कोरोनाको शंकैशंकामा उपचार नपाई बिते मिर्गौला रोगी
आठ महिनादेखि मिर्गौलाको उपचार गराइरहेका सन्तोष यादव फलोअपका लागि भरतपुर पुगेका थिए । तर कोरोनाको शंकैशंकामा थुनुवाझैँ बनाएर राखियो । राम्रो उपचार नपाएरै उनको ज्यान गयो ।
विश्वले दक्षिण कोरियाबाट पाठ सिकिरहेका बेला नेपालले पनि सिक्ने कुरा धेरै छन् । नागरिक जिम्मेवारी कसैले पनि नभुलौँ ।
गत जनवरी २० मा चीनबाट दक्षिण कोरिया प्रवेश गरेकी एक पर्यटकलाई पहिलोपल्ट दक्षिण कोरियामा कोरोनाको संक्रमण देखिएको थियो । फेब्रुअरी १४ सम्म कोरियामा कोभिड-१९ बाट संक्रमित हुनेहरूको संख्या ३१ मात्र थियो । स्थिति सामान्य नै थियो । तर, फेब्रुअरी १५ बाट स्थितिले युटर्न लियो ।
कोरियाको तेस्रो ठूलो सहरको यौटा प्रतिष्ठित चर्चकी एक सदस्यलाई कोभिड-१९ पोजेटिभ देखियो । लगत्तै उनीसँग सम्पर्कमा आउने चर्चका अरू १ हजार सदस्यमा पनि कोरोनाको संक्रमण देखियो । रातारात स्थिति नियन्त्रणबाहिर पुग्यो । फेब्रुअरीको अन्त्यसम्म आइपुग्दा दक्षिण कोरियाको अवस्था भयावह भैसकेको थियो । दर्जनबाट बढेर संक्रमितहरूको संख्या हजारमाथि उक्लिसकेको थियो । फेब्रुअरी २९ मा मात्र कोरियामा ९ सय ९ नयाँ संक्रमित थपिए । मार्चको पहिलो साता पनि उसरी नै नयाँ केसहरू थपिइरहे ।
कोरिया सरकारको हदैसम्मको प्रयासका कारण मार्चको दोस्रो सातादेखि भने स्थिति नियन्त्रण उन्मुख हुँदै गयो । मार्चको पहिलो सातासम्म ७ हजारभन्दा बढी संक्रमितहरू देखिएकामा मार्चको अन्तिम सातासम्म आइपुग्दा बिरामीको संख्या २ हजार ४ सयले बढेर ९ हजार ४ सय पुगेको छ । त्यसै गरी निको हुनेहरूको संख्या ५ हजारबाट उकालो लाग्ने तरखरमा छ । मृत्यु हुनेहरूको संख्या १ सय ४४ छ ।
विश्वको पछिल्लो स्थितिसँग दाँज्ने हो भने कोरियामा भाइरसको संक्रमण दर अत्यन्तै न्यून देखिन्छ । त्यस्तै गरेर मृत्युदर पनि कम छ । दक्षिण कोरियामा नयाँ संक्रमितहरू कम भेटिनु र स्थिति नियन्त्रण उन्मुख हुँदै जानुले विश्वभरिको नजर यतिबेला दक्षिण कोरियामाथि परिरहेको छ ।
यो पनि पढ्नुस
आठ महिनादेखि मिर्गौलाको उपचार गराइरहेका सन्तोष यादव फलोअपका लागि भरतपुर पुगेका थिए । तर कोरोनाको शंकैशंकामा थुनुवाझैँ बनाएर राखियो । राम्रो उपचार नपाएरै उनको ज्यान गयो ।
सन २०१५ मा फैलिएको मिडल इस्ट रेस्पिरोटरी सिन्डम (MERS) बाट कोरियामा १ सय ८६ जना संक्रमित भएका थिए । जसमध्ये ३६ जनाको मृत्यु भएको थियो । यतिखेर कोरियाले २०१५ को क्षतिबाट ठूलो पाठ सिकेको देखिन्छ । त्यसैलाई मध्यनजर गरेर कोरियाले आफ्नो देशमा कोभिड १९ का संक्रमित भेटिनुभन्दा पहिले नै विशेष सतर्कता अपनाउन थाल्यो ।
दक्षिण कोरियाले स्थितिलाई नियन्त्रणमा लिन सक्नुको पछाडि धेरै कारण छन् । यस लेखमा केही कारणको चर्चा गरिएको छ ।
टेस्टिङ किटको निर्माण : चीनमा कोभिडको संक्रमण बढेसँगै दक्षिण कोरियाले आवश्यक पूर्वतयारी अपनाउन थाल्यो । कोरियामा पहिलो संक्रमित भेटिनु अगावै टेस्टिङ किट र भ्याक्सिनहरूका लागि विभिन्न ल्याबहरूसँग सहकार्य गरेर काम अघि बढायो । फेब्रुअरी ४ मा किटको सफल परीक्षण गरेसँगै व्यापक उत्पादनमा जोड दियो ।
स्याम्पलिङ लिएको १५ मिनटदेखि २४ घन्टासम्ममा नतिजा दिने विभिन्न किटहरू कोरियामा प्रचलित छन् । अहिले दक्षिण कोरियाले दिनमा लाखौं किट निर्माण गर्छ । यतिबेला विश्वका दर्जनौं देशमा कोरियन किटको प्रयोग भइरहेको छ ।
यो पनि पढ्नुस
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन ।
परीक्षणमा तीव्रता : जनवरी २० मा पहिलो संक्रमित भेटिएकै भोलिपल्टदेखि कोरिया सरकारले १ सय १८ वटा ल्याब र ६ सय ३३ वटा टेस्टिङ साइट निर्माण गरेर देशैभर परीक्षणमा व्यापकता अपनायो । यसका अलावा मोबाइल टोलीहरू जताततै भेटिन्छन् । युरोप तथा कोरोना प्रभावित देशहरूबाट आउने सबै पर्यटक तथा यात्रुले कोभिड-१९ को परीक्षण गरेरमात्र कोरियामा प्रवेश गर्न पाउँछन् ।
विश्वभर सबैभन्दा धेरै जनामा कोरोनाको परीक्षण गर्ने देश हो, दक्षिण कोरिया । यहाँ दैनिक बीसौं हजार नागरिकको परीक्षण भइरहेको छ । यो लेख तयार पार्दासम्म दक्षिण कोरियामा कोभिड-१९ को परीक्षण गर्नेहरूको संख्या ३ लाख ७६ हजार ९ सय ६१ पुगेको छ ।
प्रविधिको उच्च प्रयोग : कोभिड-१९ को महामारी रोक्न कोरियाले प्रविधिको व्यापक प्रयोग गर्यो । संक्रमितहरूको पहिचानको निम्ति अत्याधुनिक सुविधासहितका मोबाइल टोलीहरू तैनाथ गरेर घरआँगनमै परीक्षण गरिरहेको छ । त्यसै गरेर सडकसडकमा हेल्थ डेक्सहरू राखिएको छ ।
यो पनि पढ्नुस
लकडाउनको यो चरणको पर्याप्त तयारी र त्यसको प्रभावकारी कार्यान्वयन् हुन नसके धेरै नागरिकहरूको लागि लकडाउन आफैँ कोभिड—१९ को प्रकोप जत्तिकै पीडादायी हुन सक्छ ।
जनचेतना अभिवृद्धि : मोबाइल तथा प्रविधिको प्रयोग गरेर व्यापक जनचेतना अभिवृद्धि गरिरहेको छ । कोरोना लाइभ म्यापको सहायताले आफ्नो आसपासमा भेटिएको संक्रमितबारे पूर्ण जानकारी लिन सकिन्छ । त्यस्तै रोग नियन्त्रण शाखाले मोबाइल नेटवर्क ट्र्याक गरेर आफ्नो आसपास संक्रमित भेटे अथवा सावधानी अपनाउनु परे प्रत्येक नागरिकको मोबाइलमा इमर्जेन्सी अलर्ट दिन्छ । अनावश्यक भीडभाड नगर्न, आफन्तहरू नभेट्न, कतै आवतजावत गर्नु परे भरसक सार्वजनिक सवारी साधन प्रयोग नगर्न नागरिकहरूलाई अनुरोध गरिरहन्छ ।
प्रशस्त क्वारेन्टाइन : विभिन्न होटल तथा अस्पतालहरूसँग सहकार्य गरेर दक्षिण कोरियाले धेरैभन्दा धेरै क्वारेन्टाइन निर्माण गरेको छ । यसका अलावा जनतालाई होम क्वारेन्टाइनमा बस्न भनेको छ ।
अनुगमनमा तीव्रता : नयाँ संक्रमित भेटिएमा उक्त संक्रमितसँग सम्पर्कमा आएका सबै जनाको तथ्याङ्क मात्र संकलन गर्दैन, उनीहरूलाई घरआँगनमै गएर परीक्षण गर्छ । सम्भावित भीडभाड हुने ठाउँमा अनुगमन टोलीहरू हरदम तैनाथ रहन्छन् ।
उपचारमा प्राथमिकता : दक्षिण कोरियामा रहेका विदेशी तथा कोरियन नागरिकहरूलाई कोरिया सरकारले कोभिड-१९ को परीक्षण तथा उपचार निःशुल्क गरेको छ । साथै संक्रमितहरूलाई राहतको व्यवस्था पनि गरेको छ ।
यो पनि पढ्नुस
बिरामीको उपचार गर्न नमान्ने निजी अस्पतालहरूसँग मन्त्रालयले स्पष्टीकरण त लियो तर थप कारवाही के गर्ने ? मन्त्रालयका उच्च अधिकारीहरू नै अन्योलमा छन् ।
सरसफाइमा व्यापकता : कोभिड-१९ को संक्रमित भेटिएको ठाउँ तथा सार्वजनिक स्थानहरूमा सरसफाइलाई व्यापकता दिइरहेको छ । सामाजिक सञ्जालमा कोरियन सैनिकहरूले सडक धोइपखाली गरेका विभिन्न भिडियो देख्न सकिन्छ । रेल, बस तथा अन्य सवारीसाधनमा स्यानिटाइजर अनिवार्य गरेको छ । लिफ्ट तथा भर्याङ प्रयोग गर्दा कतै खाली हातले नछुन, नपक्डन भनिएको छ ।
स्रोत तथा साधनको उपलब्धता : अन्य देशमा जस्तै कोरियामा पनि मास्क तथा स्यानिटाइजरको अभाव छ । अभावपूर्तिका लागि सरकार आफैंले हुलाक तथा निजी औषधी पसलहरूसँग सहकार्य गरेर मास्क बेच्छ । मास्क किन्नका लागि परिचयपत्र अनिवार्य छ । जन्ममितिका आधारमा एक जनाले हप्तामा बढीमा दुइटासम्म मास्क किन्न पाइन्छ । कोरियाले स्थानीय स्रोत तथा साधनहरूको व्यापक प्रयोग गरिरहेको छ । आपतकालीन सेवाका लागि जताततै एम्बुलेन्सहरू तैनाथ छन् ।
छिटो तथा भरपर्दो सेवा : हेल्प डेक्सहरू मुख्य सडकमा जताततै तैनाथ छन् । कसैलाई शंका लागे तत्कालै परीक्षण गर्न सकिन्छ । अस्पतालमा डाक्टर तथा नर्सहरूको अभाव भए पनि प्रभावकारी सेवामा कुनै कसर बाँकी राखेको छैन ।
कानुनमा कडाइ : कोरिया त्यसै पनि कानुनको अक्षरशः पालना गर्ने देश हो । कोरियामा कानुनसँग जोकोही डराउँछ । कोभिड-१९ को संक्रमण बढेसँगै कोरियाले कानुनमा झनै कडाइ गरिरहेको छ । कोरोनासम्बन्धी झुट बोल्ने, अफवाह फैलाउने तथा कानुनको पालना नगर्ने जो कोहीलाई तीन मिलियन वनसम्म जरिवाना भराउने गरेको छ । त्यस्तै, कारखाना तथा व्यापारिक क्षेत्र प्रवेश गर्दा हात धुन तथा मास्क लगाउन अनिवार्य छ ।
यो पनि पढ्नुस
पछिल्ला केही वर्षयताका राजनीतिक घटनाक्रम होउन्, या सामाजिक, निर्मला हत्याकान्डलाई छाड्ने हो भने बाँकी सबका सब मुद्दाहरूलाई हामीले बेवास्ता गरिदियौँ । यस्तै व्यवहार गरेका छौँ हामीले कोरोना स्वास्थ्य प्रकरणलाई पनि ।
यतिखेर कोरियाले कोभिड-१९ सँग लड्नका निम्ति ५ कुरालाई केन्द्रबिन्दुमा राखेर TRUST (ट्रस्ट) अभियान चलाइरहेको छ ।
— T : Transparency (पारदर्शिता)
— R : Rebust screening and quarantine (मजबुत स्क्रिनिङ र क्वारेन्टाइन)
— U : Unique but universally-applicable (अद्वितीय तर उपयोगी)
— S : Strict control (कडा नियन्त्रण)
— T : Treatment (उपचार)
कोरियामा कोरोना जति नै फैलिए पनि यहाँका कलकारखानाहरू पूर्ववत् चलिरहेका छन् । संक्रमण फैलिएको केही साता थेगु सहरमा आंशिक सट डाउन भए पनि सरकारले कतै गरेको छैन । विदेशबाट आउने जाने यात्रुहरूलाई आवतजावतमा प्रतिबन्ध लगाइएको छैन ।
यो पनि पढ्नुस
कोरोना संक्रमणको सन्त्रास त छँदैछ, उपभोक्तालाई भान्साको चिन्ता पनि छ । दैनिक उपभोग्य सामग्रीको अभाव हुने चिन्ता उपभोक्ताहरूमा देखिन्छ ।
फेब्रअरीको अन्तिमतिर, कोरियामा कोरोनाले साम्राज्य फैलाउन उद्यत रहेका बेला छुट्टीमा नेपाल गएको साथी फर्कियो । अध्यागमनमा उसले हल्का घाँटी दुखेको छ भनेको रहेछ । कोरिया प्रवेशपछि मौसमका कारण उसलाई रुघा लाग्न खोज्यो । डरले नजिकैको क्लिनिकमा गएर इन्जेक्सन लगायो ।
भोलिपल्ट नै स्वास्थ्य केन्द्रबाट कारखानामै कोरोना परीक्षण गराउनु, घाँटी दुखेको भनेको रहेछस् भनेर फोन आयो । एक पटक हैन, दुई-तीन पटक नै । फोनमा अरू पनि कुरा भए— जस्तैः जाँच गर्न आउँदा बस अथवा मेट्रोरेलको प्रयोग नगर्नू । ट्याक्सीमा आउनू । भीडभाडमा नजानू । काममा नजानू । साबुन, पानी, ट्वाइलेट पेपरहरू फरक प्रयोग गर्नू । मास्क लगाइराख्नू । त्यतिमात्र कहाँ, चेकजाँचपश्चात नतिजा नआउन्जेल सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भयो । कारखानाले अर्कै कोठाको व्यवस्था गर्यो । खानपिन अरू साथीहरूसँगै गर्न दिएन । कामबाट पनि बिदा दियो ।
प्रिय पाठकहरू, मैले यहाँनिर यो उदाहरण राखेर कोरियाको उच्च सतर्कता देखाउन खोजेको हुँ । अर्को कुरा, आज मात्र मेरो मोबाइलमा ४ वटा इमर्जेन्सी अलर्टहरू आएका छन् । म बसेभन्दा १०-१२ किलोमिटर आसपास एक जना कोभिड संक्रमित भेटिएछ । त्यसैले सतर्क रहन म्यासेज आइरहेको छ ।
एकैछिन कोरियालाई छाडौं । देशतर्फ फर्कौं ।
यो पनि पढ्नुस
विदेशमा डराइडराइ काममा गइरहेका नेपाली कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण रोजगारी नै गुम्ने हो कि भन्ने त्रासमा छन् ।
यतिबेला सिंगो नेपाल लगडाउन छ । सरकारले आवतजावत, भीडभाडमा प्रतिबन्ध लगाएको छ । सबैलाई घरबाट बाहिर ननिस्कन उर्दी जारी गरेको छ । देशको स्वास्थ्य क्षेत्र एकदमै नाजुक छ । संसारभरि महामारी फैलिरहेका बेला स्वास्थ्य मन्त्रालयले खासै पूर्वसतर्कता अपनाएको देखिँदैन । कोभिड-१९ संक्रमित भेटिएको महिनौं भइसक्दा पनि आलेटालेमै अड्किरहेको छ ।
कतिसम्म भने कोभिड १९ भएको हो, हैन भनेर परीक्षण गर्नसम्म भनेको बेला सकिँदैन । पाइँदैन । निजी अस्पतालहरूले साधारण रूघाखोकीका बिरामीहरूको परीक्षण गर्नसम्म मानेका छैनन् । कैयौं सरकारी डाक्टर तथा नर्सहरू बिदामा बसिरहेका छन् । भएका अस्पतालमा समेत साधन स्रोतको चरम अभाव छ । सरकारी अस्पतालका शौचालयमा पस्न हम्मेहम्मे पर्छ । सरसफाइ तथा सतर्कतामा खासै ध्यान दिएको देखिँदैन ।
विश्वलाई हेर्ने हो भने धेरै अस्पतालहरूबाटै कोभिड-१९ भाइरसको संक्रमण फैलिरहेको छ । भएका संरचना तथा परीक्षण केन्द्रहरू पनि चुस्त दुरुस्त छैनन् । दक्ष जनशक्तिको अभाव छ । आपतकालीन अवस्थालाई भनेर कुनै पूर्वतयारी गरेको पाइँदैन । बिरामी ओसारपसार गर्न एम्बुलेन्सहरू तैनाथ गरिनुपर्ने हो । त्यो फितलो छ । भएका एम्बुलेन्सहरूमा पनि सुरक्षाको हिसाबले डरमर्दो अवस्था छ । एम्बुलेन्स चालक तथा डाक्टरहरूले बिनासतर्कता बिरामी ओसारपसार तथा परीक्षण गरिरहेका छन् । पीपीई, मास्क, पन्जा प्रायः लगाएको देखिँदैन ।
बजारमा मास्क र स्यानिटाइजरको अभाव छ । कालोबजारी आकाशिएको छ । जनतामा चेतना स्तर न्यून छ । सरकारले जनतामा चेतना अभिवृद्धि गर्न खासै पहल गरेको छैन । सेल्फ क्वारेन्टाइन भने पनि विदेशबाट गएका नेपाली तथा विदेशीहरू निर्वाध हिँडडुल गरिरहेका छन् । आफन्तहरूसँग भेटघाट गरिरहेका छन् । यसरी विदेशबाट फर्किएका नागरिकहरूको निगरानी नगर्दा भाइरसले फैलने अवसर पाउँछ । यस्तो बेला विदेशबाट आएकालाई सरकारले आफ्नो निगरानीमा राखेर सेल्फ क्वारेन्टाइनमा बस्न लगाउनुपर्ने देखिन्छ ।
यो पनि पढ्नुस
राष्ट्रिय स्वास्थ्य परीक्षण प्रयोगशाला टेकुमा मात्र कोरोना भाइरस परीक्षण हुने र काठमाडौँबाहिर पर्याप्त मात्रामा जनशक्तिका साथै चिकित्सकको प्रबन्ध नभएको अवस्था छ ।
हिजोमात्र यौटा समाचार पढेको थिएँ - छोरालाई क्वारेन्टाइनमा किन राखेको भन्दै डाक्टरमाथि आक्रमण । त्यस्तै अर्को समाचार पनि पढेको थिएँ- कोरोनाको शंका लागेर आइसोलेसनमा राखिएका पुरुष फरार । यस्ता समाचारहरूले स्पष्ट पार्छ, देशको सुरक्षा स्थिति फितलो छ ।
सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूको भीडभाड त छँदै छ । भ्रामक हल्लाको पछि लागेर अफवाह फैलाइरहेका छन् । मूलधारकै कतिपय मिडियाहरूले पनि सत्यतथ्य नबुझी होडबाजीको पछि लागेर झूटा समाचारहरू सम्प्रेषण गरिरहेका छन् । यतिबेला सामाजिक सञ्जालतिर पनि सरकारले निगरानी राख्नुपर्ने देखिन्छ ।
हिजो एक जना साथीले फोनमा भन्दैथियो, "सहर पसेकाहरू गाउँ फर्किएका छन् । किराना पसलमा थन्किएका क्यारमबोर्डहरू खोतलिएका छन् । मान्छेहरू फुर्सदिला भएका छन् । मतलब, गाउँघरमा सेल्फ क्वारेन्टाइन प्रभावकारी छैन । मान्छेहरू सुरक्षित रहन गाउँघर गए पनि घरमा नबस्नाले संक्रमण फैलने खतरा झनै बढ्दो छ ।"
आफन्तहरूसँग सम्पर्क गर्दा प्रायः सबै आत्तिएजस्ता लाग्छन् । अब के होला भन्ने भय सबैलाई छ । सत्यतथ्यभन्दा झूटा कुराहरू जोडतोडका साथ फैलिरहेका छन् । धर्म प्रचारकहरू धर्मको नाममा व्यापार गरिरहेका छन् । सँगै काम गर्ने नेपाली साथी गुनासो गर्दैथियो, "दाइ हेर्नु न, गाउँभरि हल्ला फिँजाइदिएछन्, मलाई कोरियामा कोरोना लाग्यो भनेर । घरमा फोन गरेर सम्झाउन, बुझाउन खोज्दा आत्तिन्छन् भनेर झूट बोल्दैछस् भनेर पत्याउनै हुन्न । कस्तो फसादमा परें भने नि ।"
यतिखेर हाम्रो देश फेब्रुअरीको इटालीको अवस्थामा छ । फेब्रुअरीमा दुई जना संक्रमित भएको इटालीमा मार्च अन्तिमतिर आइपुग्दा संक्रमितहरूको संख्या बढेर झन्डै एक लाख हाराहारी पुगिसकेका छन् भने मर्नेहरू १० हजार हाराहारीमा पुगेका छन् ।
यो पनि पढ्नुस
लकडाउनको अवस्थामा के गर्न हुन्छ ? के गर्न हुँदैन ? डा. समीरमणि दीक्षितको भिडियोः
फेब्रुअरीतिर कोरियामा संक्रमण फैलदासम्म इटाली सुनसान थियो । करिब ६ करोड जनसंख्या भएको दक्षिण कोरिया घना बस्ती हुने देशहरूभित्र पर्छ । तर, अहिले कोरियामा ९ हजार ४ सय संक्रमित हुँदा इटाली उठ्नै नसक्ने अवस्थामा पुगिसकेको छ ।
यहाँनेर मैले केही देशको तुलना गर्नुको मुख्य कारण राज्य संरचनाको अवस्था देखाउनु मात्र हो । स्थितिलाई सामान्यीकरण गर्न राज्य संरचनाको सबैभन्दा ठूलो हात हुन्छ । यतिबेला हाम्रो देशले इटाली, अमेरिका र कोरियासँग पाठ सिक्नुपर्ने देखिन्छ ।
विश्वले दक्षिण कोरियाबाट पाठ सिकिरहेका बेला नेपालले पनि सिक्ने कुरा धेरै छन् । सबैभन्दा मुख्य कुरा हाम्रो सरकारले दक्षिण कोरियाबाट राज्य संरचना कसरी मजबुत बनाउन सकिन्छ भन्ने सिकोस् । संक्रमितहरूको अनुगमनमा कोरिया एकदमै सफल देखिन्छ । नेपालको स्वास्थ्य मन्त्रालयले संक्रमित भेटिएपछि पत्रकार सम्मेलन गरेर जानकारी दिए पनि अनुगमनमा सुस्ताएको छ । बिरामी भेटियो भनेर झ्याली पिट्नुभन्दा पनि बिरामी कहाँ भेटियो र बिरामी कोकोसँग सम्पर्कमा आएको थियो ? बिरामीसँग सम्पर्कमा आउने व्यक्तिहरूलाई सरकारले पहिचान गरेर परीक्षण गर्नुपर्ने हो । त्यतातिर खासै ध्यान दिएजस्तो लाग्दैन ।
दक्षिण कोरियाका जनता तथा सरकारसँग इच्छाशक्ति धेरै छ । हाम्रोमा अत्यन्तै न्यून छ । स्थितिलाई आलटाल गर्ने बानीले पक्कै फाइदा गर्दैन । संक्रमण फैलनुभन्दा अगावै दिनरात नभनी खटिइरहेको कोरिया सरकार तथा कोरियन डाक्टर नर्सहरूबाट हामीले धेरै कुरा सिक्न सक्छौं ।
नेपालका जनतामा सही सूचनाको सम्प्रेषण भइरहको छैन । जनताको भयलाई न्यूनीकरण गर्न तथा आफन्तहरूसँगको भेटघाट बन्द गर्न तत्कालै सरकारले कडाइ गर्नुपर्ने देखिन्छ । त्यस्तै गरेर नेपाल सरकारले कोभिड-१९ संक्रमितको व्यक्तिगत जानकारी गोप्य राखेको छ, यसले झनै भय फैलन्छ । दक्षिण कोरियाले जस्तै व्यक्तिगत जानकारी सार्वजनिक गरे केही हदसम्म भए पनि जनता आफ्सेआफ सतर्क हुने थिए ।
यो पनि पढ्नुस
कोरोना भयले कोरियाको जीवनशैली असामान्य बनिसकेको छ । यस्तो अवस्थामा यहाँ रहेका नेपालीहरू कत्तिको सुरक्षित छन् ?
दक्षिण कोरियाले जस्तै नेपाल सरकारले विभिन्न ल्याबहरू खोल्न नसके पनि प्रत्येक प्रदेशमा १-२ वटा मोबाइल टोली खटाउन सक्छ । कोरिया तथा अन्य देशहरूसँग सहकार्य गरेर जाँच गर्ने किट्सहरू धेरै मगाउनुपर्ने देखिन्छ । विषम परिस्थितिमा जनताको स्वास्थ्यलाई ख्याल नगरी बिदामा बस्न डाक्टर नर्सहरूलाई हदैसम्मको कारबाही गरिनुपर्छ । संक्रमितहरू ट्र्यास गर्न कोरियाकै पद्धति अपनाउन सकिन्छ । आवश्यक सामानहरूको अभाव देखाएर उपचार प्रक्रियाबाट पन्छिन खोज्ने निजी स्वास्थ्य संस्थाहरूको लाइसेन्स तत्काल खारेज गरी सरकारले नियन्त्रणमा लिएर सेवा सुचारू गर्नुपर्छ ।
प्रहरी तथा निजामती कर्मचारी, शिक्षकशिक्षिकाहरूलाई तालिम दिएर जनताको घरदैलोमा जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्नुपर्छ । काठमाडौं तथा मुख्य सहरमा पानीको अभाव हुने भएकाले पन्जा र मास्क लगाउनैपर्ने बाध्यकारी नियम बनाउन सकिन्छ ।
राजनीतिक दलहरूले भ्रातृ संगठन तथा कार्यकर्ताहरूलाई स्थानीय स्रोत र साधनको प्रयोग गरेर स्यानिटाइजर तथा मास्क उत्पादन गर्नमा प्रयोग गर्न सक्छन् । किनमेल गर्दा नोटभन्दा चेक तथा क्रेडिट कार्डहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्छ । मास्क तथा स्यानिटाइजर सरकारले नै कोरियाकै मोडलमा वितरण गर्न सकिन्छ । लकडाउन नै भए पनि साबुन तथा स्यानिटाइजरका कारखानाहरूलाई खुलै राख्नुपर्छ । नयाँ कारखाना खोल्न प्रोत्साहन गर्नुपर्छ ।
यो पनि पढ्नुस
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म छ । तर टेकु अस्पतालमा बिरामी त परै जाओस्, एप्रोन लगाएका डाक्टर र नर्स बिनामास्क खुलेआम घुमिरहेका देखिन्छन् ।
हामी जनतामा स्वअनुशासनको एकदमै कमी छ । हामीले यतिबेला आफूलाई अनुशासित राख्नु नै सबैभन्दा ठूलो सावधानी हो । वफादार नागरिक बन्नु हाम्रो कर्तव्य हो । दिनभर मजदुरी गरेर बेलुकाको गाँसको जोहो गर्नेहरूको संख्या धेरै भएकाले केही दिनमै देशमा भोकमारी फैलिने खतरा छ । यसतर्फ पनि सरकारले अहिलेदेखि पूर्वतयारी अपनाउनुपर्छ ।
लगडाउन गर्नु समस्याको समाधान होइन । समस्यासँग लुक्नु हो । त्यसैले लकडाउनको विकल्पको विषयमा पनि सरोकारवालाहरूको ध्यान जाओस् । अहिले हामीले उच्च सतर्कता र जिम्मेवारीबोध गरेर महत्त्वपूर्ण कदम नचाले भोलिको नेपाललाई आजको इटाली अथवा अमेरिका हुनबाट रोक्न सकिँदैन ।
अहिलेसम्म कोभिड-१९ को भाइरस मार्ने भ्याक्सिन बनिसकेको छैन । संक्रमितको इम्युनिटी पावर नै कोरोनाको एकमात्र उपचार भएकाले मनोबल बढाउने उपाय अवलम्बन गर्नुपर्छ । मदिराको सेवनभन्दा जडीबुटी कन्दमुलहरूको सेवनमा जोड दिनुपर्छ । माछामासुभन्दा हरिया सागसब्जी धेरै खानुपर्छ । सरकार नपुगेका, पुग्न नसक्ने ठाउँमा जनस्तरमै चेतना अभिवृद्धि गर्न सकिन्छ । गर्नुपर्छ ।
अन्त्यमा, रोगले ठूलो-सानो, धनी-गरिब, सबलाङ्ग-विकलाङ्ग, सुगम-दुर्गम, जवान-प्रौढ केही पनि भन्दैन । न कसैलाई चिन्छ नै । त्यसैले यो प्राकृतिक विपदको सबैले मिलेर सामना गर्नुको विकल्प छैन । जाँदाजाँदै, विपदलाई मजाक नसम्झौं । के थाहा, अहिलेको हाम्रो सानो कमजोरीले भोलि तपाईं हामी नै नरहन पनि सक्छौं । सबैभन्दा ठूलो नागरिक जिम्मेवारी कसैले पनि नभुलौं ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...