा वर्गको सत्ता, सर्वहारामाथिको उत्पीडनको अन्त्य, सर्वहारालाई सामाजिक न्याय र सुखद जीवन, समन्यायिक वितरण आदि यसका अन्य महत्त्वपूर्ण विशेषता हुनेछन् । यो समाजवादको अवधारणामा केही गम्भीर अन्योल छन् । सर्वहारा वर्गको सत्ता र बहुदलीय व्यवस्थाको साइनो कसरी सुमधुर होला ? समाजवादमा रूपान्तरणले वर्ग संरचनाको विघटन गर्दै लान्छ कि वर्गीय समाजभित्र मजदुरलाई आर्थिक न्याय र सुखद जीवन दिन्छ ? सर्वहारा वर्ग आफ्नै सत्तामा पनि सर्वहारा नै रहिरहन्छ ? सामाजीकृत उत्पादन र वितरणको स्थान कति हुन्छ ? उन्नत हुने संकल्प गरे पनि आर्थिक न्याय, समन्यायिक वितरण, सुखद जीवन, पर्यावरण संरक्षणजस्ता लक्ष्यले यसलाई आजका प्रजातान्त्रिक समाजवादी, सामाजिक जनवादी, ग्रीन पार्टीसँग नजिक लग्छ । माक्र्सवादलाई मार्गदर्शक माने पनि नेकपाको समाजवाद माक्र्सवादी समाजवादसँग टाढाको साइनो राख्छ ।
संक्षिप्तमा भन्दा, समाजको तत्कालीन परिस्थितिमा समाजवादको सम्भावना रहेको/नरहेको, समाजवाद चाहने वर्ग भएको/नभएको बुझ्नु र समाजवाद स्वयंको स्पष्टता निर्धारण गर्नु समाजवादी यात्राका आवश्यक सर्त हुन् ।
(प्रसाई नेपाल खुला विश्वविद्यालयमा राजनीतिक दर्शनशास्त्र पढाउँछन् ।)
यो पनि पढ्नुस
लोकतन्त्र मूलत: दलहरुले सञ्चालन गर्ने व्यवस्था हो । तर हाल दलको दबदबा यति गहिर्याइएको छ कि स्वविवेकी नागरिकको खडेरी नै परेको छ ।
यो पनि पढ्नुस
न व्यापार, न नाफा, न शोषण । न कोही गरिब र भूमिहीन, न कोही धनी, जमिनदार र उद्योगपति । कागजमा समाजवादको यो अवधारणा उत्कृष्ट देखिन्थ्यो तर यथार्थ अर्कै निस्क्यो ।
यो पनि पढ्नुस
नेपाल म्यागजिनले संविधानको यसै प्रतिबद्धतामा आधारित भएर समाजवाद बहस शृंखला चलाउने जमर्को गरेको छ ।
यो पनि पढ्नुस
के पुँजीवादविरुद्ध समाजवाद नयाँ विजय यात्रामा छ ? पुँजीवादको चुस्त आलोचक हुनुको बाबजुद समाजवादको आफ्नै उपलब्धि के छ ? विशुद्ध समाजवादबाट उँभो लागेको उदाहरण कहाँ छ ?
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...