कृषि क्षेत्र उठाउने हो ? रैथाने ज्ञानलाई इज्जत गर्दै नवप्रवर्तनमा लाग्नुहोस्
हामी सबैले चाहेको र खोजेको कृषिको आधुनिकीकरण एवं व्यवसायिकीकरणको आधारभूत जग नै नवप्रवर्तनको विकास र यसको समयानुकूल रुपान्तरण हो ।
युद्धले जर्जर सिरियामा गत महिना त्यहाँकी शरणार्थी डा सफा कुमारीले दस वर्षे अथक प्रयासपश्चात् भाइरस प्रतिरोधी सुपर सिड पत्ता लगाएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आए ।
सिरियादेखि इथियोपियासम्म भाइरसले संक्रमण गरी त्यहाँको सिमी, मुसुरो र चनालाई चुनौती दिइरहेका बेला पत्ता लागेको यो सुपर सिडले अब त्यस क्षेत्रको कृषि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने पक्का छ । मात्रा धेरथोर होला, तर संकट सबैतिर छ । यस्तै कठिनाईका बीचबाट आउने नवप्रवर्तनका यस्ता किस्साहरू नै अब हामीलाई बचाउने बुटी हुन् ।
राजनीति, समाज र शिक्षाको विषयमा कलम चलाउँदै आएका मिलन पाण्डेले किसानका निम्ति राज्य खोइ ? लेखमार्फत कृषिमा इनोभेसन (नवप्रवर्तन) को महत्त्व र आवश्यकता जापानको खर्बुजाको दृष्टान्तमार्फत प्रकाश पारे । खर्बुजाको आकारसँगको इनोभेसनले जापानको उपहार दिने संस्कृति नै परिवर्तन गरेको रहेछ । सबैले बिर्सिसकेको इनोभेसनलाई फेरि सार्वजनिक वृत्तमा ल्याइदिएकामा उनलाई साधुवाद ।
के हो नवप्रवर्तन ?
त्रिभुवन विश्वविद्यालयका भौतिकशास्त्री प्राडा उदयराज खनालका अनुसार नवप्रवर्तन नयाँ प्रविधि विकास गर्ने क्रिया हो । विज्ञानलाई आफ्नो माटो र परिवेश सुहाउँदो बनाउनु एवं परम्परागत विधिलाई नयाँ रूपमा विकास गर्नु नवप्रवर्तन हो । यसले विकासका लागि नयाँ सोचको अवलम्बन भन्ने बुझाउँछ । प्राडा दयानन्द वज्राचार्यले नयाँ वा पुरानो कुनै पनि प्रक्रियालाई नवीन तरिकाले सफल पार्न गरिने नयाँ तरिकाको सोच र प्रयोगलाई नवप्रवर्तन हो भनेर बताएका छन् ।
वास्तवमा नवप्रवर्तनको गहिरो र व्यापक अर्थ छ । विज्ञान र प्रविधिले वैज्ञानिक सिद्धान्त र त्यसअनुरूप बनेका प्रविधिलाई जनाउँछ भने नवप्रवर्तनले विज्ञान एवं प्रविधिबाट आर्थिक र सामाजिक विकासको बृहत्तर फैलावटलाई समेट्छ ।
हामी सबैले चाहेको र खोजेको कृषिको आधुनिकीकरण एवं व्यवसायिकीकरणको आधारभूत जग नै नवप्रवर्तनको विकास र यसको समयानुकूल रुपान्तरण हो ।
नवप्रवर्तनबारे अहिले विश्वमै बहस पैरवी भइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो साल भारतीय विज्ञान सम्मेलनमा बोल्दै नवप्रवर्तन, प्याटेन्ट र उत्पादनका लागि भारतीय वैज्ञानिक र युवाहरूलाई आग्रह गरे । कृषिलाई महत्त्व दिँदै सिँचाइको सस्तो एवं प्रभावकारी समाधान र पोषणयुक्त बिउको सन्दर्भ जोडी वैज्ञानिकहरूलाई यसको खोजमा लाग्न आह्वान गरे । किसानलाई वितरण गरिएको स्वाइल हेल्थ कार्ड (माटो स्वास्थ्य कार्ड) को तथ्यांकलाई कसरी दैनिक खेती किसानीका लागि उपयोग गर्ने हो, नयाँ सिराबाट सोच्न पनि आह्वान गरे ।
चीन अहिले देशको दुर्गम भेगको रुपान्तरण र विकासमा लागेको छ । गरिबी निवारणमा कृषिलाई प्राथमिकता दिँदै अगाडि बढेको छ । चीनका राष्ट्रपति सी जिनफिङले अघिल्लो वर्ष पचासभन्दा बढी कृषि विश्वविद्यालयका शिक्षक र विज्ञलाई पत्राचार गरी तिनको कामलाई निकै प्रशंसा गर्दै कृषिको आधुनिकीकरणका लागि नवप्रवर्तन एवं प्रविधि विकासका निम्ति जुट्न अनुरोध नै गरे ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अघिल्लो साल नेसनल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा स्थापना गरिएको पहिलो विज्ञान र प्रविधि पार्कको उद्घाटन गर्दै पाकिस्तानलाई नवप्रवर्तन र ज्ञानको हब बनाउने उद्घोष गरे । यी उदाहरणले हाम्रा छिमेकी राष्ट्रहरूको नवप्रवर्तनबारेको गहन बुझाइ र तिनले दिएको महत्त्वलाई छर्लंग पार्दछ ।
हाम्रा अग्रजहरूसँग प्रकृतिमैत्री ज्ञान र सीपका भकारी थिए । नयाँ पुस्ताबीच हस्तान्तरण हुँदै परिस्कृत बन्दै जान्थे । यी ज्ञानलाई हामी रैथाने इनोभेसन भन्न सक्छौँ ।
परम्परागत ज्ञान
लेखिका द्वारिका थेवेले कोभिड– १९ को सन्दर्भमा बजारले विस्थापन गरेको हाम्रो रैथाने खाद्य, आदिवासी ज्ञान र परम्परागत सीपबारे बजारले बिगारेको खाद्य सञ्चिति लेखमार्फत उजागर गरिन् । उनले परम्परागत ज्ञान मासिएपछि हाम्रो विपद्सँग लड्ने र संकटसँग जुध्ने सामर्थ्य घटेको चिन्तन प्रस्तुत गरिन् ।
यता, कान्तिपुरकर्मी देवेन्द्र भट्टराईले पनि मूलाका चाना र अमिलो मही सम्झिए । भट्टराईले उक्त लेखमार्फत रैथाने स्वाद, ठेकी, मदानी, हर्पे र टोलुङ सम्झिए । लकडाउनमा यी लेखहरूले हामीलाई हाम्रा अग्रजको परम्परागत ज्ञानको भण्डारबारे सोच्ने बनायो ।
हाम्रा अग्रजहरूसँग प्रकृतिमैत्री ज्ञान र सीपको भकारी थिए । नयाँ पुस्ताबीच हस्तान्तरण हुँदै परिस्कृत हुँदै जान्थे । यी ज्ञानलाई हामी रैथाने इनोभेसन भन्न सक्छौँ ।
अन्तर्राष्ट्रिय विज्ञान परिषद्ले परम्परागत एवं रैथाने ज्ञान र सीपलाई विज्ञानमा महत्त्वपूर्ण योगदानको रूपमा लिएको छ । यस्ता ज्ञान र सीपको संरक्षण अनुसन्धान एवं प्रवर्द्धन हुनुपर्ने बताएको छ । सन् २००२ मा परम्परागत ज्ञानका विज्ञ र वैज्ञानिकबीच अन्तरसम्बन्ध स्थापना गरी यस्ता ज्ञानको वैज्ञानिक अध्ययन एवं अनुसन्धान हुनुपर्ने विश्व विज्ञान सम्मेलनले प्रकाश पारेको थियो ।
रैथाने इनोभेसन
इलामका डम्बरबहादुर राईले मुसा मार्ने साँचो बनाए । यो नयाँ अन्वेषणले भण्डारणमा लाग्ने मुसा मार्ने विष किन्नु नपर्ने भयो । रूपन्देहीका थारु समुदायले परम्परागत तरिकालाई केही सुधारेर परेवाको मल संकलन गर्न जालीको प्रयोग गरे । यसरी खेर जाने बिस्टा संकलन गरी मलका रूपमा प्रयोग भयो । बाँकेमा धेरै दूध उत्पादन भएर मिल्क होलिडे हुन थालेपछि महेन्द्रप्रसाद पौडेलले स्थानीय स्तरमै प्रशोधन गर्न पानीबाट दूध तताउने नयाँ जुक्ति निकाले । यसबाट १ सय २० लिटर दूध एकै पटकमा उमाल्न सकिने भयो । कास्कीका लीलानाथ ढकालले परम्परागत प्रविधिमा केही सुधार गरेर सुन्तला जात फलफूलको रस निकाल्ने कोल बनाए । रस निकाल्न निकै सहज भयो ।
रामेछापका जुनार कृषकहरूले पनि यस्तै खाले कोलबाट बिउ छान्छन् । चितवनका उत्तम चौधरीले पुरानो तरिकालाई केही सुधार गरी जालखरी बनाए । यसले भेडाबाख्रालाई घाँस खुवाउन सहज भयो । अरिंगाल र बच्छ्युँले मौरी मारेर उधुम गर्छन् । यसलाई समाधान गर्न चितवनका कृष्णबहादुर तामाङले नयाँ सोच निकाले र अरिंगालको पासो बनाए । यसबाट मौरीहरू सहजै चरनमा निस्कन पाए । पहाडका भिराला र साँघुरा पाटामा दुई गोरुले जोत्न असहज भएपछि तनहुँका कृष्णबहादुर रेग्मीले परम्परागतभन्दा केही सुधार गरेर एउटा गोरुले जोत्ने हलोजुवा बनाए । यसले जोताइ सहज र छिटो बनाउनुका साथै गोरु पाल्न पनि सहज भयो ।
सिन्धुपाल्चोकका हुरी शेर्पाले तीन तलासम्म निर्माण सामग्री बोकेर लैजान सहज हुने क्रेन बनाएका छन् । केरा खेतीमा निकै समस्याको रूपमा रहेको गबारो नियन्त्रणका लागि सिन्धुपाल्चोकका कृष्णबहादुर वनले नांगो तार छोएको केराको बोटमा उक्त कीरा नलागेको देखेपछि ब्याट्रीबाट चल्ने उपकरण बनाई सफल प्रयोग गरे ।
प्रोमोटिङ लोकल इनोभेसन (प्रोलिन्नोभा) नेपाल प्रोग्राम, स्थानीय अन्वेषण प्रवर्द्धन कार्यक्रम र कृषि विकास विभागले प्रकाशन गरेका स्थानीय अन्वेषणहरू नामक संकलनमार्फत स्थानीय अन्वेषणहरूको पहिचान एवं अभिलेखीकरण गरी समस्या समाधानमा आधारित स्थानीय खोजलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको थियो ।
माथि उल्लिखित रैथाने इनोभेसन यही संकलनको देन हो । यस्ता स्थानीय अन्वेषणले जीविकोपार्जन सहज बनाएका हुन्छन् । प्रकृतिमैत्री हुन्छन् । सस्ता र प्रयोग गर्न सजिला हुन्छन् । यस्ता प्रविधिमा अन्वेषकले अपनत्व महसुस गर्छ भने समुदायले सहजै ग्रहण गर्छन् ।
स्थानीय अन्वेषणले जीविकोपार्जन सहज बनाएका हुन्छन् । प्रकृतिमैत्री हुन्छन् । सस्ता र प्रयोग गर्न सजिला हुन्छन् । यस्ता प्रविधिमा अन्वेषकले अपनत्व महसुस गर्छ भने समुदायले सहजै ग्रहण गर्छन् ।
आधुनिक इनोभेसन
कृषिमा नवप्रवर्तनको ठूलो महत्त्व हुन्छ । यसका लागि कृषि अनुसन्धान र प्रसार समन्वयको निकै ठूलो भूमिका रहन्छ । इजरायलमा कृषि अनुसन्धान र प्रसारबीचको समन्वयले किसानलाई बलियो बनाएको छ । सन् २००० ताका त्यहाँ अनार उत्पादन निकै कम थियो । धेरैजसो आयात हुन्थ्यो । त्यहाँको अनुसन्धान निकायले यसबारे अध्ययन सुरु गरे । अनुसन्धान निकायको कृषि इन्जिनियरिङका वैज्ञानिकहरूले अनार तास्ने मेसिन बनाए । यसले पूरा भ्यालु चेनलाई नै सस्तो बनायो । यो मेसिन विश्वभर बिक्न थाल्यो । प्रजनन् वैज्ञानिकहरूले नयाँ जातको अध्ययन सुरु गरे । अर्को समूहले मल र सिँचाइबारे अध्ययन थाल्यो । अनारको जुसबारे पनि अध्ययन थालियो । धेरै एन्टिअक्सिडेन्ट हुने र गाईको आहारमा प्रयोग गर्न सकिने कुरा अध्ययनले देखायो । रोग, ‘पोस्ट हार्भेस्ट’ आयु र निर्यातबारे पनि अध्ययन गरिए । अन्तत: इजरायल अनार उत्पादनमा विश्वकै अब्बल राष्ट्र बनेको छ ।
अर्को उदाहरण, इजरायलमा एक समय ग्रिनहाउसभित्र लगाइएको गोलभेँडा एकाएक मर्न थाल्यो । गोलभेँडा त्यहाँको प्रमुखमध्येको एक उत्पादन हो । यसको उत्पादन घट्दा अर्थतन्त्रमै असर पर्न सक्थ्यो । यस्तो समस्या समाधानका लागि एक बृहत् सिकाइ ‘मल्टिडिसिप्लिनेरी’ टिम बनाइयो र सरकारले लगानी गर्यो । त्यस टिमले कामदारहरूको क्रियाकलाप ट्रयाक गर्न थाल्यो एवं बिहानको शीतमा ब्याक्टेरिया जम्मा हुने र त्यसलाई कामदारहरूले थाहा नै नपाई सार्ने गरेको पाइयो । शीत सुकेपछि कामदारलाई काममा पठाउँदा समस्या समाधान भयो र यो सूचना सबै किसानमाझ पुर्याइयो ।
यस अध्ययन सोचेभन्दा छिटो नै सकियो । पैसा बच्यो । पछि सरकारी कोषमा अधिकारीहरूले पैसा फिर्ता गरे । हेरौँ त, इनोभेसन र संस्कारको यो किस्सा ।
हामीले के गर्ने त ?
सर्वप्रथम हामीले कृषि विज्ञान हो भन्ने बुझ्नैपर्छ । विज्ञानमा तथ्यको खोजी हुन्छ । अनुमान हैन, अनुसन्धान हुन्छ । यही अनुसन्धानमार्फत आएका तथ्यहरूबाट प्राविधिकले प्रविधिको विकास गर्दछ । उदाहरणका लागि, चिनियाँ सिट्रस फ्लाई सुन्तला जात फलफूल कुहाउने एक मुख्य समस्या हो । यसले सिन्धुली र रामेछाप जिल्लामा धेरै बोट मासेको छ । माटोमुनि अचल अवस्था बिताउने यी कीराहरू चैत र वैशाख महिनामा जमिनबाट निस्कन्छन् एवं जेठ, असार र साउनमा पोथी झिँगा फुल पार्न सक्रिय भई जुनारको फलभित्र फुल पार्दछ । फुल पार्नका लागि प्रोटिन आवश्यक पर्ने हुँदा वयस्क झिँगाहरू प्रोटिनको खोजीमा हुन्छन् । यो विज्ञान भयो । अब प्राविधिकले विषाक्त प्रोटिन पासोको सहयोगले यस्ता वयस्क झिँगाहरुलाई आकर्षण गरी मार्दछन् । यही प्रविधि अहिले सिन्धुलीमा सफलतापूर्वक प्रयोग भई रामेछाप र अन्य जिल्लाहरूमा पनि प्रसार हुँदै छ ।
डा वज्राचार्यले चेतनाको यात्रा : जीवनमा विज्ञान पुस्तकमार्फत बताएजस्तै राष्ट्रिय स्तरमा ऐन नै बनाएर स्वायत्त नवप्रवर्तन केन्द्र स्थापना गर्ने र यसलाई कृषि एवं यस सम्बद्ध सबै क्षेत्रहरूसँग समन्वय गर्ने संस्थाको रूपमा अगाडि बढाउने । महावीर पुनले थालनी गरेको आविष्कार केन्द्रलाई एक प्रकारले नवप्रवर्तन संस्थाको रूपमा विकास गर्न सकिन्छ । उनले भनेका छन्– आविष्कार केन्द्रले सिर्जनशील र नयाँ सोचलाई मात्रै चिन्दछ । पुनको यो भनाइ कोभिड– १९ महामारीका क्रममा गरेका धेरै इनोभेसनले पुष्टि गरे ।
हामीले कृषि प्रसार, कृषि अनुसन्धान र कृषि शिक्षालाई छुट्टै आँखाले हेरेका छौँ । इजरायलले सबैलाई सँगै लगेको छ । यसले गर्दा नै कृषिमा कमाल भएको हो ।
समस्यामा आधारित अनुसन्धान र त्यसअनुरूपको प्रसारले हाम्रो कृषिको मुहार उज्यालो बनाउन सक्छ । कृषिमन्त्री घनश्याम भुसाल पाँच सूधार सूत्र लिएर कृषिको विकासमा कम्मर कसेर लागेका छन् । कृषि ऐन बन्ने तरखरमा रहेको पनि सुनिएको छ । यसै बेला नार्कका पूर्वयोजना प्रमुखले सुझाएको कृषि अनुसन्धान सेवा ऐन र त्यसअन्तर्गतको कृषि अनुसन्धान विभागमा रुपान्तरणले धेरै कुरा समेट्न सक्छ ।
अहिले तीन तहको सरकारको गठनपछि कृषि समन्वयमा केही अन्योल भएकै हो । किसानका समस्या अनुसन्धानको माध्यमसम्म पुग्न कहाँ, कसरी अघि बढ्ने अन्योल छ । यसले गर्दा किसानका समस्या अनुसन्धानसम्म नपुग्ने र त्यसका तथ्य र प्रविधि पनि उनीहरूसम्म नपुगेको प्रतीत हुन्छ । यसलाई एक सहज पद्धतिमा सलल बग्ने बनाउनु अति आवश्यक छ ।
माथि उल्लिखित परम्परागत ज्ञान नयाँ आविष्कारका द्वार हुन सक्छन् । हाम्रा स्थानीय अन्वेषणहरूलाई वैज्ञानिक अनुसन्धानबाट नयाँ प्रविधिको विकासमा रुपान्तरण गर्न सकिन्छ । नेपालमा परम्परागत ज्ञानको अध्ययन, अनुसन्धान र प्रवर्द्धन गर्ने राष्ट्रिय निकाय नास्ट हो । उक्त संस्थासँगको समन्वयमा हाम्रा रैथाने कृषि ज्ञानको अध्ययन, अनुसन्धान र अभिलेखीकरणका साथै प्रवर्द्धन अघि बढाउनुपर्छ ।
ली क्वान युले सिंगापुरे जनतालाई विज्ञान र प्रविधिमा दक्ष बनाएर त्यहाँको विकास गरेको ०४७ ताका नै प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चाल पाइसकेका थिए । यतिबेला कृषिमा दक्ष जनशक्ति आवश्यक परेको छ । अहिले देशलाई उच्च दक्ष किसान, वैज्ञानिक, प्राविधिक र प्रसार कार्यकर्ताको खाँचो छ ।
चीनले वार्षिक रूपमा आफ्ना फार्म केन्द्रहरूमा लाखौँ उच्च दक्ष किसान र प्राविधिक उत्पादन गरी बृहत्तर उत्पादन कार्यक्रममा लगाएजस्तै हामीले पनि त्यसो गर्न सक्छौँ । यस्ता कृषक र प्राविधिकलाई नियमित पुनर्ताजगी पनि गराइन्छ । वैज्ञानिक र विज्ञ स्तरमा ससर्त आदानप्रदानका कार्यक्रमहरू प्रभावकारी हुन सक्छन् ।
नवप्रवर्तनको धारले मात्रै महाकविले चिनेका वाग्नरको कोदाली र शेक्सपियरको हलो तिखार्न सक्नेछ । टिसियन टर्नरका भेडा विश्वस्तरीय बन्नेछन् । सोक्रेटिजको गुफाको घोत्लाइले नयाँ दर्शन दिनेछ र कालिदासको १५ असारको गीत विश्वले सुन्नेछ । महाकवि पनि दंग हुनेछन् ।
कृषिकर्मबारे नेपालका विशेष रिपोर्ट तथा विश्लेषणहरू
- लकडाउनले जीविकोपार्जन खोसेपछि थातथलो फर्किनेहरूको अठोटः अब गाउँमै कृषि इलम
- खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
- बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
- कोरोना भयले गाउँ पसेकाहरूलाई कृषिमै अड्याउने रणनीति
- कृषिमन्त्रीलाई खुला पत्र
- मनसुनी क्यालेन्डर : कृषिका लागि किन छ शुभ संकेत ?
- लकडाउनमा गाउँ फिरेकाहरूलाई हिउँदे बाली स्याहार्ने चटारो
- कोरोना, बाली स्वास्थ्य र अनिकाल
- कोरोनाले ब्युँताएको कृषिको साख
- उपभोक्ताले खाद्यान्नमा १० प्रतिशत छुट कहिले पाउने ?
- संविधानमा कृषि र खाद्य सुरक्षा
- ५० करोडको कृषि अनुदानमा स्थानीय सरकारलाई ‘बाइपास’
- खाद्यान्नमा आत्मनिर्भरता गफमै सीमित
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...